यस्तो छ घरको कामसँगै आय/आर्जनमा जोडिने काइदा

दाङको राजपुर गाउँपालिका– ५ सालभौरीकी ३२ वर्षीया हिरा कुमाललाई घरको काम नगरी सुखै छैन। एक छोरा र एक छोरीसहित घर व्यवहार धानिरहेकी कुमालका श्रीमान बैदेशिक रोजगारीमा छन्। छोरा, छोरीको हेरचाहदेखि घरको सबै काम हिरा नै गर्छिन्। छोरा, छोरी स्कुलमै ब्यस्त हुने गर्छन।

हिरा भने घरको काम मात्र होइन आय/आर्जनमा पनि जोडिएकी छन्। उनी घरमा काम गरेर बचेको फुर्सदको समयमा गरेको च्याउ खेतीबाट उत्पादन भएको च्याउ बेच्नसमेत हिजो/आज उनलाई भ्याइनभ्याइ छ। घरको काम सकेर बचेको फुर्सदको समयलाई सदुपयोग गरेर हिरा समूहमा च्याउ खेती गर्ने काम गर्दै आएकी छन्।


दही बेच्न दैनिक ५० किलोमिटर दुरी पार


उनलाई घरमा फुर्सद मिल्यो कि च्याउको हेरचाहदेखि बिक्री गर्नसमेत पुग्छिन्। घरको काम गरेर निकालिएको समयलाई सदुपयोग गर्न उनी जस्तै महिलाहरु मिलेर च्याउँ खेती गरेका छन्। चयाउन खेतीमा लागेपछि आय/आर्जन पनि भएको हिरा बताउँछिन्। ‘श्रीमान विदेश हुनुहुन्छ। यहाँ छोराछोरीको पढाइ खर्चदेखि घर व्यवहार चलाउन म पनि घरको काम सकेर च्याउ खेतीमा लागेको छु,’ उनले भनिन्।

०००

सालभैरीकै मनिषा चौधरीलाई पनि घरको कामधन्दा नगरी सुखै छैन। उनी पनि घरको काम गरेर बचेको समयमा च्याउ खेतीमै रमाउने गरेकी छन्। उनको काम च्याउको बिउ पोका बनाएर राख्नेदेखि उत्पादित च्याउ बिक्री गर्ने हो। बिक्रीका लागि गाउँ–गाउँ पुग्ने गरेको उनले बताइन। नमुना च्याउ उत्पादन समूहकी अध्यक्षसमेत रहेकी मनिषाले घरको कामपछि फुर्सदको समयमा गरेको उद्यमले राम्रो आम्दानी गरिरहेको बताइन।

उनकाअनुसार च्याउका लागि पराल काट्नेदेखि उत्पादित च्याउको बजार व्यवस्थापनमा सात जना महिला छन्। ‘अहिलेसम्म कामदार राख्नुपरेका छैनौँ। च्याउ उत्पादनदेखि बिक्रीको काम आफैं गरिरहेका छौँ’, समूहकी अध्यक्ष मनिषाले भनिन्,‘समूहमा सबै महिलाहरु मिलेर काम गर्दा राम्रै भैरहेको छ।’

उनकाअनुसार यस सिजनकै सुरुमा प्रतिकिलो दुई सयका दरले २६ हजार ८ सयको च्याउसमेत बिक्री भइसकेको छ। हिरा र मनिषासँगै सालभौरीका सात जना महिलाले घरको कामसहित केही उद्यम गर्ने इच्छाका साथ सामूहिक च्याउ खेती गरिरहेका छन्। सालभौरी उनीहरुसँगै इन्द्रादेवी सुनार, अनिता चौधरी, रेणुका विश्वकर्मा, राजकुमारी चौधरी र ममता चौधरीले गाउँमै नमुना च्याउ खेती उत्पादन समूह स्थापना गरेर विगत दुई वर्षदेखि आय/आर्जन गरिरहेका छन्।

सात जनाको समूहले दुई ठुला र दुई साना गरी चार वटा च्याउ टनेल निर्माण गरेर च्याउ उत्पादनसँगै बिक्रीबाट आम्दानी गर्दै आइरहेका छन्। वार्षिक पाँच हजार रुपैयाँ दिएर तीन वर्षका लागि पाँच कट्ठा जमिन भाडामा लिएर च्याउ खेती गरिएको अध्यक्ष मनिषाले बताइन।

गत वर्ष दुई सय ७० किलो च्याउ बिक्री गरेको समूहको यस सिजनमा तीन सय किलो च्याउ बिक्रीको योजना रहेको छ। ‘सुरुको वर्ष दुई लाखको च्याउ बेचेका हाैँ, यो वर्ष अहिलेसम्म २६ हजारको च्याउ बिक्री गरिसकेका छौँ’, मनिषाले भनिन्,‘यो वर्ष आम्दानी दोब्बर बनाउने योजना छ।’


ढिकी, जाँतो हराएसँगै हराए पाैष्टिक आहार 


राम्रै आम्दानी भएकाले समूहका महिला उद्यममा हौसिएका छन्। ‘फुर्सदमा डुलेर घुमेर समय जान्थ्यो, अहिले च्याउ उत्पादनका लागि केही न केही काम भइरहन्छ’, समूहकी सचिवसमेत रहेकी हिराले सुनाइन,‘परिवार र उद्यम सँगसँगै चलाइरहेका छौँ। राम्रै भइरहेको छ।’

उनले च्याउ उत्पादनका लागि आवश्यक बिउ, पराल र प्लाष्टिक किन्ने खर्चबाहेक बचेको रकम समूहमै बचत गर्ने र आवश्यक्ताअनुसार चलाउने गरेको बताइन। महिलाहरुलाई उद्यममा जोडिन मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले च्याउ खेतीको तालिम, उत्पादनका लागि चार वटा टहरा निर्माण, पराल पकाउने एउटा ड्रम, पराल काट्ने मेसिनलगायतको सहयोग गरेको थियो।

प्रकाशित मिति: : 2022-12-30 07:00:00

प्रतिकृया दिनुहोस्