जुम्ला बहुमुखी क्याम्पसमा नेविसंघका महेश हमाल विजयी

File Photo
File Photo

जुम्ला बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संगठनका महेश हमाल विजयी भएका छन्। उनी एक सय ४२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका विष्णु बहादुर बुढाले एक सय ३९ मत ल्याए।  

त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका जयकृष्ण जैशी एक सय ४० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुकि अनिता नेपालीले एक सय ३६ मत ल्याइन्।

काेषाध्यक्षमा भने नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका मेघराज देवकोटा विजयी भए। उनले एक सय ५३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका धनराज  बुढाले एक सय ४३ मत ल्याए।

सदस्यहरुमा अखिल क्रान्तिकारीका राम प्रसाद बोहोरा एक सय ७३ मत, आर्विश कार्की एक सय ४८ र रण बहादुर रोकाया एक सय ४३ मत ल्याएर विजयी भए।

त्यस्तै सदस्यमा अनेरास्ववियुका इश्वर खत्री एक सय ५५ मत ल्याएर विजयी भए भने अनेरास्ववियूका विनाेद भण्डारी एक सय ३२ मत ल्याएर विजयी भए।

जुम्ला बहुमुखी क्याम्पस साबिककाे कर्णाली अञ्चलमा त्रिभुवन विश्वविद्यालयकाे एकमात्र आंगिक क्याम्पस हाे। विगत १४ वर्षदेखि निर्वाचन हुन नसकेको क्याम्पसमा यतिबेला निर्वाचन हुन सकेकाे थिएन।

देशका तीन ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादीका जनवर्गीय संगठनहरु नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी सहित राप्रपाकाे राप्रविसंघ, विप्लवकाे अखिल क्रान्तिकारी विप्लव, नेमकिपाकाे नेक्राविसंघले चुनावमा भाग लिएका थिए।

जुम्ला बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक र स्नातकोत्तर तह तथा व्यवस्थापन संकायकाे स्नातक तहमा अध्यापन भइरहेको छ।

कुल सात सय ८२ मतदाता रहेकाेमा पाँच सय २८ जनाले मात्रै परिचय पत्र लिएका थिए। ती मध्ये पाँच सय १३ मत खसेकाे निर्वाचन अधिकृत तथा उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले बताए।

‘निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको थियाे भने क्याम्पसकाे सम्पूर्ण संयन्त्र परिचालन गरिएकाे थियाे। जसले निर्वाचन निश्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित तवरबाट सम्पन्न गराउन सकियाे,’ उनले भने।

प्रत्यक्ष तर्फकाे निर्वाचन सकिएपनि समानुपातिक तर्फकाे मत गणना जारी रहेकाे छ।
 

प्रकाशित मिति: : 2023-03-20 08:43:00

प्रतिकृया दिनुहोस्