खोटाङबजारको सडक ढलान ६ महिनादेखि अलपत्र

फाइल तस्बिर
फाइल तस्बिर

ठेकेदारले खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम ६ महिनादेखि अलपत्र परेको छ।

निर्माण कम्पनी धुलीखेल निर्माण सेवाले जिल्लाकै पुरानो बजार मानिने खोटाङ बजारभित्रको सडक ढलान तथा डिबिएसटी पिचको काम अलपत्र पारेको हो। प्रदेश सरकारको मुअकरबाहेक २ करोड ६९ लाख २५ हजार ७९७ को लागतमा धुलीखेल निर्माण सेवाले खोटाङबजार सडक ढलान तथा डिबिएसटी पिचको ठेक्का लिएको थियो। 

 २०७८ असार ३० गतेसम्ममा सक्ने गरी २०७७ असार ३० गते खोटाङ बजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लागेको थियो। निर्माण कम्पनीले गत असारदेखि सडक ढलान तथा डिबिएसटी पिचको काम रोकेर अलपत्र पारेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले बताए।

‘गुणस्तहिन काम भयो भन्ने गुनासो आएपछि अनुगमनमा गएर रोक लगाएका थियौंँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसको केही समयसम्म काम गरेर हिँडेको ठेकेदार अहिलेसम्म वेपत्ता छ। असारदेखि काम ठप्प छ।’ 

खोटाङबजारभित्र करिब सात सय मिटर आरसिसि ढलान र करिब छ सय मिटर डिबिएसटी कालोपत्रे गर्नुपर्ने सम्झौता छ। तर सडक ढलानका क्रममा ढिलासुस्तीसँगै गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्ड अनुसारको दुरीमा रडको जाली नराखिएको, ढलानअघि राखिएको सोलिङ राम्ररी नगरिएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए।

प्रयोग गर्न ल्याइएका गिटी र बालुवा छुट्याउन सकिन्न। बनिसकेका ड्रेन र मेसिनरी पर्खाल भत्किन थालेको गाउँपालिकाका उपाध्यक्ष रुपेश राईले बताए। ढलानका लागि ल्याएर जथाभावी थुपारिएको बालुवा, गिटी र रडका कारण बजारमा दुर्घट्नाको जोखिम उत्तिकै बढेको छ। 

 सुरुमा खोटाङ बजारमा डिबीएसटी कालोपत्रे गर्नेगरी डिपिआर तयार पारिएको थियो। तर डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका घरहरुलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घरहरु भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्नेगरी काम अघि बढाइएको थियो।

परिवर्तित डिजाइन अनुसार २ नम्बर धारादेखि ईलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको हो।

 सम्झौता म्याद नाघेको १८ महिना वितिसक्दा आयोजनाको करिब ६० प्रतिशत मात्र काम सकिएको छ। निर्माण कम्पनीले दुईपल्ट थप भएको म्याद गुजारीसकेको शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगाले जनाएको छ। निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदै आएको छ।

 बिक्रम संबत २०२० सालसम्म सदरमुकाम रहेको खोटाङबजारको सडक ढलानमा भइरहेको लापरवाहका विषयमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सांसद बेखबरझैं देखिएका छन्। 

प्रकाशित मिति: : 2023-02-10 08:56:00

प्रतिकृया दिनुहोस्