बहुमत नपुगेपछि साना दल र स्वतन्त्र सांसद फकाउँदै सत्ता गठबन्धन

File Photo
File Photo

सत्तागठबन्धनले नयाँ सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको छ। यसपटकको निर्वाचनमा तीनवटा दल उदाएका छन्। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सांसद जित्दै समानुपातिकमा कम्तीमा १४ सिट ल्याउने देखिएको छ। रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले तीन सांसद र एक स्वतन्त्र गरी चार सिट जितेको छ। तर ३ प्रतिशत थ्रेसहोल्ड कटाउन भने मुस्किल परेको छ। सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षमा एक सांसद र समानुपातिकमा चार गरी पाँच सांसद हात पार्दैछ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले सरकार गठनका लागि एक सय ३८ सिट ल्याउन सकेका छैनन्। पाँचवटै पार्टीको प्रत्यक्ष र समानुपातिक गरी एक सय ३६ सिट जित्ने अनुमान गरिएको छ। सरकार बनाउन एक सय ३८ सिट चाहिने भएकाले सुविधाजनक बहुमतका लागि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको हो।

सोही कारण नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदतिर नजर लगाएका छन्।

उनीहरूलाई गठबन्धनमा तान्ने लक्ष्यसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरिसकेका छन्। प्रचण्डले सोमबार तथा नेपाल र भट्टराईले मंगलबार भेटेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग बिहीबार भेटवार्ता गरेका छन्। जनमतले सरकारमा सामेल हुन इच्छा देखाएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

दुई सिट रहेको प्रभु साह समूह र कांग्रेसविरुद्ध बागी उम्मेदवार दिएर चुनाव जितेका अमरेशकुमार सिंहसँग पनि गठबन्धनका नेता सम्पर्कमा छन्। तर, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग भने सत्ता गठबन्धनले औपचारिक सहकार्यका लागि अहिलेसम्म प्रस्ताव गरेको छैन।

मतगणना जारी रहेको र गन्न बाँकी तीनै सिट गठबन्धनका उम्मेदवारले जितेमा सरकार बनाउन दुई सांसद मात्र आवश्यक पर्ने र त्यो प्रभु साह वा जनमत पार्टीबाट पूर्ति हुने भएकाले जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल नभएको कांग्रेस र माओवादी नेताहरूको भनाइ छ।

प्रकाशित मिति: : 2022-12-02 13:17:00

प्रतिकृया दिनुहोस्