सर्वसाधारण झरना कसरी पुगिन् ‘महानगर प्रहरी’ डफ्फामा

काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा मंसिर १२ गते महानगरको डोजर चल्यो। महानगरको डोजर आतंकविरुद्ध जागेका सुकुम्बासी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका केही दर्जन घाइते भए।

त्यही झडपमा परिन्, लमजुङकी झरना बिष्ट। न उनी सुकुम्बासी हुन् न नगर प्रहरी नै। ‘करार सम्झौता’अन्तर्गत युनिक सेक्युरिटी सर्भिसेसमा कार्यरत उनी पूर्व म्यादी प्रहरी हुन्। १२ गते भएको झडपमा आफूले धेरै चोट खप्नु परेको उनको भनाइ छ।

‘घटना घटेको हप्तौँ बितिसक्दा पनि चोट निको भएको छैन। अहिले पनि टाउको सुन्निएर दुखिरहन्छ,’ बिएल नेपाली सेवासँग गुनासो पोख्दै उनी सुनाउँछिन्,‘टाउकोमा लागेको चोटको कारण राति निदाउँदा सधैँ मेरो आँखाबाट आँसु बग्छ।’

आफ्नो टाउकोमा लागेको चोट देखाउँदै उनले सास फेर्न पनि गाह्रो भइरहेको बताइन। ‘म धेरै समय बोल्न पनि सक्दिनँ। केही ठोस पदार्थ खान पनि मलाई गाह्रो हुन्छ। अस्पतालले अक्सिजन चढाएर भर्नासमेत गरेको थियो तर महानगरले सामान्य चोट हो भनेर मलाई डिस्चार्ज गर्न लगायो। अस्पतालमा भएको खर्चको भरपाईसमेत गरिदिएन,’ उनले भनिन्।

सर्वसाधारण झरना कसरी पुगिन् ‘महानगर प्रहरी’ डफ्फामा

महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डे र युनिक सेक्युरिटी सर्भिसेसका जङ्गबहादुर मगरले सुकुम्बासी र नगर प्रहरीको झडपमा घाइते भएकी झरनासहित हजार जनालाई जागिर दिने आश्वासन दिएका थिए। जागिरमा लगाई दिने भन्दै उनीहरूले प्रत्येक व्यक्तिबाट ५ हजार रूपैयाँ पैसा असुले। काम गर्नका लागि तालिम र फारमको लागि फि भन्दै उनीहरूले हजार जनासँग ५० लाख रूपैयाँ उठाए। तर, पैसा लिइसकेपछि ड्युटीको लागि अयोग्य देखिएको भन्दै ८३५ जनालाई प्रशिक्षण प्रक्रियापछि नै फर्काइदिए।

‘एक हजार जनासँग पैसा लिएको हो तर ८३५ जनालाई काम गर्नको लागि योग्य छैन भन्दै जङ्गबहादुरले निकाले,’ उनले भनिन् ‘महानगर प्रहरीमा जागिर खानको लागि नेपाल प्रहरी तथा नेपाल सेनामा रहेको प्रमाणपत्र हुनपर्ने सर्त राखेर धेरैलाई निकालिदिए। म चाहिँ पूर्वम्यादी भएकोले जागिरमा योग्य भए।’

तीन दिनको तालिममा हाकिमलाई स्यालुट गर्न सिकाएपछि उनलाई सुकुम्बासी टोलमा खटाइयो। स्थानीयसंगको झडपमा घाइते उनी दुई दिन नर्भिक अस्पतालमा बसेर उपचार गरिन्। पूर्णरुपमा निको नहुँदै महानगरले उनलाई घर पठाइदियो। अनि जागिरबाट पनि निकालियो। उनी युनिक सेकुरिटीमा तलब बुझन जाँदा त्यहाँका कर्मचारीले मानसिक असन्तुलन भएको आरोप लगाएर तलब नदिएर जागिर बाट निकाले।


सुकुम्बासी बस्तीमा राजु पाण्डेले ‘नक्कली प्रहरी’ खटाएकाे खुलासा, महानगरकाे लापरबाहीले घाइतेहरूकाे बिचल्ली


महानगरमा गएर बुझ्दा कर्मचारीको सूचीमा उनको नाम थिएन। महानगरले तलब दिलाउन कुनै प्रयास गरेन। उनकाअनुसार सर्वसाधारणले पनि नेपाल सेना र नेपाल प्रहरीको फर्जी प्रमाणपत्र बनाएर महानगरमा काम गरिरहेका छन्।

‘नक्कली प्रमाणपत्र लिएर १०–१५ जना जागिर खाइरहेका छन,’ उनी भन्छिन्,‘यदि कम्प्युटरमा नाम हान्यो भने उनीहरूको नाम ठ्याक्कै भेटिन्छ।’

राजुको कुरा मानेर सुकुम्बासी बस्ती पुगेकी झरनाले लगाएको सबै आरोपबाट पन्छिन खोजिरहेका छन्, पाण्डे।

जागिरको लागि आवश्यक नक्कली प्रमाणपत्र सबै जङ्गबहादुरले बनाउन लगाएको राजु बताए। ‘मलाई फर्जी प्रमाणपत्रबारे केही थाहा छैन। पैसा पनि उसैले लिएको हो। त्यसैले उहीसँग कुरा गर्नुहोला,’ एसपी पाण्डेले भने।

पछिल्लो समयमा महानगर प्रमुख राजु पाण्डेमाथि सत्ताको आडमा अमानवीय र अनियमित गतिविधीहरु भइरहेकोमा चौतर्फी आलोचना भइरहेको छ। प्रमुख पाण्डेमाथि लागेको आरोपबारे मुख खोलेका छैनन्। केही साताअघि उनीमाथि लागेको लैंगिक हिंसाको आरोप सार्वजनिक हुँदासमेत उनी आफू निर्दोष भएको सबैभन्दा धेरै महिलाको इज्जत गर्नु मान्छे भएको दावी गर्छन।

२५ वर्षीया प्रहरी हवल्दार गंगा उप्रेती र उनको श्रीमानमाथि गरेको दुर्व्यवहार नकार्दै उनले आफूमाथि लागेको आरोप सबै झुटो भएको बताइरहेका छन्।

आफूलाई सम्पूर्ण महानगर प्रहरी बलको अभिभावक र ‘महानगर गौरव’द्वारा पुरस्कृत भएका पाण्डेको ज्यादती र दमनबाट पीडित भएको तल्लो तहका प्रहरी बताउँछन्।

पाण्डेविरुद्ध दर्ता भएको निवेदनसमेत महानगरले लुकाएको छ। महानगर प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपमेयर सुनिता डंगोललाई समेत दिएको उक्त निवेदनको बारेमा जानकारी दिन महानगरका सबै कर्मचारी डराउँछन्। गंगले सुत्केरी भएको अवस्थामा ड्युटी मिलाई माग्दा ‘तैले मेरो बच्चा पाइदिएको होस र ?’ भन्दै उनको श्रीमानमाथि हातपात गरेका थिए।


सुत्केरी नगर प्रहरीले 'ड्युटी' मिलाइ माग्दा एसपी राजु पाण्डेको जवाफ: 'तैँले मेरो बच्चा पाको होस् र ?'


उनको उजुरीमाथि अहिलेसम्म अनुसन्धान भएको छैन। प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, मेयर बालेन साह र अन्य पदाधिकारी सो प्रकरणमा मौन रहँदै आएका छन। बरु उनीहरुको मिलेमतोमा प्रहरी प्रमुख पाण्डेलाई ‘महानगर गौरव’ पुरस्कारबाट सम्मान गरेका थिए।

लैगिंक हिंसामा संलग्नलाई किन पुरस्कृत गरेको भन्ने जिज्ञासनमा प्रमुख प्रशासकीय अधिकारी शर्माले सो प्रकरणबारे थाह नभएको बताए। ‘अहिलेसम्म कसैले निवेदन दिएको छैन, मलाई यो विषयमा केहि थाहा पनि छैन। यदि पाण्डेविरुद्ध लागेको आरोप सत्य हो भने हामी अवश्य कारवाही गर्छौ,’ उनले भने।

तर, महानगरमा उनै आरोपित पाण्डेलाई सम्बोधन गर्दै गंगाले लेखेको निवेदन नम्बर १२५८ दर्ता भएको दुई महिना बितिसकेको छ। पीडितले न्याय र पीडकले सजाय पाएका छैनन्। उल्टै पीडकलाई जनमानसले ‘सिङ्घम’को ट्याग लगाइदिएका छन्, महानगरले ‘महानगर गौरव’को पदक दिएका छन्।

सुत्केरी महिलामाथि दुर्व्यहार गर्ने त्यस्ता अपराधीलाई संरक्षण दिने महानगर पनि अपराधी भएको काठमाडौंका स्थानीय ३५ वर्षीय सुदीप बराल बताउँछन्। ‘बालेन साहलाई हामीले केही राम्रो काम गर्छ भनेर भोट दियौँ तर अहिले उहाँले नै लैंगिक हिंसा जस्तो जघन्य अपराध लुकाउँदै हुनुहुन्छु उनले भने, ‘अब हामीले उहाँबाट के अपेक्षा राख्ने?’

‘नगरप्रहरीमा भर्ना गरिदिन्छु भन्दै लाखौँ पैसा उठाउँछन् राजु पाण्डे’

प्रकाशित मिति: : 2022-12-30 22:00:00

प्रतिकृया दिनुहोस्