खस्कँदाे शैक्षिक स्थितिका दृश्यहरु

BreaknLinks
BreaknLinks

शिक्षामा भइरहेको व्यापार
निजी स्कुल र अंग्रेजी माध्यमले बजार लिँदै गएपछि सामुदायिक विद्यालयलाई विद्यार्थी टिकाइरहन मुस्किल परेकाे छ। सामुदायिक विद्यालयकाे स्तर र नियमितताबारे अभिभावक प्रश्न गर्न थालेका छन्। त्यसैले अभावकाे बीचमा ज्याला, मजदुरी गरेरै भए पनि आफ्ना बालबालिकालाई निजी स्कुल पढाउन बाध्य छन्।

निजी स्कुल निकै टाढा भएका र धेरै विपन्न अभिभावकका बालबालिका भने सामुदायिक विद्यालयमै छन्। राज्यले शिक्षालाई व्यापारकाे माध्यम बनाइदिँदा निजी शैक्षिक संस्थाहरुले शिक्षामा खुलेआमा व्यापार हुन थालेकाे तातोपानी गाउँपालिका -४ गिडिखाेलाका भरत नेपालीले बताए।

'शिक्षालाई व्यापारकाे वस्तु बनाइयाे। यसले अभिभावककाे मानसिकतामा नराम्ररी प्रभाव पारेकाे छ,' उनले भने, 'परिणाम सरकारी शैक्षिक संस्थाहरु सुक्दै गएका छन्। राज्यकाे लगानी डुब्दैछ।'

अनुगनमा देखिएकाे बेमेल

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जान थालेपछि तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्ने तयारी गरेको छ। शैक्षिक गुणस्तर वृद्धि गरी विद्यालयमा हुने अनियमितता रोक्न गाउँपालिकाले दरबन्दी मिलानका लागि विद्यार्थीका टाउका गनेको हाे।

जुम्लामा फागुनदेखि मंसिरसम्मकाे वार्षिक शैक्षिक क्यालेन्डर तयार पारिएको हुन्छ। मंसिरको अन्तिम साता सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको अवस्थामा टाउका गनि विद्यार्थी यकिन गरिएको छ।

विद्यालयहरुले नक्कली विद्यार्थी देखाएर खाजा रकम र छात्रवृत्ति अनियमितता गरेको गुनासो बढेकाले पनि गाउँपालिकाले प्रत्येक विद्यालयमै पुगेर परीक्षाकाे बेला विद्यार्थीका टाउका गनेको पालिकाले जनाएकाे छ।

अनुगमनकाे क्रममा पाँच नम्बर वडाकाे श्रीनगर आधारभूत विद्यालयमा कक्षा ४ मा आठजना छात्रा मात्रै अध्ययनरत पाइए। छ नम्बर वडाकाे रावतवडास्थित वसन्त आधारभूत विद्यालयको कक्षा १ मा आठजना भर्ना भएको हाजिरी रजिस्टरमा देखिन्छ। तर, वार्षिक परीक्षामा भने पाँचजना मात्रै उपस्थित देखिए।

इसिडी कक्षामा १९ जना भर्ना भएका देखिए पनि परीक्षामा भने १० जना मात्रै उपस्थित रहेका प्रधानाध्यापक हरिप्रसाद चौगालाईंले बताए। उनले भने, 'यो टोलमा ३६ घरधुरी छन्। दरबन्दी शिक्षक एकजना, इसिडी शिक्षक एकजना र निजी शिक्षक एकजना गरी तीन शिक्षक र एक सहयोगी छन्।'

गाउँपालिकाको वडा नम्बर ४ नियापानीस्थित कक्षा ५ सम्म अध्ययन हुने विद्यालयमा पनि विद्यार्थीको उपस्थिति निकै कम देखियो। एक सय ३५ घरधुरी रहेको नियापानीको विद्यालयमा कुल ५० विद्यार्थीको समेत उपस्थिति देखिएन। तातोपानीको १, २, ३, ४, ५ र ६ नम्बर वडामा रहेका आधारभूत विद्यालयमा विद्यार्थीको संख्या ज्यादै न्यून छ। एउटा कक्षामा औषत चार–पाँचजना विद्यार्थीको मात्रै उपस्थिति देखिन्छ।

तातोपानी गाउँपालिकामा वार्षिक परीक्षा चलिरहेको वेला अहिले विभिन्न समूह बनाएर विद्यार्थी गणना भइरहेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए।

'गाउँपालिकाले तयार गरेको टिमले विद्यालयमै पुगेर परीक्षामा सामेल विद्यार्थी र हाजिरी रजिस्टरमा उल्लेखित विद्यार्थी संख्या गणना गरेको छ,' उनले भने, 'परीक्षाको बेला भएकाले विद्यार्थी अपवादबाहेक अनुपस्थित हुँदैनन्। कति विद्यार्थी नक्कली हुन् भन्ने पत्ता लगाउन सजिलो हुन्छ।'

गाउँपालिकाका आठ वडामा गरि जम्मा २८ वटा सामुदायिक विद्यालय छन्। हप्ता दिनभन्दा बढीको समय खर्चेर सबै विद्यालयको अनुगमन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरत शाहीले बताए।

विद्यार्थी गणनाका अलावा विद्यालयको समस्या पहिचानसमेत गरिएको उनको भनाइ छ। 'विद्यालयको अवस्था, खानेपानी, शौचालय, फर्निचरको उपलब्धता र शिक्षक शिक्षिकाको संख्याका विषयमा पनि अनुगमन भयाे। विशुद्ध सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मजबुत बनाउन र विद्यालयमा हुने अनियमितता रोक्न यो अभियान सार्थक हुने विश्वास गरिएको छ,' उनले भने।

सबै विद्यालय अनुगमन गरिसकेकाले प्रतिवेदन सार्वजनिक गर्न मात्रै बाँकी रहेकाे शिक्षा शाखा प्रमुख शाहीले बताए।

कुनै विद्यालयमा शौचालय र खानेपानी समेत उपलब्ध नभएकाे प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले भने, 'कम विद्यार्थी र शिक्षक धेरै भएका विद्यालय पनि भेटिएका छन्। अब दरबन्दी मिलान गर्ने विषयमा पनि छलफल हुन्छ।'

वडाअध्यले कुटे प्रधानाध्यापक

तातोपानी गाउँपालिकाका जनप्रतिनिधिले दरबन्दी मिलानका लागि विद्यालय अनुगमन गर्दै गर्दा तिला गाउँपालिकाका एक जना जनप्रतिनिधिले भने विद्यालयका प्रधानाध्यापकलाई नै कुटेका छन्। तिला गाउँपालिका -८ पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका अध्यक्ष आँसे बस्नेतले कुटपिट गरेका हुन।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्ष आँसेसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले जानकारी दिए।

'वि.व्य.स.अध्यक्ष छान्नका लागि सातौं पटक बैठक बस्दा पनि सहमति हुन सकेन,' प्रधानाध्यापक बस्नेतले भने, 'उनीहरुले चुनाव गर्नैपर्छ भनेपछि शुक्रबार चुनावको तयारी थियो। तर वडाध्यक्षले मदिरापान गरेर ममाथि हातपात गरे र उनका दुई छोरा अझ बढी कुटपिट गरेका कारण घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएको छु।'

दायाँ छाती, टाउको, चिउँडो, आँखा, नाक, कान र दाँतमा चोट लागेको पीडितले प्रधानाध्यापकले बताए।

बस्नेतका अनुसार वडाध्यक्षको समुहले आफू स्थायी भएकोले नियमानुसार प्रअ भएकोमा उनीहरुले अस्थायी/करार शिक्षकलाई प्रअ बनाउन दबाब दिँदै आएका छन्। उनीहरुले गर्ने दादागिरीले आफूलाई गाउँमा बस्दा असुरक्षित भएको उनकाे दुखेसो छ।

यता वडाध्यक्ष बस्नेतले झगडा हुँदा दुवैबीच हानाहान भएको र पछि आफ्नो छोरा तिलक र सागरले पनि हानेको स्वीकार गरे। 'झगडा खास सामाजिक विषयमा भएको हो। अहिले व्यक्तिगत जस्तो भयो। हामी १३ दिनेभित्रै पर्छाैं,' उनले भने, 'जनप्रतिनिधिका हिसाबले नहुनुपर्ने भयो। गलत जस्तो भयो। अब मिलेर जाने प्रयास गरौंला।'

प्रकाशित मिति: : 2022-12-22 17:39:00

प्रतिकृया दिनुहोस्