हर्क जी, कम बोल्ने कि ?

BreaknLinks
BreaknLinks

गत स्थानीय तहको निर्वाचनमा पूर्वको धरान, देशको राजधानी सहर काठमाडौँ र पश्चिम धनगढीमा तीन जना स्वतन्त्र अनुहारले चुनाव जिते। उनीहरुको उदयले देशभर दलको विकल्पकाे रूपमा हेरिएको थियो। दोस्रो प्रयासमा सानदार मतसहित धरान उपमहानगरपालिकामा विजयी भएका हर्कराज राई (हर्क साम्पाङ) ले करिब १० वर्ष धरानमै रहेर सामाजिक काम गरेका थिए।

कुनै बेला सबैको वाहीवाही कमाएका उनै हर्क साम्पाङ पछिल्लो समय असाध्यै विवादमा पर्ने व्यक्तिमध्ये एक हुन्। उनले बोल्ने र सञ्जालमा लेख्ने अभिव्यक्ति निरन्तर विवादमा छन्। फेरि अर्को कुरा त के छ भने उनी आफूले दिएको अभिव्यक्ति गलत भए पनि माफी माग्न चाहँदैनन्। उनी जब्बर छन्।

कहिले नेतालाई गाली गरेर त कहिले कार्यपालिका सदस्यको राजीनामा मागेर मिडियामा आइरहने साम्पाङ यस पटक भने गम्भीर विषयमा बोलेका कारण फेरि विवादको चर्चामा छन्। उनले केही दिनअघि फेसबुकमा लेखेको ‘चमारे’ शब्द विवादीत छ। उनको उक्त अभिव्यक्तिका विषयमा दलित आयोगले पत्र नै लेखेर गृह मन्त्रालयलाई कारबाहीको सिफारिस गरेको छ।

उनले गत मंसिर २७ गते राति ८ः५५ बजे चमार जातिको अपमान हुने गरी एउटा स्टाटस लेखेका थिए। स्टाटस थियो, ‘जोडी खोज्नेहरूको बास उठ्न सक्छ। बल होइन बुद्धि लगा चमारे बुद्धि !’

आयोगको पत्रमा पनि नरोकिएका साम्पाङ उल्टै उनले आफूलाई नभएको आरोप लगाएको र जातीय सद्भाव भड्काएको भन्दै दलित आयोगलाई नै कारबाहीको माग गरे। साम्पाङले त दलित आयोगलाई ‘झ्यासझुसे’ आयोग नै भन्न भ्याए।

चमारे शब्दप्रति आपत्ति मान्नुपर्ने कारण नभएको बताउँदै उनले लेखेका थिए, ‘गुइँठे, काइँला, जन्तरेउ आदि भने जस्तै हो चमारे भन्ने शब्द ! त्यसमा आपत्ति मान्नु पर्ने केही छैन ! आखिर चमारे भन्ने शब्दले कुनै जात समुदायलाई इङ्कित गरेको होइन ! फूल बनेर हेरौँ ! काँडा बनेर होइन !’

‘चमारे भन्ने कुनै थर छ र ? चमार भन्ने पो छ त होइन र ? नहुने कुरा नगरौँ है साथी हो !’ उनले बारम्बार लेखिरहे।

दलित आयोगले कारबाहीको माग गरेपछि उनले लेखे, ‘कुनै झ्यास झुस आयोग सायोगले मलाई जिताएको होइन ! सार्वभौम धराने जनताको म्यान्डेट पाएर आएको नगरप्रमुख हुँ ! उसको कारवाहीको माग त उस्स्स !’

उनी लेख्ने र बोल्ने बेला केही ख्याल गर्दैनन् र विवादमा परिरहन्छन्। फेसबुकमा ‘चोर, फटाहा, गधा, गोवार लाटो, गुँइठे’ जस्ता शब्द लेख्नु त उनको लागि सामान्य विषय जस्तै बनिसक्यो।

तर, माफी माग्न नरुचाउने जब्बर स्वभावका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ चौतर्फी विवादमा परेपछि दलित समुदायसँग माफी माग्न बाध्य भए। उनले आइतबार उपमहानगरको प्रमुखको हैसियतमा विज्ञप्ति नै जारी गरे।

‘मेरो फेसबुक पेजमा मैले पोस्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ। त्यसका लागि क्षमाप्रार्थी छु’, उनले विज्ञप्तिमा लेखेका छन्।

उनी त्यतिमा मात्रै कहाँ रोकिन्थे र। नेता कार्यकर्तालाई थरीथरीका गालीगलौज पनि गर्न भ्याइरहेका छन्। ‘गुइँठे हो...झोला होइन ढुङ्गा बोक। झोला बोक्दा दास बन्छौ। बरु ढुङ्गा बोक देश बन्छ के देश’, यस्ता शब्दहरु उनी बारम्बार प्रयोग गरिरहन्छन्।

‘मलाई धराने जनताले जिताएर पठाएको हो, मलाई कस्ले छुन सक्छ? म त धरानको मेयर पो त’ भनेर दम्भ नपाल्नुस्, धरानका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई पनि जनताले नै जिताएर पठाएका हुन्। उनीहरुले पनि तपाईंले जस्तै जनताको मत पाएर निर्वाचित भएका हुन् भन्ने कुराको हेक्का राख्नुस्। सबैको सम्मान गर्ने गर्नुहोस्। उनीहरुसँग सद्भाव कायम गरेर काम गर्नुहोस्।

समाज र देश परिवर्तन गर्छु भनेर हिँडेको साम्पाङले पहिला आफैँलाई परिवर्तन गर्न आवश्यक छ। अभिव्यक्तिहरु परिवर्तन गर्न जरुरी छ। राजनीतिमा छिरेर ‘मलाई राजनीति गर्न आउँदैन, मलाई बोल्न आउँदैन, म त मतवालीको छोरा, सिधा बोल्छु’ भन्दैमा जथाभावी बोल्दै हिँडेर देश र समाज परिवर्तन हुँदैन है हर्क जी। त्यसैले हर्क जी, कम बोल्ने कि?

प्रकाशित मिति: : 2022-12-20 21:45:00

प्रतिकृया दिनुहोस्