सुकुम्बासी बस्तीमा राजु पाण्डेले ‘नक्कली प्रहरी’ खटाएकाे खुलासा, महानगरकाे लापरबाहीले घाइतेहरूकाे बिचल्ली

गत मंसिर १२ गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डाेजर चलाए। सूचना जारी गरेर सुकुम्बासीहरुलाई बस्ती खाली गर्न पटक–पटक आग्रह गर्दा पनि अटेरी गरेपछि महानगरले अकस्मात डाेजर लिएर गएकाे थियाे। महानगरकाे साे कदमले सबैकाे ध्यान आकर्षण गर्‍याे। देशका शीर्ष नेता, सञ्चारकर्मी, प्रहरीलगायत आमनागरिकले ‘अब के होला?’ भन्ने प्रश्न गरिरहेका थिए। महानगरले ८०-९० जना प्रहरीको टिमसहित डोजर लिएर बस्ती पुग्दा त्यहाँका बासिन्दाहरु हातमा ढुंगा, खुकुी र लट्ठी बोकेर आफ्नो घरको रक्षा गर्न बसिरहेका थिए। दुई समूहबीच चर्काचर्की हुँदै गर्दा एक्कासी ढुङ्गा हानाहान भयाे।

भिडन्तमा परेर दुवै पक्षका केही मानिसहरु घाइते भए। केही सुकुम्बासी हातमा खुकुरी बोकेरसमेत रणभूमिमा उत्रिए। बस्तीको वातावरण केही क्षणमै तनावग्रस्त भयो। कैयौँ प्रहरी भागे, कति भिडिरहे। त्यही दङ्गामा परी महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको पनि टाउकोमा चोट लाग्यो। उनलाई उपचारकाे थापाथलीकै नर्भिक अस्पताल लगियो। अरु घाइते प्रहरीहरुलाई पनि उपचारका लागि साेही अस्पताल लगियो। पाण्डेलाई अस्पताल लगेको केही समयमै काठमाडौँका मेयर र उपमेयर उनलाई भेट्न अस्पताल पुगे। सहानुभूति र हौसला प्रकट गरे। तर, पाण्डेलाई राखिएको ‘वार्ड’ नजिकै अरु घाइते प्रहरीलाई भेट्न कोही पनि गएनन्। बस्तीमा भएको झडपमा घाइते हुने प्रहरीको संख्या सुकुम्बासीहरुको भन्दा दोब्बर थियो। संख्यात्मक हिसाबले प्रहरी बल हावी हुन पर्ने ठाउँमा सुकुम्बासीले प्रहरीलाई कसरी आक्रमण गरे ?

प्रहरीको नेतृत्वमा खोट रहेकै हो ?

स्थिति नियन्त्रण गर्न प्रहरी बलभित्र भ्रष्टाचार, महिला हिंसा, तल्लो तहका प्रहरीमाथि ज्यादती र दमनको आरोप लागेका महानगर प्रहरी प्रमुख एसी राजुनाथ पाण्डेलाई हम्मेहम्मे परेको छ। जनमानसले ‘सिङ्घम’को उपनाम दिएका पाण्डेको अमानवीय रुप देख्दा अहिले जनताहरु उनीमाथि खनिएका छन।


‘नगरप्रहरीमा भर्ना गरिदिन्छु भन्दै लाखौँ पैसा उठाउँछन् राजु पाण्डे’


आफ्नै संगठनभित्रका कर्मचारीले उनीमाथि ज्यादती, दमन र भ्रष्टाचारको आरोप लगाउँदा पनि काठमाडौँ महानगरका प्रशासकीय अधिकृत र मेयर बालेन्द्र साहले उनीविरुद्धको निवेदन र आरोप लुकाउने काम भइरहेको महानगरका पूर्व सई लोकनाथ चुडाल बताउँछन। प्रहरी बलमा कर्मचारीको आवश्यकता भएको हुँदा महानगरले बल्खुस्थित ‘युनिक सेक्युरिटी सर्भिसेस’बाट १ सय ६५ जना सुरक्षा गार्डहरु भाडामा लिएको खुलासा भएको छ। प्रहरी प्रमुख पाण्डे र ‘युनिक सेक्युरिटी सर्भिसेस’का प्रमुख जङ्गबहादुर मगरको मिलेमतोमा महानगरमा काम दिने झुटो आश्वासन दिएर प्रतिव्यक्ति पाँच हजार रुपैयाँ उठाई १ सय ६५ जना सुरक्षाकर्मीहरुलाई भर्न गरेकाे खुलासा भएकाे छ।

‘झुटो प्रमाणपत्र बनाएर लिएर आऊ अनि महानगरभित्र जागिर दिन्छु भनि २०० जनासँग ५००० लिएको छ, राजु पाण्डेले। ती २०० जनामध्ये १२० जना अझै बेरोजगार छन्। ८० जनाले मात्र जागिर पाएको छ। बालेनलाई असफल बनाउने राजु पाण्डेको यो ग्रान्ड डिजाइन हो,’ नेपाली प्रहरीका पूर्व सई हाेमबहादुर बगालेले बिएल नेपाली सेवासँग भने।

महानगर प्रहरीमा जागिर गर्न पहिले नेपाली सेना, प्रहरी वा म्यादी प्रहरीमा काम गरेको हुनुपर्ने मापदण्ड रहेको हुँदा पाण्डेले उक्त प्रमाणपत्र र अनुभव नभएकाहरुलाई झुटो प्रमाणपत्र ल्याएर बुझाउनसमेत भनेको खुलासा बगालेले गरेका छन।

‘अनुभव नभएकाहरुलाई पाण्डेले झुटो प्रमाणपत्र ल्याउ भन्नुको उद्देश्य के हो ?, आफ्नो फाइदाको लागि नियम कानुनलाई हातमा लिएर निर्दोष नेपाली जनताका छोराछोरीलाई बिना हातहतियार सुकुम्बासी बस्तीमा भिड्न पठाउने ?, पाण्डेले राजीनामा दिनैपर्छ,’ बगालेले भने।

प्रमुख पाण्डेले पीडितहरुबाट पैसा नलिएको र झुटो प्रमाणपत्र पनि महानगरले बनाउन आदेश नदिएको बताए। उनले भने, ‘५-५ हजार पनि हामीले लिएको छैनौं, त्यो सबै युनिक सेक्युरिटीले गरेको हो। झुटो प्रमाणपत्रको कुरा पनि मैले सुनेको हो तर हाम्रो (महानगर)को त्यसमा कुनै किसिमको संलग्नता छैन। यसकाे बारेमा जसले पैसा लिएको हो, उसलाई गएर सोध्नुहोला।’

के भन्छन, पीडित ?

नगर प्रहरीको अविभावक र जनताको सिङ्घम भनिने एसपी पाण्डेविरुद्ध एकाएक अनियमितता, भ्रष्टाचार, ज्यादती र दमनको आरोप लाग्दै आएको छ। यसैबीच पाण्डेले दुई सय जनाबाट पाँच हजार उठाएर नगरपालिकामा जागिर दिन्छु भन्दै काम गरी खाने मानिसहरुलाई अन्योलमा  पुर्‍याएकाे दावी होमबहादुर बगाले गर्छन।


सुत्केरी नगर प्रहरीले 'ड्युटी' मिलाइ माग्दा एसपी राजु पाण्डेको जवाफ: 'तैँले मेरो बच्चा पाको होस् र ?'


सुकुम्बासी बस्तीको दंगामा घाइते भएकी गुराँस अधिकारी (नाम परिवर्तन) अहिले राजु पाण्डे र जङ्गबहादुर मगरको ‘सेटिंङ’मा पारिएकाे समस्याले झनै पीडित भएकी छिन। न्यायको खोजीमा  अधिकारी सबै निकाय धाइरहेकी छिन।

‘मलाई अहिले सास फेर्न पनि गाह्राे भइरहेको छ। राजु पाण्डे घाइते हुँदा मेयर र उपमेयर भेट्न गए तर हामी घाइते हुँदा कोही पनि आएनन्। उपचार खर्चको भरपाई पनि अहिलेसम्म भएको छैन। सुकुम्बासी बस्ती पठाउनुअघि पनि हामीलाई जम्मा ३ दिने आधारभूत तालिम दियियो। महानगरमा काम दिने आश्वासन दिएर हामीसँग पाँच हजार रुपैयाँ उठाए तर अहिले हाम्रो बिचल्ली भएको छ,’ उनले भनिन्। सुकुम्बासीहरुसँग भएकाे भिडन्तमा लागेकाे चाेटका कारण अहिले निक्कै गाह्राे भएकाे उनकाे भनाइ छ।

‘यत्रो समय भइसक्यो हाम्रो बारेमा चासो देखाउने कोही पनि छैनन् जस्तो लाग्न थालिसक्यो। झुटो प्रमाणपत्र पनि बनाउन लगाएर हामीलाई महानगर प्रहरी बलभित्र दाखिला गरियो तर अहिले न महानगरले चासो देखउछन् न त युनिक सेक्युरिटीले। न्यायको लागि हामी कहाँ जानुपर्ने हो म त्यही जान्छु,’ अधिकारीले भनिन्।

राजु पाण्डे र जङ्गबहादुर मगरको ज्यादतीमा परेर पीडित हुने आफूजस्तो अरु थुप्रै भएको अधिकारी बताउँछिन। युनिक सेक्युरिटीका प्रतिनिधि जङ्गबहादुर मगर पैसा नलिएको बताउँछन।

‘हामीले कसैसँग पनि एक पैसा समेत लिएको छैनौँ। यो सबै फेक हो। महानगरले हामीलाई १ सय ६५ जना मागेको हो र हामीले त्यति मात्र पठाएका हौँ,’ मगरले भने।

प्रहरी प्रमुख पाण्डेको ‘अनियमितता र ज्यादती’ विरुद्ध महानगरकै प्रहरी (भिडियाे)

प्रकाशित मिति: : 2022-12-23 22:30:00

प्रतिकृया दिनुहोस्