कर्णालीमा संसदीय दलका दुई नेता आलाेपालाे कि एक्लै मुख्यमन्त्री ?

बजारमा हल्ला छ, 'कर्णाली प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलकाे नेता सर्वसम्मत चयन भएका जीवनबहादुर शाहीले फेरि मुख्यमन्त्री हुन्छु भन्दै नयाँ दाैरा सुरुवाल सिलाइसकेका थिए।'

तर, केन्द्रकाे सत्ता समीकरणले युटर्न लिएपछि उनकाे पुन: मुख्यमन्त्री हुने सपना हाललाई टाढिएकाे छ।

केन्द्रमा बनेकाे नयाँ सत्ता समीकरणले संसदकाे अघिल्लो कार्यकालकाे बेला हातबाट फुत्किएकाे सत्ता हत्याउन एमाले सफल भएकाे छ। यसले केन्द्रसहित सात वटै प्रदेशका एमाले, माओवादीलगायत गठबन्धनको सरकार बन्नेछ।

यसरी कर्णालीमा पनि एमाले र माओवादीकै सरकार बन्ने पक्कापक्की छ। यतिबेला एमाले वा माओवादीमा कसले मुख्यमन्त्री पाउला वा आलाेपालाे मुख्यमन्त्री पाउने सल्लाह हाेला? चासाेकाे विषय बनेकाे छ।

२०७४ काे निर्वाचनमा भएकाे वाम गठबन्धन र त्यसपछि बनेकाे नेकपाले कर्णालीकाे नेतृत्व लिँदै गर्दा मुख्यमन्त्री माओवादीले पाएकाे थियाे। तर, सदस्य संख्यामा एमाले ठूलो थियाे। अहिले भने माओवादी ठूलाे छ।

कर्णालीकाे सरकार चलाउने प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन गरेका छन्।  दुबै दलले बुधबार सर्वसम्मत रूपमा दलको नेता छानेका हुन्।

एमालेले यामलाल कँडेललाई संसदीय दलको नेता बनाएको छ भने माओवादी केन्द्रले राजकुमार शर्मालाई नेता चुनेको हो।

सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा (क) बाट निर्वाचित कँडेल एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली इञ्चार्जसमेत हुन् भने रुकुम पश्चिम प्रदेशसभा (ख) बाट निर्वाचित शर्मा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य हुन्।

दलको नेता चुनिएसँगै कँडेल र शर्मालाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। कर्णालीमा कसकाे नेतृत्व कुन दलकाे हुने भन्ने टुंगो नलागेकाे हुँदा दुवै दलका नेताहरु नेतृत्व हत्याउने कसरतमा हुनेछन्। सोहीअनुसार प्रदेशबाट केन्द्रमा लविङ्ग थालिएको नेताहरूले बताएका छन्।

सत्ता समीकरणअनुसार कँडेल र शर्मामध्ये एक जना मुख्यमन्त्री बन्ने भने पक्का भएको छ। यी दुबै नेताले मुख्यमन्त्रीको दाउ हेरिरहेका छन्।

केन्द्रमा प्रदेशको भागबण्डा गर्दा कर्णाली एमालेको भागमा परे कँडेल र माओवादी केन्द्रले पाए शर्मा मुख्यमन्त्री बन्नेछन् भने आलाेपालाेकाे सहमति हुन सक्ने सम्भावना पनि उत्तिकै छ।

४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १३ र एमालेका १० गरी २३ जना प्रदेशसभा सदस्य छन्। जुन संख्या सरकार गठनका लागि पर्याप्त छ।

कर्णालीमा सरकार बनाउन २१ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट एक/एक जना सदस्य छन्।

हालको एमाले-माओवादी सत्ता समीकरणमा प्रदेशमा पनि राप्रपाको समर्थन रहने बुझिएको छ। संघमा एमाले, माओवादी केन्द्रलगायत सात दल सम्मिलित संयुक्त सरकार निर्माण भइ प्रदेश सरकारहरू गठन गर्ने प्रक्रिया थालिएको छ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल भएपनि पछिल्लो सत्ता समीकरणले गर्दा प्रतिपक्षमा बस्नुपर्ने भएको छ। कर्णाली प्रदेशसभामा कांग्रेसका १४ जना प्रदेशसभा सदस्य छन्। 

प्रकाशित मिति: : 2022-12-29 14:20:00

प्रतिकृया दिनुहोस्