प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले संसदीय दलका नेतासमेत रहेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। कार्की नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) का सांसदको समर्थन रहेको छ।

उनले आइतबार एमालेका ४० सहित माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसद गरी ६० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी गरेका थिए।

खापुङले गत पुस १७ गते एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए। सोही बमोजिम कार्कीले आज प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका थिए।

उनले आजै सबै दलबाट एक/एक जना समेटेर सानो मनत्रीमण्डल विस्तार गर्ने तयारी गरेको जनाइएको छ। शपथग्रहण भने भोलि हुने छ।

प्रकाशित मिति: : 2023-01-08 17:22:00

प्रतिकृया दिनुहोस्