१३ औं साफ च्याम्पियनसिप

भारतलाई पराजित गर्दै इतिहास रच्ने दाउमा नेपाल

File Photo
File Photo

माल्दिभ्समा जारी १३ औं संस्करणको  साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ। राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन्। नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्। 

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो।

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो। नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो। त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ। तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ।

साफमा भारत सबैभन्दा सफल टिम हो। भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ। भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ।

साफअन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो। जहाँ भारतले नेपाललाई १-० ले हराएको थियो।

भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ। जसमा भारत पूर्णरुपमा हाबी छ।नेपालविरुद्ध भारतले १५ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ।

प्रकाशित मिति: : 2021-10-16 08:07:00

प्रतिकृया दिनुहोस्