
न्यायका निरीह सात वर्ष
मन्दिरा अधिकारी
वि.सं.२०७८ वैशाख १७ गते २५ वर्षीया सुस्मा थिङ (परिवर्तित नाम) काठमाडौँको बबरमहलस्थित नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरो पुगिन्।
२२ वर्षको उमेरमा आकर्षक रोजगारीको प्रलोभनमा परेर भारत पुगेकी उनी तीन वर्षपछि अनेकौँ रोग, मानसिक यातना, शरीरभरि निलडाम र दुःखै दःखको गरुङ्गो भारी बोकेर नयाँ दिल्लीको कोठीबाट भागेर नेपाल फर्किइन्।
चरम गरिबीका कारण सानैदेखि काठमाडौँमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी उनले १५ वर्षको कलिलो उमेरमा नै प्रेम विवाह गरेकी थिइन्। विवाह गरेको केही वर्षपछि उनी घरेलु हिंसाको सिकारमा पर्न थालिन्। श्रीमानको रात/दिनको टाेकसाेबाट मुक्त हुन र छोरीलाई राम्रो शिक्षा/दीक्षा दिन रोजगारीका लागि भारत जान बाध्य भएकी थिइन्।
उनलाई मामा पर्ने रामबहादुर तामाङले भारतमा साडीमा बुट्टा भर्ने काम मिलाइदिने र त्यस बापत मासिक १० हजार तलब दिने आश देखाएर भारतको नयाँ दिल्लीस्थित कोठीमा पुर्याएका थिए।
०७७ तिर सिराहाका राहिम अलि खान (नाम परिवर्तित) कामको खोजीमा थिए। कामको खोजी गर्दै जाँदा उनको भेट एउटा गिरोहसँग भयो, जसले विदेशको पानीजहाजमा काम लगाइदिने भन्दै आफ्नो पक्षमा लियो।
पहिला युरोपियन देशमा जाने र त्यहाँबाट अमेरिका जान पाउने आशमा राहिम गिरोहले भनेअनुसार सिधा–सिधा सबै काम गर्दै गए। सुरुमा उक्त गिरोहले उनलाई नेपालबाट भारत हुँदै टर्की पुर्यो। टर्की पुगेपछि भने गिरोहले उनलाई एक्लै छाडेर भाग्यो। राहिम बिरानो देशमा अलपत्र परे। त्यहाँ धेरै दुख पाएर राजदूतको शरणमा परेर नेपाल फर्किए।
यसैगरी सोही वर्ष नै नेपालबाट इन्डोनेसियाको राजधानी जर्काता र बालीमा पुगेर बन्धक बनेका चार नेपालीलाई प्रहरीले उद्दार गर्यो। उनीहरुलाई दलालको गिरोहले अस्ट्रेलिया लैजाने भन्दै सोही ठाउँमा लगेर १० महिनासम्म बन्धक बनाएको थियो।
काभ्रेपलाञ्चोककी अनु गौतम (नाम परिवर्तन)लाई फेसन डिजाइनर बन्ने ठुलो सपना थियो। उनी फेसन डिजाइनिङ पढ्नको लागि आफ्नो आर्थिक हैसियत अनुसारको कलेज खोज्दै थिइन्।
कलेजहरु बुझ्दै जाने क्रममा उनको भोट सिन्धुपाल्चोकका राजु विकसँग भयो। उनी धेरै कलेजहरु बुझिसक्दा पनि आफ्नो बजेट अनुसार फेसन डिजाइनिङ पढाउने कलेज नभेटाएर चिन्तित थिइन्। एकदिन उनले आफ्नो सो समस्या राजुलाई सुनाइनन्।
राजुले अनुलाई भारतमा नेपाली एक लाखमै फेसन डिजाइनिङको कोर्स पढ्न पाइने बताउँदै उतै गएर पढ्न सुझाव दिए। र, उनी आफैले भारत पुगेरै कलेज भर्ना गराइदिने वचन दिए।
नेपालमा पाउनसम्म दुख पाएकी अनुलाई पनि तिर्खा लागेको बेला खोली भेटिएको जस्तो भयो। हाँसी खुसी राजुले जे–जे भन्दै गए त्यही त्यही गरिन्। उनले राजुकै भरोसामा वि.सं. ०७३ वैशाखमा घर छाडिन्।
फेसन डिजाइको कोर्स पढ्ने रहरसहित भारत पुगेकी उनलाई राजुले नयाँ दिल्लीको कोठीमा पुर्याए। त्यसपछि मात्रै उनले आफू बेचिएको पत्तो पाइन्। अनेकौँ संघर्षका बाबजुद उनी ०७६ भागेर नेपाली फर्किइन्।
माथिका घटनाहरु जस्तै पछिल्लो समय नेपालमा मानव बेचबिखनका घटनाहरु दिन प्रतिदिन बढ्दो अवस्थामा छन्। गरिबी, अशिक्षा, अज्ञानतामा रुमलिएका नेपालीहरु गिरोहका विभिन्न प्रलोभनमा परेर बेचबिखनमा पर्ने गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा मानव बेचबिखनको अवस्था भयावह बन्दै गइरहेको छ।
विभिन्न अध्ययन अनुसन्धानले नेपालमा तयार पारेको प्रतिवेदन हेर्ने हो भने वार्षिक १५ हजार महिला, बालबालिका तथा पुरुषहरुको बेचबिखन हुने गरेको छ।
यसले के देखाउँछ भने नेपालमा मानव बेचबिखन विरुद्धको अभियानको तीन दशक बितिसक्दा पनि नेपालमा मानव बेचबिखनका घटनाहरुमा कमी आउन सकेको छैन।
पछिल्लो समय मानव बेचबिखनका घटनाहरुको स्वरुप, प्रवृत्ति र शौलीमा व्यापक रुपान्तर आएको आयोगको अध्ययानमा उल्लेख छ। वैदेशिक रोजगारी, शौक्षिक परामर्श, अन्तरदेशीय विवाह, पर्यटन तथा सांस्कृतिक कार्यक्रम, धर्मपुत्र वा धर्मपुत्री लगायतका विभिन्न नाममा बेचबिखनको घटना बढ्दै गएको आयोगको ठहर छ।
मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण र सजाय गर्ने ऐन (२०६४) का अनुसार नेपालमा विद्यामान वैदेशिक रोजगारीका नाममा मानव बेचबेखिन तथा ओसारपसारका घटनाले विकाराल रुप लिँदै गएको र वैदेशिक रोजगारी ऐनमा मानव बेचबिखनको प्रावधानलाई उल्लेख नगरिएका कारण धेरै मानव बेचबिखनका घटना कानुनी दायराको अभिलेखीकरण बाहिर रहेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ।
विकराल भन्दै मानव बेचबिखन
नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म १ सय १८ वटा मानव बेचबिखनका उजुरी दर्ता भएका छन्। जहाँ लुम्बिनी प्रदेशमा मात्रै ३० वटा मानव बेचबिखनका घटनामा उजुरी परेका छन्। काठमाडौँ उपत्यकामा १, कोशी प्रदेशमा ११, मधेस प्रदेशमा १८, बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा ३, कर्णालीमा २ र सुदूरपश्चिममा ११ उजुरी दर्ता भएका छन्।
मानव बेचबिखनविरुद्व उजुरीका विगत पाँच वर्षको तथ्यांकलाई हेर्ने हो भने १ हजारभन्दा माथि रहेका छन्। यी मध्ये सबैभन्दा धेरै ६ सयलाई विभिन्न प्रलोभन देखाएर बेचबिखन हुने गरेको अध्ययनले देखाएको छ।
यसैगरी मानव बेचबिखन गरी जबरजस्ती करणीका २३ वटा उजुरी दर्ता भएका छन्। जहाँ कोशी तथा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ७ जना रहेका छन्। मधेस प्रदेशमा ३ जना र सुदूरपश्चिममा ६ जना रहेका छन्।
प्रहरीसम्मै पुग्दैनन् मानव बेचबिखनका उजुरी
आयोगले मानव बेचबिखन सम्बन्धमा तयार पारेको तथ्यांक हेर्न हो भने ७७ जिल्लामध्ये ५३ जिल्लामा मात्र उजुरी दर्ता भएका देखिन्छन्। तर, जुन जिल्लामा उजुरी दर्ता भएका छन्, ती व्यक्तिहरु हराएको भनी उजुरी दर्ता भएका छन्। यसरी तथ्यांक हेर्दा मानव बेचबिखनमा परेका व्यक्ति प्रहरीसमक्ष पुग्ने गरेकौ छैनन्।
के भन्छ प्रहरी ?
नेपालीहरु रोजगारीका विभिन्न प्रलोभन परेर मानव बेचबिखन गर्ने गिरोहको मुखमा पर्ने गरेको प्रहरीको दाबी छ।
नेपाल प्रहरीको मानव बेचबिखन व्यूरोमा कार्यरत एसपी जीवन श्रेष्ठ नेपालबाट विभिन्न देशहरुमा काम लगाइदिने नाममा बढी बेचबिखन हुने गरेको बताउँछन्।
‘यहाँबाट युवालाई धेरै पैसा कमाइ हुने ठाउँमा काम लगाइदिने लगायत विभिन्न प्रलोभन देखाइ मलेसियालगायत खाडी मुलुक, इराक, लिबिया, अफ्रिका, अमेरिका, अस्ट्रेलिया, जपान, सिरिया, ओमन, तजकिस्तान तथा युरोपियन देशहरुसम्म पुर्याउने र अलपत्र पार्ने गरेको पाइएको छ,’ उनले भने।
मानव बेचबिखन गरी यौनधन्दामा लगाउनेको संख्या पहिलोको तुलनामा कमी हुँदै आएको उनी बताउँछन्। ‘हाल युवतीहरु बेचबिखन गरी यौन व्यवसायमा लगाउने प्रवृत्तिमा भने कमी आएको छ,’ उनले भने।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया