मुख्यमन्त्रीमा एमाले र माओवादीको आ-आफ्नै दावी, दलका नेता भन्छन्- केन्द्रको निर्णयअनुसार अघि बढ्छौँ

प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सरकनर गठनका लागि पुस २४ गतेभित्र दावी पेश गर्न आह्वान गरेसँगै दलहरूले सरकार गठनका चासो देखाएका छन्। केन्द्रीय समीकरणअनुसार प्रदेश १ मा पनि एमाले नेतृत्वको नयाँ गठबन्धनको सरकार बन्ने निश्चित छ।

प्रदेश १ को मुख्यमन्त्रीमा नयाँ गठबन्धनबाट प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले आ-आफ्नै दाबी गरेका छन्।

मुख्यमन्त्रीमा एमालेबाट हिक्मतकुमार कार्की र माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका इन्द्रबहादुर आङ्बोको दाबी छ। उनीहरु दुवैजना संसदीय दलका नेता हुन्।

एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका हिक्मत कार्कीले प्रदेशको नेतृत्वमा आफ्नो दावी रहेको बताए। प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत नपाएकाले अहिले केन्द्रमा बनेको गठबन्धनले गरेको निर्ण कार्यन्वयन गर्नु आफ्नो दायित्व भएको उनले बताए।

सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे पुस २४ अगावै निर्णय हुने उनको भनाई छ। ‘प्रदेश प्रमुखबाट सरकार गठनको आह्वान भएसँगै अब हामी गठबन्धनमा रहेका दलहरु छलफल गरेर टुंगो लगाउँछौँ,’ उनले भने ‘संभवत प्रदेशमा मेरै नेतृत्वमा सरकार बन्छ, त्यस विषयमा केही कुरा सहमति भइसकेको छ।’ मुख्यमन्त्रीको टुंगो लागेपछि मात्र अन्य मन्त्रालयको बाँडफाँटका बारेमा आन्तरिक छलफल हुने कार्कीले बताए।

अहिलेको सत्ता गठबन्धन बाहिर रहेको दल नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने उनले बताए।

यस्तै माओवादी केन्द्रका आङ्बोले अघिल्लो पटक सरकारको नेतृत्व गर्न एमालेलाई आफूहरुले सहयोग गरेका कारण यसपटक प्रदेशमा माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने बताए। यद्यपि, सरकारको नेतृत्वबारे केन्द्रले गरेको निर्णय आफूहरुलाई स्विकार्य हुने उनले बताए।

आङ्बो भन्छन्, ‘केद्रको निर्णलाई मानेर अघि बढ्छौँ, तर १ नं प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्नुपर्छ भनेर दावी चाहिँ रहन्छ।’ प्रदेशसभाको सबैभन्दा ठुलो दल भएका कारण पनि एमालेले मुख्यमन्त्रीको दावी गर्नु जायज भएको आङ्बोको भनाई छ।

प्रदेशसभामा नेकपा एमाले ४०, नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, राप्रपा ६, नेकपा एकीकृत समाजवादी ४ र जसपाका एक संसद छन्। ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ संसद आवश्यछ पर्छ।

यस्तै प्रदेश १ प्रदेशसभाको पहिलो बैठकबाट प्रदेश निजामती सेवा अध्यादेश २०७९ टेबुल गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । आइतबार भएको पहिलो बैठकबाट प्रदेशसभा नियमावली पहिलो संशोधनलाई स्विकार गर्ने र प्रदेश निजामती सेवा अध्यादेश २०७९ टेबुल गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

प्रदेशसभा नियमावलीको संशोधनसहितलाई स्विकार गर्न प्रदेशसभा सदस्य भीम पराजुलीले प्रस्ताव र लिलाबल्लभ अधिकारीले समर्थन गरेका थिए ।

प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो । यस्तै बैठकले मन्त्री पदमै वाहल रहेका बेला निधन हुन पुगेका वनमन्त्री शेखरचन्द्र थापाप्रति शोक प्रस्ताव पारित गरेको छ ।

अब नयाँ सरकार बनेपछि उक्त अध्यादेशमा छलफल र अरु प्रक्रिया संसदले सुरु गर्नेछ । प्रदेशसभाको अर्को बैठक पुस २५ गते दिउँसो १ बजे बोलाइएको छ ।

प्रकाशित मिति: : 2023-01-01 16:03:00

प्रतिकृया दिनुहोस्