रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन: उपाध्यक्ष शर्मा

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले शुक्रबार दिएको फैसलाले एनआरएनहरुलाई कुनै असर नपर्ने बताएका छन्।

डा. शर्माले फैसलाले ‘गैरआवासीय नेपालीको एक पटकको नेपाली सधैंको नेपाली’ अभियानलाई पूर्णविराम लगायो, नेपालको सम्पत्ति असुरक्षित हुने भयो, एनआरएनको लागि कालो दिन’ आदि सामाजिक सञ्जालमा आएका प्रतिकृयामा सत्यता नरहेको बताए।

संघ पूर्व महासचिवसमेत रहेका डा.शर्माले भने, 'कसैलाई राजनीति गर्न मन लाग्यो विदेशी नागरिकता त्याग्ने बित्तिकै नेपालको नागरिकता पुनः प्राप्ति गर्नसक्छ। पहिलेको प्रस्तावित कानुनमा नेपाल फर्केर ५ वर्ष बसेपछि मात्र राजनीतिक अधिकार प्राप्त गर्ने थियो तर अहिलेको कानुन यति धेरै उदार बनाइएको छ कि नेपाल फर्केको भोलिपल्टदेखि नै राजनीतिमा प्रवेश गर्न पाएछन्। यो उदार व्यवस्थालाई  सही किसिमले सदुपयोग गर्न सक्नु पर्छ।'

उनले, 'प्रश्न नागरिकता पुनः प्राप्ति गर्न सम्बन्धित निकायमा निवेदन दिनुपर्छ वा पहिलेको नागरिकता स्वतः ब्युँतिन्छ भन्ने थियो तर अदालतले निवेदन दिनुपर्छ भन्ने फैसला गरेपछि पुनः नागरिकता लिने बाटो प्रष्ट पारेको छ।'

डा शर्माले फैसलाले विदेशको नागरिकता लुकाएर नेपाली नागरिकताले नेपालमा घर जग्गा किन्नेलगायतका कारोबार गर्नु गैरकानुनी हुँदो रहेछ भनेर गैरआवासीय नेपालीहरुलाई थप सचेत बनाएको बताए।

उनले गैरआवासीय नेपालीहरुको सम्पत्तिको अधिकार प्रस्ताविक गैरआवासीय नेपालीसम्बन्धी ऐनमा विशेष व्यवस्था हुने बताए।

डा. शर्माले संविधानमा प्रस्तावित गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थाले नेपालको पैतृक सम्पत्ति, अंशवण्डा, अपुतालीलगायतका सम्पत्तिको अधिकार सुनिश्चितता गरेको बताए।

डा. शर्माले बाहिर बस्ने नेपालीको नागरिकतालाई सम्बोधन गर्न संविधानको धारा १४ मा राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको बताए। उनले रवि लामिछानेको विपक्षमा आएको फैसलापछि पनि संविधानका भएका यी विषयहरु यथावत नै रहने बताए।

प्रकाशित मिति: : 2023-01-28 12:45:00

प्रतिकृया दिनुहोस्