प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्दै

File Photo
File Photo

प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी ४० जित्दै पहिलो पार्टी बनेको नेकपा एमालेले प्रदेश १ मा आफ्नै नेतृत्वमा सरकार बनाउने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा एमालेले सरकार बनाउने भएको हो।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कुल ४७ जना आवश्यक पर्छ। प्रदेशसभामा राप्रपाको ६ र जसपाको एक सिट छ। जसले गर्दा एमालेलाई सरकार बनाउन बहुमत पुग्छ।

गत आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको अभिव्यक्ति दिएका थिए। त्यसलाई सञ्चारमाध्यमहरुले अनावश्यक र अतिरञ्जित ढंगले प्रचार गरेको उनले बताए। उनले भने, ‘एमालेसँगको चुनावी सहकार्यको एउटा अध्याय मात्र सकिएको हो, एमालेसँग सबै तालमेलका सम्भावना सकिएको भनेको छैन।’

यादवको उत्त अभिव्यक्ति सञ्चारमाध्यमहरुमा आएसँगै एमाले प्रदेश १ का नेताहरु यादवलाई भेट्न उनकै निवासमा पुगेका थिए। भेटमा यादवले आफू सत्ता गठबन्धनको विपक्षमा रहेको बताएको एमालेका एक नेताले बताए। ती नेताका अनुसार गठबन्धनले देशको हित नगर्ने र एमाले–जसपा सरकारमा जाने अवस्थामा समिकरण गरेर जानु पर्दछ भन्ने भनाइ यादवको छ।

यादवले शनिबार करिब दुई घण्टा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए। जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले पनि प्रदेश १ मा एमालेसँगकै तालमेलमा सरकार गठन हुने संकेत गरेका छन्।

यस्तै जसपाका प्रवक्ता मनिष कुमार सुमनले अध्यक्ष यादवको भनाइ एमालेसँग सबै तालमेलका सम्भावना सकिएको भन्ने नभएको बताए।

उनले यादवको भनाइलाई तोडमोड गरी एमाले र जसपालाई कमजोर पार्ने खालका समाचार आएकोमा दुख व्यक्त गरे। सुमनले भने, ‘एमालेसँग सबै तालमेलका सम्भावना सकिएको भनेर अध्यक्षज्यूले भने जसरी समाचार आयो उहाँको आशय त्यो थिएन, केही राष्ट्रिय मुद्धामा शर्त सहित हामी एमालेलाई नै साथ दिने पक्षमा छौं।’ उनले प्रदेश १ मा सरकार गठनका लागि जसपाले एमालेलाई नै साथ दिएर अघि बढ्ने बताए।

नेकपा एमालेका नेता तथा मुख्यमन्त्रीका दाबेदार हिक्मत कार्कीले प्रदेशको सरकार निर्माणका विषयमा यादवसँग भेटघाट गरेका छन्। चुनाव अघिको सहमती कायम गरेर जाने पक्षमा यादव रहेको कार्कीले बताए।

यस्तै राप्रपाले पनि सरकार गठनमा एमालेलाई साथ दिने भएको छ। स्रोतका अनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले एमालेसँगको सहकार्यमा सरकार बनाउन आफू चुनावअघि नै तयार भएको बताएका छन्। उनले एमालेलाई ढुक्क भएर सरकार गठनको प्रक्रियामा लाग्न बताएका छन्।

एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कार्कीले प्रदेशमा एमालेसँग चुनावी तालमेल गरेका पाटीकै सहयोगमा सरकार गठन हुने बताए।

प्रकाशित मिति: : 2022-12-07 11:06:00

प्रतिकृया दिनुहोस्