प्रदेश १ मा राप्रपा-जसपाको साथमा एमालेले सरकार बनाउने सम्भावना

BreaknLinks
BreaknLinks

५६ वटा प्रत्यक्ष प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा एमाले-राप्रपा-जसपाको गठबन्धनले २७ सिट जितेको छ। यता सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा २९ सिट जितेको छ। तर, समानुपातिकमा एमाले-राप्रपा-जसपा गठबन्धनको सिट संख्या बढी भएकाले प्रदेशमा एमालेको सरकार बन्ने सम्भावना बढेको छ।

प्रदेशमा ५६ प्रत्यक्ष र ३७ समानुपातिक गरी ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ जना चाहिन्छ। एमालेलाई राप्रपा-जसपाले साथ दिँदा प्रदेशमा एमालेले बहुमत पाउने देखिन्छ।

यस आधारमा ३७ समानुपातिक सांसदमध्ये एमाले १४, काँग्रेसले १२, राप्रपाले ४, माओवादी केन्द्रले ४, जनता समाजवादीले २ र एकीकृत समाजवादीले एउटा प्रदेश सांसद प्राप्त गर्ने अवस्था देखिन्छ। त्यही आधारमा अन्तिम परिणाम आए एमाले, राप्रपा र जसपाको गठबन्धनलाई समानुपातिक सिट २० वटा हुन्छ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले थ्रेसहोल्ड कटाउन नसक्ने भएपछि सत्ता गठबन्धनलाई पछि पार्दै एमाले गठबन्धनले सामान्य बहुमत प्राप्त गर्ने देखिएको हो। ९३ सदस्यीय प्रदेशसभामा एमाले गठबन्धनले ४७ र सत्ता गठबन्धनलाई ४६ प्रदेश सांसद प्राप्त हुने सम्भावना छ।

यता सत्ता गठबन्धनको २९ प्रत्यक्ष र समानुपातिकमा काँग्रेस, माओवादी र नेकपा एसको गरेर १७ सिट थप गर्दै ४६ सिट पुर्याउँछ।

प्रत्यक्ष र समानुपातिक गरी एमाले गठबन्धनले ४७ र कांग्रेस गठबन्धनले ४६ प्रदेश सांसद पाउने भएको छ। यही बलमा एमालेले प्रदेशमा सरकार बनाउने सम्भावना छ।

मुख्यमन्त्रीका दाबेदार कार्की

प्रदेशमा एमालेको सरकार बन्ने अवस्था आए मुख्यमन्त्रीका लागि हिक्मतकुमार कार्की प्रमुख दाबेदार छन्। उनी दोस्रो कार्यकालका लागि झापा ५(१) बाट निर्वाचित भइसकेका छन्।

एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले संसदीय दलको नेता र सरकारको नेतृत्वका लागि पार्टीले आफूलाई अघि सार्ने बताए। उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता हुन्। उनले आफूलाई एमालेले सर्वसम्मत संसदीय दलको नेता छान्ने पनि दाबी गरे।

प्रदेशमा कहाँ को विजयी ?

प्रदेशमा प्रत्यक्षमा २५ सिट जित्दै एमाले पहिलो पार्टी बनेको छ। प्रत्यक्षमा नेकपा एमालेबाट पाँचकर्ण राई - खोटाङ १(१), जयप्रकाश चौधरी -मोरङ ४ (१), उमाकान्त गौतम - मोरङ १ (१), लिलाबल्लभ अधिकारी - मोरङ २(२), तिलकुमार मेन्याङ्बो - ताप्लेजुङ १(१), रामबहादुर राना - इलाम २(२), विदुरकुमार लिङ्थेप - संखुवासभा १(२), तिलचन पाठक - झापा २(२), छविलाल चुँडाल - झापा ३ (२), राधाकृष्ण खनाल - झापा ४(१), हिक्मतकुमार कार्की-झापा ५(१) होमबहादुर थापा - झापा ५(२), एकराज कार्की - झापा २(१), निरन राई - धनकुटा १(१), इन्द्रमणि पराजुली - धनकुटा १(२), निरन राई - धनकुटा १(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

यस्तै रेवती रमण भण्डारी-सुनसरी २(१), बुद्धिकुमार राजभण्डारी-सोलुखुम्बु किशोर चन्द्र दुलाल-तेह्रथुम १(१), ज्ञानेन्द्र सुवेदी-मोरङ ३(२), रमेशकुमार बस्नेत-सुनसरी १(१), रोहितबहादुर कार्की-सुनसरी ३(१), खड्गबहादुर बस्नेत-मोरङ १(२), विजयकुमार राई-सुनसरी १(२), रामप्रसाद महतो -सुनसरी २(२) र २५० रामदेव यादव-सुनसरी ३ (२) बाट निर्वाचित भएका छन्।

नेपाली काँग्रेसबाट भुपेन्द्र राई-खोटाङ १(२), प्रदिपकुमार सुनुवार-ओखलढुंगा १(१), गोपाल तामाङ-झापा १(१), रामकुमार खत्री-उदयपुर २(२), मानबहादुर लिम्बू-मोरङ ३(१),  गयानन्द मण्डल-मोरङ ५(१), खगेन सिंह हाङ्गाम-ताप्लेजुङ १(२), भूमि प्रसाद राजवंशी-झापा ३(१), सन्तोष सुब्बा-तेह्रथुम १(१), विनोद राई-भोजपुर १(२), भीम पराजुली-मोरङ ४(२), अमृत अर्याल-मोरङ ५(२), सदानन्द मण्डल-सुनसरी ४(१), इसाइल मन्सुरी-सुनसरी ४(२), गोविन्द गिरी-इलाम २(१), शमशेर राई-इलाम १(२), हिमाल कार्की-उदयपुर १(२) मा निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रले ९ वटा सिट जितेको छ। उसले इन्द्रबहादुर आङ्बो -पाँचथर १(२), बाबुराम गौतम-ओखलढुंगा १(२), नारायण बहादुर मगर-उदयपुर २(१), राजेन्द्र कार्की-संखुवासभा १(१), दुर्गाप्रसाद चापागाईं-तेह्रथुम १(२), गणेशप्रसाद उप्रेती-मोरङ २(१), गोम्बु शेर्पा-सोलुखुम्बु १(१), जीवन आचार्य-मोरङ ६(१) र राजन किराँती-उदयपुर १(१)  बाट विजयी भएका छन्।

नेकपा एकीकृत समाजवादीबाट राजेन्द्रकुमार राई-भोजपुर १(१), कमल प्रसाद जबेगु-पाँचथर १(१), खिनु लङ्वा लिम्बू-इलाम १(१)  बाट विजयी भएका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा १(२) मा सविना बजगाईं र झापा ४(२) मा भक्ति प्रसाद सिटौला विजयी भएका छन्।

प्रकाशित मिति: : 2022-12-01 14:04:00

प्रतिकृया दिनुहोस्