प्रदेश १ मा एमाले र माओवादीको दावी, मुख्यमन्त्रीमा कार्की कि आङ्बो ?

BreaknLinks
BreaknLinks

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नेकपा एमालेसहितका दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रदेश १ मा पनि सरकार गठनका लागि चासो बढ्दै गएको छ। अन्तिम समयमा देशको राजनीतिक कोर्स बदलिएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्नुपरेको छ।

केन्द्रको राजनीतिमा फेरबदल आएसँगै प्रदेश १ मा पनि अब एमाले, माओवादी, राप्रपा र जसपाको संयुक्त सरकार बन्ने निश्चित छ। गठबन्धन जोगाउन नसक्दा प्रदेशको दोस्रो ठुलो दल कांग्रेस अब प्रतिपक्षमा रहने छ।

प्रदेशको ठुलो दल एमाले आफ्नो नेतृत्वमा सरकार गठन गर्न लागिपरेको छ। प्रदेशमा एमालेका ४० संसद छन्। केन्द्रीय सत्ताको बाँडफाँडमा अन्यथा नभए प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने निश्चित भएको एमाले संसदीय दलका नेता तथा स्थायी कमिटी सदस्य हिक्मत कार्कीले बताए। नयाँ गठबन्धनमा रहेका दलहरुको उचित व्यवस्थापन गर्दै मुख्यमन्त्री बन्ने तयारीमा कार्की लागेका छन्।

‘माओवादीबाहेक पनि गत निर्वाचनमा हामीले राप्रपा र जसपासँग तालमेल गरे चुनावमा भाग लिएका थियौँ, तीन दल मिल्दा हाम्रो प्रदेशमा बहुमत सिट छ’, उनले भने, ‘अहिले माओवादीसहितको नयाँ गठबन्धन बनेकाले उसलाई पनि समेटेर प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्छ।’

आफ्नो नेतृत्वलाई प्रदेशको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने कार्कीको भनाई छ।

यता, माओवादी केन्द्रका संसदीय दलका नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको नेतृत्वमा माओवादीको दावी रहने बताएका छन्। उनलाई माओवादी केन्द्रले मंगलबार सर्वसम्मत संसदीय दलको नेता चयन गरिसकेको छ।

अघिल्लो पटक प्रदेशमा एमालेले सरकारको नेतृव्त गर्ने मौका पाइसकेकाले अब माओवादीले सरकारको नेतृत्व गर्नुपर्ने माओवादी नेताहरुको भनाई छ। नयाँ राजनीतिक समिकरण अनुसार प्रदेश १ जसको भागमा परेपनि स्वीकार गर्ने आङ्बोले बताए।

आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णयसहित दलको नेता चयन गरेको माओवादी प्रदेश १ का सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए।

नयाँ गठबन्धनका दुई दल राप्रपा र जसपाले भने सरकार सहभागी हुने नहुनेबारे टुंगो लगाएका छैनन्। ९३ सदस्यीय प्रदेशसभामा नेकपा एमाले ४०, नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, राष्ट्रिय प्रजातन्त्र पार्टी ६, नेकपा (एकीकृत समाजवादी) ३ र जसपाका एक संसद छन्।

सरकार बनाउन ४७ जनाको समर्थन चाहिन्छ। एमाले र माओवादी मात्र मिल्दा पनि बहुमत पुग्छ। एमाले र माओवादीसँग ५३ संसद छन्। राप्रपा र जसपाले पनि समर्थन गरे नयाँ गठबन्धनको पक्षमा ६० जना प्रदेशसभा सदस्य हुनेछन्।

प्रकाशित मिति: : 2022-12-28 11:23:00

प्रतिकृया दिनुहोस्