ढिला गरी पुग्दा नामाकरणमा मतदान गर्न पाएनन् लिम्बू र बजगाईंले

प्रदेशसभाको दोस्रो कार्यकालको दुई महिनामै प्रदेश १ सरकारले नाम पाएको छ। बुधबार प्रदेशसभाका दुई तिहाइभन्दा बढी प्रदेशसभा सदस्यले प्रदेशको नाम कोसी पारित गरेका हुन्।

प्रदेशको नामाकरणका लागि बुधबार राति भएको मतदानमा कोसी प्रदेशको पक्षमा ८२ मत खस्दा विपक्षमा ४ मत खस्यो। प्रदेशसभाको बैठकमा सभामुखसहित ८७ जना उपस्थित थिए।

तर, अघिल्लो कार्यकालमा नाम राख्न नसकेर चौतर्फी आलोचना सहेको प्रदेशसभाले नाम टुंग्याउने दिन ६ जना प्रदेशसभा सदस्यहरु अनुपस्थित भए।

अनुपस्थित हुनेहरुमा नेपाली कांग्रेसका भीम पराजुली, खगेश्वरी पौडेल, खगेन सिंह हाङ्गाम (लिम्बु), नेकपा माओवादीका राजेन्द्र किराँती, जसपाकी निर्मला लिम्बु र राप्रपाकी सबिना बजगाई रहेका छन्।

तीमध्ये निर्मला र सविना प्रदेशसभामा उपस्थित भएर पनि मत विभाजन प्रक्रियामा सहभागी हुन् पाएनन्। उनीहरु निर्धारित समयभन्दा केही ढिला गरी पुेगपछि उनीहरुलाई सभामा प्रवेश गर्न दिइएको थिएन्। नामाकरण प्रस्तावको विषयमा भएको छलफलमा भने उनीहरु सहभागी भएका थिए।

सविना आमा बिरामी भएपछि बैठक बीचमै छाडेर गएकी थिइन्। ‘बैठक चलिरहेको समयमा एक्कासी आमा बिरामी पर्नुभयो भनेर फोन आयो,’ सविनाले भनिन्, ‘आमालाई अस्पताल लगेर ल्याउँदा ल्याउँदै ढिला भयो। आमालाई घर ल्याएर बैठकमा जाँदा ढोका बन्द भइसकेको थियो।’

सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोसी राख्ने प्रस्तावमा संशोधन दर्ताका निम्ति २ घण्टाका लागि बैठक स्थगित गरेपछि प्रदेश सरकारकी स्वास्थ्यमन्त्रीसमेत रहेकी निर्मला लिम्बू क्वाटर गएर फर्किँदा ढिलो भएको थियो।

अन्य चार सांसद भने बिहानैदेखि बैठकमा उपस्थित भएका थिएनन्। कांग्रेस सांसद भीम पराजुली भारत गएकाले आउन पाएनन्। अरु तीन जना व्यक्तिगत कारण देखाएर नआएको बताइएको छ।

प्रकाशित मिति: : 2023-03-02 10:43:00

प्रतिकृया दिनुहोस्