राजा फाल्न आएका रामचन्द्र बने गणतन्त्र नेपालकाे तेस्राे राष्ट्रपति 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका छन्। उनी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई १८ हजार २ सय ८४ मतभारले हराउँदै तेस्रो राष्ट्रपति बने। पौडेलले ३३ हजार ८०२ मतभार पाए भने नेम्वाङले १५ हजार ५१८ मतभार पाए।

पौडेलको राष्ट्राध्यक्षसम्मको यात्रा सहज छैन। पञ्च्यातका विरुद्धमा बोलेकै करण उनले १३ वर्ष जेल जीवन बिताए। पटक–पटक गरी १३ वर्ष जेल जीवन बिताएका उनी २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई राजा महेन्द्रले जेल हालेपछि राजनीतिमा होमिएका थिए।



नवनिर्वाचित राष्ट्रपतिकाे सपथ आइतबार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित



पञ्चायत शासनको विरुद्धमा १६ वर्षको उम्मेरमा राजनीतिमा लागेका पौडेल देशको उपप्रधानमन्त्रीसँगै सभामुख भएर जिम्मेवारी निभाइसकेका छन्। २००१ साल असोजमा तनहुँको रिस्ती बाहुनपोखरामा जन्मिएका उनी पञ्चायत शासन, राजतन्त्र फाल्दै ७८ वर्षको उम्मेरमा गणतन्त्रको राष्ट्रपति बनेका छन्।

पञ्चायतका विरुद्धमा २०१७ सालमा राजनीतिमा होमिएका पौडेल काँग्रेसले २०१८ मा सुरु गरेको सशस्त्र क्रान्तिमा सहभागी भए। उनी २०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता थिए। २०२३ मा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित भए। २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगका महासचिव निर्वाचित भएका पौडेल २०२७ मा नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य बने।

२०४० मा पार्टीको केन्द्रीय प्रचार समिति संयोजक, २०४४ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका उनी २०४८ सालदेखि संसदको यात्रा तय गरेका थिए। उनी ०४८ मा तनहुँ १ बाट निर्वाचित भएर पहिलो पटक सांसद बनेका थिए। उक्त समयमा उनी स्थानीय विकासमन्त्री र कृषिमन्त्री बने।



राष्ट्र्रपति चुनाव: भाेट हाल्ने क्रममा लडेर घाइते भए सांसद न्यौपाने

नवनिर्वाचित राष्ट्रपतिललाई कसले गराउँछ सपथग्रहण ?



२०५१ को मध्यावधि चुनावमा तनहुँ– २ बाटै निर्वाचित भएका पौडेल २०५१ पुसदेखि २०५५ चैतसम्म सभामुख बने। उनी २०५६ सालमा तनहुँ– २ बाट तेस्रो पटक निर्वाचित भए। २०५७ मा उपप्रधान, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले। २०५९ मा शान्तिमन्त्री बने। २०६२ सालमा कांग्रेस महामन्त्री पदमा पुगे।

माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालय संयोजक बनेका पौडेल २०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री, २०६४ सालमा कांग्रेस उपसभापति बनेका थिए। सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा उनी तनहुँ– २ बाट निर्वाचित भए। २०६५ सालमा कांग्रेस संसदीय दलको नेता बने।

उनले २०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ– २ बाट जिते। २०७२ मा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि उनी कार्यवाहक सभापति बनेका थिए। र, ०७९ को निर्वाचमा पौडेल तनहुँ– १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

जीवनमा धेरै पटक जितेका पौडेल प्रधानमन्त्री बन्ने सपना भने उनको कहिल्यै पूरा भएन। प्रधानमन्त्रीका लागि उनले गरेको संघर्ष सानो छैन। २०६७ सालमा प्रधानमन्त्री चयनका लागि भएको निर्वाचनमा १७ पटक उम्मेदवार भएर पौडेल १७ पटक पराजित भएका नेता हुन।

उक्त समयमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट झलनाथ खनाल उम्मेदवार थिए। तर, आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्री दौडबाट बाहिरिए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरेका थिए। निर्वाचनसम्बन्धी नियमावली परिवर्तन गरेपछि अर्को चरणमा खनालले बाजी मार्दै उनी प्रधानमन्त्रीमा विजयी भएका थिए।

प्रधानमन्त्रीमा १७ पटक उम्मेदवार भएर हारेको भनेर उनलाई प्रधानमन्त्रीमा १७ पटक हारेको नेता भनेर ब्याङ्ग्य गर्न थालिएको हो। तर, पौडेलले १७ पटक हारेको भनेर स्वीकार्दैनन्। हार्नका लागि कोही निर्वाचित हुनुपर्ने उनले तर्क गर्छन्।

१७ पटक प्रधानमन्त्रीमा हारेका पौडेलले १३औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पनि जित निकाल्न सकेनन्। उनी २०७४ को निर्वाचन तनहुँ– १ मा पनि हार बेहोरेका थिए।

पौडेल त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री पास गरेका छन्। अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरू प्रकाशित छन्।

उनका श्रीमती र पाँच सन्तान छन्।

प्रकाशित मिति: : 2023-03-09 20:30:00

प्रतिकृया दिनुहोस्