विद्यालयमा नयाँ भवन बनेपछि 'राङजातमा उत्सव'

BreaknLinks
BreaknLinks

पानी चुहिने जीर्ण भवनका कारण पढाईमा असर हुँदै आएको रोल्पाको एक विद्यालयमा नयाँ भवन बनेपछि खुसियाली स्वरूप विद्यालयले दुईदिने उत्सव मनाएको छ।

जिल्लाको रून्टिगढी गाउँपालिका–१ राङजातमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय रिठाबोटले विहिवार र शुक्रवार विभिन्न कार्यक्रम गरी उत्सव मनाएको हो।

विद्यालयमा संघीय अनुदानको ३० लाख र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ३६ लाख गरी जम्मा ६६ लाखको लागतमा ८ कोठे पक्की भवन बनेपछि उत्सवमय तरिकाले त्यसको उद्घाटन गरिएको छ।

उत्सवमा शिक्षक, अभिभावक र विद्यार्थीको सहभागितामा विभिन्न साँस्कृतिक तथा खेलकुद कार्यक्रम, पूर्व विद्यार्थी, पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरूको सम्मेलन तथा उनीहरूलाई सम्मान समेत गरेको थियो।

दुई दिने उत्सवको पहिलो दिन प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद् ईश्वरी घर्तीबाट भवनको उद्घाटन गरिएको थियो। भवन उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् घर्तीले विद्यालयको भवन बनेसँगै अब गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताइन्।

‘शिक्षकहरूबीचमा आफ्नो विषयमा कतिधेरै विद्यार्थी उत्तीर्ण गराउने भन्ने बारे प्रतिष्पर्धा हुनुपर्छ’ सांसद् घर्तीले भनिन्, ‘प्रत्येक विषयमा विद्यार्थीहरूलाई अब्बल बनाउने तर्फ ध्यान जाओस्।’

गत शैक्षिक सत्रमा सो विद्यालयबाट १० जना विद्यार्थी बालविबाह गरेर गएको तथ्याङ्क रहेको भन्दै त्यसमा अभिभावक पनि सचेत हुन घर्तीले आग्रह गरिन्। ‘अभिभावकहरूले आफूसँग पैसा नभई नभई पनि आफ्ना बालबालिकालाई महङ्गो मोबाइल किन्दिन्छौं’ घर्तीले भनिन्, ‘त्यसबाट बालबालिकाहरूको पढाईमा असर भई बालविबाह र अन्य बिकृति बढाउने गरेको छ।’  

कार्यक्रममा रून्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले विद्यालयको प्रगतिमा गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमि हुन नदिने बताए।

यस्तै गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले विद्यालयको भवन निर्माणमा आफ्नो तर्फबाट विगतमा आवश्यक पहल गरेको स्मरण गर्दै आगामी दिनमा पनि विद्यालयको विकासमा आफ्नो तर्फबाट पहल कदमी कायमै हुने प्रतिवद्धता जनाए।

वडाध्यक्ष थमबहादुर घर्तीले आफूहरू नयाँ जनप्रतिनिधिको आएको केहि समय मात्र भएकाले विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि अहोरात्र खट्न तयार रहेको बताए। ‘विद्यालयमा नयाँ भवन बनेको छ’ वडाध्यक्ष घर्तीले भने ‘अझै विद्यालयमा शौचालय र खेल मैदानको अभाव छ, त्यसमा पनि हामीले आवश्यक प्रक्रिया अघि बढाएका छौं।’

यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि महेश न्यौपानेले रून्टिगढी गाउँपालिकाभरि एउटा पनि नमूना विद्यालय नभएको भन्दै त्यस तर्फ अग्रसर हुन विद्यालयलाई आग्रह गरे। कार्यक्रममा विद्यालयको हालसम्मको अवस्था विगत र वर्तमान समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक झकुप्रसाद वलीले भौतिक पूर्वाधारको विकाससँगै प्रविधियुक्त दुनियामा प्रतिष्पर्धी विद्यार्थी उत्पादनमा अब विद्यालय लाग्ने बताए।

कार्यक्रममा विद्यालयलाई आर्थिक सहयोग गर्ने सहयोगीदाताहरू, विद्यालयलाई हालसम्म योगदान पुर्‍याएका पूर्वप्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाग्दल डाँगीले सम्मान पत्र प्रदान गरेका थिए।

दोस्रो दिन भएको विभिन्न खेलकुद प्रतियोगितामा खुल्ला हाजिरी जवाफमा प्रतियोगितामा प्रथम करिस्मा बाँठा, दिनेश घर्ती र माया वली, दोस्रो यामप्रसाद गिरि, गिरिराज पुन र जानकी गिरी, तेस्रो बुद्दिराम बिक, नर्मा पुन र हिरा बाँठाको टिम भएको थियो। एकल नृत्य तर्फ प्रथम बिबिशा कवर, दोस्रो गङ्गा वली, तेस्रो पबित्रा बाँठा भएका थिए।

यस्तै खुल्ला कुर्सी दौड प्रतियोगितामा प्रथम पबित्रा बाँठा, दोस्रो भुमासरी रोका, तेस्रो ओमप्रकाश गिरि भएका थिए। घैटाफोरमा सुशील सार्की, भाले छोपाईमा बुद्धिराम बिक, महिला रस्साकसीमा करिस्मा पुन, जयकुमारी पुन, कमला रोका र हिमा वलीको टिमले जितेको थियो। पुरूष रस्साकसीमा लिला बहादुर वली, देव बहादुर कवर, उपेन्द्र पुन लगाएतको समूह बिजेता भएको थियो।

प्रकाशित मिति: : 2023-02-27 08:05:00

प्रतिकृया दिनुहोस्