प्रदेश १ को मुख्यमन्त्री बन्दै कार्की, ४ बजे दावी पेश गर्ने

नेकपा एमाले प्रदेश १ का सासंदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका छन्।

प्रदेशसभाका बहुमत सांसदको समर्थनमा कार्कीले आज दिउँसो ४ बजे दावी पेश गर्ने भएका हुन्। 

कार्कीलाई मुख्यमन्त्री बनाउन ४ दलको समर्थनमा प्रदेश प्रमुखसमक्ष दिउँसो ४ बजे दाबी पेस गर्ने तयारी भइरहेको एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। उनका अनुसार अन्य बाँडफाँडको विषयमा भने छलफल भएरहेको छ। 

प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते एक साताको समय दिएर आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दावी पेश गर्न आह्वान गरेका थिए। कुनै दलले स्पष्ट बहुमत नपाएकाले नेपालको संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा दावी पेश गर्न उनले आह्वान गरेका थिए। 

९३ सदस्यीय प्रदेशसभामा एमालेको गठबन्धनसँग ६० सांसद छन्। एमाले ४० माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सांसद रहेका छन्। नयाँ सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ।

प्रकाशित मिति: : 2023-01-08 12:51:00

प्रतिकृया दिनुहोस्