शरद–रोशनी मृत्यु प्रकरण : दोषी नै चाहन्थे घटना मोड्न

दाङ तुलसीपुर उपमहानगरपालिका–१३ डाँडागाउँस्थित जनकल्याण सामुदायिक वनमा जंगली जनावरको सिकार गर्ने गरिन्थ्यो। गएको असोज २७ गते पनि जंगली जनावरको सिकार गर्न विद्युतीय धराप (पासा) थापियो। 

डाँडागाउँकै ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँकै ३८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय भिमबहादुर बुढा र २७ वर्षीय प्रकाश भनिने अमरराज कार्की मिलेर जंगली जनावरको सिकार गर्नका निम्ति विद्युतीय धराप थापेका थिए। 

२७ गतेराती हरिशचन्द्रको कुखुराको खोरबाट विद्युतीय तार तानेर करिब ७० मिटर भित्र जंगलमा विद्युतीय धराप थापिएको थियो। चार जना मिलेर थापिएको विद्युतीय धरापमा जंगली जनावर परेको होला भनेर २८ गते विहान उनीहरु हेर्न गए। 

२८ गते विहान साढे ५ बजे उनीहरुले सिकारका रुपमा जे देखे त्यो कल्पना भन्दा बाहिरको थियो। त्यसपछि उनीहरु आत्तिए। सिकारका रुपमा दुई जना मान्छे मरेका छन्, त्यहि पनि नचिनेको होइन गाउँकै। विद्युतीय धरापमा परेर डाँडा गाउँकै १५ वर्षीया रोशनी महतरा र दमार गाउँ बस्ने दंगीशरण गाउँपालिका–६ थपगाउँका–१४ वर्षीय शरद आचार्यको मृत्यु भएको देखेपछि विद्युतीय धराप थाप्ने चार जनाले घटना लुकाउने प्रयास गरे। 

२८ गते विहान उनीहरुले दुबै जनाको शवलाई विद्युतीय धराप थापेको नजिकै लुकाए। किनकी टाढा लाग्न उज्यालो भइसकेको थियो। त्यसपछि सोही दिन राती १० बजेतिर चार जना मिलेर शरद र रोशनीको शवलाई विद्युतीय धराप थापेको ठाउँदेखि केही टाढा जंगलको खोल्सामा लगेर उनीहरुले गाडे। जुन हत्या भएको जसरी देखाउन उनीहरुले खोजेका थिए। 

हत्या भएको जस्तो देखाउन उनीहरुले शरद र रोशनीको चप्पलसमेत टाढा–टाढा फालेका थिए। उक्त चप्पल नेपालगञ्जबाट ल्याइएको तालिम प्राप्त कुकुरले पत्ता लगाएको थियो। २८ गते विहान शरद–रोशनी घरमा नआएपछि उनीहरुको खोजि सुरु भएको थियो। २९ गते प्रहरीमा आफन्तले उनीहरु हराएको जानकारी पनि गराएका थिए। 

३० गते खोजि गर्दै जाँदा दिउँसो साढे १२ बजे दुबै जनाको शव एउटै खाडलमा गाडेको अवस्थामा फेला परेको थियो। त्यसपछि अनुसन्धान थालेको प्रहरीले सुरुमा हत्या भएको आशंका गरेको थियो। तर हत्या भएको जस्तो कुनै क्लु (तथ्य) नभेटाएपछि प्रहरीले १९ दिनको कात्तिक १८ गते विद्युतीय धराप थाप्ने चारजनालाई पक्राउ गर्न सफल भएको थियो। 

उनीहरुलाई १८ गते पक्राउ गरी आज (२० गते) पत्रकार सम्मेलन गरेर दोषि चार जनालाई सार्वजनिक गरेको छ। उनीहरुले घटनाको बारेमा स्वीकारेको र चार जनामाथि अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजन गौतमले बताए। 

रोशनीको त्यो हातको खत, जसले प्रहरीको अनुसन्धान मोडियो

प्रहरीले शव फेला परेदेखि दुबै जनाको हत्या भएको आशंका गरेको थियो। त्यहि आशंकामा प्रहरीको अनुसन्धान शरद–रोशनीको मोबाइल लोकेशन, फोन कल जाँच गर्नेदेखि उनीहरुको आफन्तसम्मको मोबाइल चेकसम्म पुग्यो। 

हत्यामा संंलग्न भएको आशंकामा शव फेला परेको दिन असोज ३० गते साँझ एक टिपर चालकलाई प्रहरीले लमहीबाट पक्राउ गर्यो। ती टिपर चालकसँग जोडिएका अन्य थप दुई जनालाई पनि प्रहरील पक्राउ गर्यो तर घटनाको वास्तविक्ता पत्ता लाग्न सकेन।

सोधपुछ कै क्रममा ७० जनासँग प्रत्यक्ष र चार ७८ जनालाई टेलिफोन गरेर निगरानीमा राखेको दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले पत्रकार सम्मेलनमा बताए। तर हत्या भएको कुनै क्लु (तथ्य) भेटाउन नसकेपछि प्रहरी थप दबाबमा परेको थियो। शव फेला परेको दुई हप्तासम्म कुनै तथ्य भेटाउन नसक्दा आफूहरुलाई दबाब सिर्जना भएको जिल्ला प्रहरी कार्यालय दाङका डिसपी राजन गौतमले बताए।

तर घटनालाई नयाँ कोणबाट अध्ययन गर्दा पोष्टमार्टम रिपोर्टको आधारमा नयाँ तथ्य फेला परेको गौतमको भनाई छ। रोशनीको हातमा देखिएको खत (चोट)ले नयाँ तथ्य फेला परेको उनले बताए। ‘रोशनीको हातमा देखिएको चोटलाई हामीले पहिले काँडेतारले काटेको हो भन्ने थियो तर पोष्टमार्टम रिपोर्टपछि जलेको भन्ने देखियो,’ गौतमले भने, ‘त्यसपछि अनुसन्धान गर्दै जाँदा विद्युतीय धरापमा परेर मृत्यु भएको भन्ने खुलेको हो।’

उनले यसअघि पनि जनकल्यान सामुदायिक वनमा विद्युतीय धराप थापेर जंगली जनावरको सिकार हुने गरेको बताए। विद्युत धराप थाप्ने चार जनाले घटनालाई मोड्नका लागि स्वयम उनीहरु नै आन्दोलनमा उत्रिएका थिए। ‘चार जनाले धेरै चलाखी गरे। शव बोकेको बोरासमेत जलाएछन्,’ गौतमले भने, ‘आफन्तिहरुले आन्दोलन गर्दा मुर्दावाद भन्दै ती चार जना पनि आएको पाइएको छ।’

प्रकाशित मिति: : 2022-11-06 21:30:00

प्रतिकृया दिनुहोस्