यी चार चर्चित अनुहार जसले जमानत जोगाउन सकेनन्

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ। यस पटकको परिणाम विगतका निर्वाचनभन्दा भिन्न रहेकाे राजनीतिक विश्लेषकहरूको तर्क छ।

यस पटककाे निर्वाचनले कतिपय नयाँ अनुहार र दललाई चिनाएकाे छ भने, कतिपय चर्चित अनुहारले हार व्यहोरेका छन्। केही चर्चित उम्मेदवारको त जमानत समेत जफत भएको छ।

जमानत जफत हुनेहरूमा पूर्वमन्त्रीदेखि पूर्वराज्यमन्त्रीसम्म छन्। नेपाल सरकारका मन्त्री भइसकेका जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले पनि जमानत जाेगाउन सकेनन्।

काठमाडौं–७ बाट उम्मेदवार रहेका श्रेष्ठले कूल सदर मतको ६.८ प्रतिशत मात्र मत प्राप्त गरेका छन्। सो निर्वाचन क्षेत्रमा कूल ३६ हजार ६१ मत सदर भएको थियो।

यस्तै, सोही क्षेत्रमा उम्मेदवार रहेका तथा यसअघि संघीय सरकारको राज्यमन्त्री भइसकेका रामवीर मानन्धरको समेत जमानत जफत भएको छ। उनले कूल सदर मतको ३.४ प्रतिशत मत प्राप्त गरेका छन्।

जमानत जफत हुनेमा यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य र  हाल काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रन्जु दर्शना छन्।

प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार दर्शनाले खसेको कुल सदर मतको जम्मा १.४ प्रतिशत मात्रै मत पाएकी छिन्। काठमाडौं ५ मा सदर मत ४४ हजार २४९ छ।

रन्जुले जम्मा ६ सय मत मात्र प्राप्त गरेपछि जमानत जफत भएको हो। ०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी दर्शनाले उक्त निर्वाचनमा २३ हजार चार सय  ३९ मत ल्याएकी थिइन्।

विवेकशील साझाकै पूर्व संयोजक मिलन पाण्डेको पनि जमानत जफत भएको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ९ बाट स्वतन्त्र उम्मेदवार रहेका पाण्डेले कूल २३ सय २७ मत प्राप्त गरेका छन्।

उक्त क्षेत्रको कूल सदर मत ४२ हजार पाँच सय १७ मतमा पाण्डेले २३ सय २७ मत प्राप्त गरेका छन्।

यो कूल सदर मतको ५.५ प्रतिशत मत मात्रै हो। पाण्डेले ०७४ सालको निर्वाचनमा भने चार हजार नाै सय ४६ मत प्राप्त गरेका थिए।

यद्यपि, यस पटक भने उनको जमानत समेत जफत भएको छ। सदर मतको १० प्रतिशत मत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ। 

प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: : 2022-11-24 16:59:00

प्रतिकृया दिनुहोस्