यस्ताे छ गुड बनाउने रैथाने तरिका (तस्बिरहरु)

उहिले-उहिले गुड कोसेली बोकेर आफन्त भेट्न जाने गरिन्थ्यो। अहिले त चाउचाउ, बिस्कुट, चक्लेट कोसेली बाेक्ने चलन छ। स्वास्थ्यका दृष्टिले चिनीभन्दा गुड वा सख्खर कयौं बढी गुणकारी हुन्छ तर बजारमा गुड होइन चिनी छ्यापछ्याप्ती पाउँछ। अझ स्थानीय रुपमै बनाएको गुड कहाँ पाउनु, त्यो पनि भारतबाटै आयातित मात्र पाउँछ।

चिनी जस्तै अन्य धेरै खाद्य वस्तु आयात गरेर नेपालको अर्थ तन्त्र धरासायी बन्दै गइरहेको छ। तर, यसरी नै स्वदेशमै बनाउन सकिने प्रविधि र प्रचलनको कुनै वास्ता या प्रवर्धन भएको छैन। हामीसँग यस्ता छुट्टै खालका कति प्रविधिहरु छन्, जुन अब लोप हुने क्रममा छन्।

पहिले घर घरमै उखु उब्जाउने र सख्खर पनि आफैं बनाउने गरिन्थ्यो। अझै पनि सुदूरपश्चिममा यो प्रचलन एकाध देख्न पाइन्छ। तर, धेरैले यो प्रविधि र पेसा छोडिसके। यो प्रविधिमा प्राविधिक कठिनाइ, बढी लगानी, नाफा कम, श्रम धेरै लाग्ने भएर होला हराउँदै गएको छ। यी र यस्ता प्रविधिमा अध्ययन अनुसन्धान गरेर कसरी कम लागत र बढी प्रतिफल ल्याउन सकिन्छ भन्नेतिर कसकाे ध्यान जाला ?

बझाङ जिल्लाको बुँगल नगरपालिका– ६ पिपलकोटका एक स्थानीयले गुड बनाउँदै गरेको अवलोकन गर्ने मौका जुर्‍याे। यहाँ विजुली बत्ति नभएकाले मानवीय श्रमकै प्रयोग गरेर उखुको रस निकालिन्छ। उखुबाट रस निकाल्न चार जना मानिस चाहिन्छ। दुई जनाले रस निकाल्ने मेसिन घुमाउने एक जनाले उखु घानमा राख्ने र एक जनाले निस्केको रस व्यवस्थापन गर्ने। फोटोमा देखाएको पकाउने भाँडा २२ लिटरको हो। यो भाँडाभरि रस पेल्न १.५ घण्टा समय लाग्छ। यो भाँडामा रहेको रस पकाएर पाँच लिटर बनाउनुपर्छ, जसलाई चार घण्टा समय लाग्छ। यसबाट २५ वटा गुडको डल्ला बनाउन सकिन्छ। स्थानीय बजारमा एक डल्लोलाई रु. ५० मा बिक्री गरिन्छ।

उखु उत्पादनदेखि प्रशाेधनसम्म कुनै पनि रसायन प्रयोग गरिँदैन। विशुद्ध प्राकृतिक तरिकाबाट गुड उत्पादन गरिन्छ। स्थानीय सिप, स्थानीय प्रविधि, स्थानीय श्रम र स्थानीय स्रोत साधनको उपयोग गर्ने हो भने कमसेकम थोरै मात्र पनि नेपालको व्यापार घाटा कम त होला।

विश्वव्यापिकरणसँगै हामीले आफ्नै देश र माटोको प्रविधिलाई लत्याइरहेका छौँ। हामी देश समृद्ध बनाउन चाहान्छौँ भने यी र यस्तै रैथाने प्रविधिको प्रयोग र प्रवर्धन गर्नु र आयातित वस्तुको न्यून उपयोग गर्नु अपरिहार्य भइसकेको छ।

प्रकाशित मिति: : 2023-03-11 00:01:00

प्रतिकृया दिनुहोस्