अमेरिकी संसदकी एक मुस्लिम सांसद अन्तर्राष्ट्रिय समितिबाट बर्खास्त

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी संसदको तल्लो सदन हाउस अफ एसेम्बेलीमा एकजना डेमोक्रेट सांसद इल्हान ओमारलाई संसदको अन्तर्राष्ट्रिय समितिबाट हटाइएको छ। उनलाई रिपब्लिकन बहुमतमा रहेको संसदको बहुमतबाट हटाइएको हो।  उनलाई हटाउने पक्षमा २११ का विरूद्ध २१८ मत पर्यो। संसदमा पार्टी लाइनअनुसार नै मतदान भएको थियो तर एकजना रिपब्लिकन सांसद उपस्थिति जनाएर मतदानमा सहभागी भएनन्।

ओमार एक मुस्लिम, महिला  र आप्रवासी पृष्ठभूमीकी सांसद हुन्। सोमाली मूलकी यी सांसद मिनेसोटा राज्यबाट संसदमा प्रतिनिधित्व गर्छिन्।

अमेरिकाका दक्षिणपन्थी रैथानेहरूलाई उनको धर्म, रङ्ग, लिङ्ग, पृष्ठभूमी र एजेण्डा केही पनि मन पर्दैन। त्यसैले उनी बारारम्बार निशानामा पर्दैआएकी छिन्। निवर्तमान राष्ट्रपति ट्रम्पले त उनलाई सार्वजनिक रूपमै आफ्नै देश फर्कन भनेका थिए।

ओमारले अमेरिकाले इजरायललाई पैसा दिन गर्न बन्द गर्नुपर्छ भनेकी थिइन्। उनले भनेको त्यही भनाइ उनका लागि अभिषाप भयो। उनले त्यसो भने लगत्तै दक्षिणपन्थी रिपब्लिकन सांसदहरूले उनको उछितो काढे। उनको बोली डेमोक्रेटहरूको संस्थापनलाई पनि मन परेन किनकि डेमोक्रेट्सलाई थाहा छ यहुदीको विपक्षमा रहेर अमेरिकी राजनीतिमा दैया चल्नेवाला छैन।

 यो विवाद बढ्दै जाँदा अमेरिकामा एक किसिमको जातिवादी ध्रुवीकरण नै भयो। यो सम्बेदनशीलतालाई ध्यानमा राखेर उनले माफी पनि मागिन्। तर, त्यतिगर्दा पनि अतिवादीहरूले उनलाई तथानाम भने, हत्या गरिदिने सम्मको धम्की दिए। 

अमेरिकाले विश्वभर आफ्नो छवि मानवअधिकारको च्याम्पियनजस्तो बनाए पनि अमेरिकाभित्र भने त्यस्तो अवस्था छैन। यहाँ सबै अमेरिकीले समान मानवअधिकारको उपयोग गरिरहेका छैनन्। खासगरी छालाको रङ्को आधारमा यहाँ अनेक तहमा विभेद छ। ओमारमाथि भएको यो कारबाही पनि त्यही विभेदको एक जबर्जस्त रूप हो। 

यस्तो धम्कीमा संलग्न दुई रिपब्लिकन सांसद माजोरी टेलर ग्रिन र पाउल गोसारलाई त्यतिबेला बहुमतमा रहेको डेमोक्रेटहरूले संसदको समितिबाटै हटाइदिएका थिए। 

अहिले रिपब्लिकन बहुमत हुँदा ती रिपब्लिकन सांसद संसदको महत्वपूर्ण समितिमा पुनर्वहाली भएका छन् भने डेमोक्रेटिक पार्टीको तर्फबाट अन्तर्राष्ट्रिय समितिमा प्रतिनिधित्व गरिरहेकी ओमारलाई भने निस्कासन गरिएको छ। 

ओमारलाई हटाउन संसदमा मतदान हुनुअघिले उनले संसदमा आफ्नो पक्ष राख्दै आफू  एक मुस्लिम, महिला  र आप्रवासी पृष्ठभूमीकी भएकै कारण आफू रिपब्लिकनहरूको निशानामा परेको बताइन्। उनले भनिन्, म अमेरिकी हुँ र एक सांसद हुँ। त्यसैले मलाई समितिबाट हटाए पनि म बोल्न छोड्ने छैन।' 

अमेरिकाको राजनीतिमा यहुदी फ्याक्टर निर्णायक मानिन्छ।  अमेरिकामा एक किसिमको भनाइ मात्र हैन कि  लगभग यथार्थ पनि हो राष्ट्रपति चुनावमा यहुदीले समर्थन नगरेको उम्मेद्वारले जित्दैन। केही अपवाद बाहेक अहिलेसम्मको परिणामले त्यही पुष्टी गरेको छ।  

अमेरिकाले विश्वभर आफ्नो छवि मानवअधिकारको च्याम्पियनजस्तो बनाए पनि अमेरिकाभित्र भने त्यस्तो अवस्था छैन। यहाँ सबै अमेरिकीले समान मानवअधिकारको उपयोग गरिरहेका छैनन्। खासगरी छालाको रङ्को आधारमा यहाँ अनेक तहमा विभेद छ। ओमारमाथि भएको यो कारबाही पनि त्यही विभेदको एक जबर्जस्त रूप हो। 

 

प्रकाशित मिति: : 2023-02-03 07:35:00

प्रतिकृया दिनुहोस्