वर्षौंदेखि दबिएको कविता रहर, जब बन्दाबन्दीले खोलिदियो (भिडियो)

यो कस्तो प्रेम बसेछ तिमीसँग ? 
मैले मलाई नै बिर्सिएँ
जब सम्झिएँ तिमीलाई, म एकाएक मुस्कुराएँ
गदगद भएँ आफैंभित्र, छामेँ छाती सुनेँ त्यो रोकिनसक्नु धड्कनको बेग 
र मात्रै चाल पाएँ, एक दिल रहेछ म भित्र पनि।

हो, कविताका यी हरफमा कवि पिंकी बोहरा बाँचेकी छिन्। कञ्चनपुरकाे महेन्द्रनगरमा स्कुल जाँदा पिंकीले कवितालाई प्रेम गर्थिन्। कपिका पछिल्ला पानाहरुमा कविताका खेस्रा हुन्थे, जसलाई कवि स्वयम्ले मात्रै देखिन्। मनको कुनाबाट टिपेर फेरि कपिको कुनामा राखिन्, जस्तोकी कसैले नचोरी दियोस्। परिस्थितिले उनको कविता साहित्य मोहलाई मनमै राखिदियो। खेस्राहरु खेस्रा बनेरै बसे। मनभित्र बलिरहने साहित्य प्रेमको ज्वालाको उज्यालो मनभित्र नै बस्यो। र, उनी एसएलसीपछि व्यवस्थापन संकायमा भर्ना भइन्।

काेराेना महामारीपछि देशमा लकडाउन सुरु भयाे। उनी पनि एउटा कोठाका चार भित्ताका घेरामा अल्झिइन्। बन्द कोठाका भित्तामा आफ्नो मनका भित्तामा लेखिएका कविताहरु उद्वेलित भएर पोखिन थाले। बिस्तारै उनले फेरि कविता लेख्न थालिन्। तर, उनले कविता थन्क्याएर राखिनन्। सामाजिक सञ्जालमा पाेष्ट गर्न थालिन्। साथीहरूको सकारात्मक प्रतिक्रिया आउन थाल्यो। कवितामा भनेजस्तै उनले आफ्नाे कविता मोह सम्झिइन्, त्यसलाई सुम्सुमाइन्, खुसीले गदगद भइन। कविता लेख्दै गइन्। सामाजिक सञ्जालमा पाेष्ट गर्दै गइन्।

सपना पनि त जन्मिन्छ्न र मर्छन पनि
कति सपनाहरूको भ्रुण हत्या हुन्छ
कतिले श्वास छोड्छन शिशुमै 
कोही हुर्केर बाल्यकाल जवानी बाच्दैनन् 
जवानीमा मरेका सपना बिर्सिनै नसकिँदा रहेछन्
बुढा सपनाहरु कति उदेकलाक्दा हुन ?
जो बाँचेका मात्रै जिउन नपाएका 
कति सपनाहरु त सपनाका मलामी पनि जाँदा हुन
सपनाहरु पनि नमरी स्वर्ग जान नपाउँदा हुन कि ?
मरेपछि त मरिगयो, क्या स्वर्ग देख्खिनो हो
बाँच्या भने बरु अपि शैपाल उक्लिन सकिँदो हो

कविताका यी हरफसम्म आइपुग्दा पिंकीले आफूलाई एउटा कविको रुपमा परिचय बनाइसकेकी छिन्। कवितामा भनेजस्तै उनको कविता प्रेम अब बाँचिरहेछ। त्यो सपना मरेपछि सिंगाे बाँचेर मर्नेछ र स्वर्ग पुग्ने छ भनेर उनी विश्वास गर्छिन्। आफ्नो सपनालाई जन्माएर हुर्काउँदै, बचाउँदै पूर्ण जीवन दिँदै गर्दा उनी अहिले खुसी छिन्। उनले आफ्नो कविता यात्रालाई बिस्तार गर्नु र दि पोइट आइडलसम्म आउनु संयाेग मिल्याे। साथी-भाइको सुझाव र आफ्नो कविता प्रेमले पोइट आइडलमा भाग लिइन्। आफ्नो कविताका ती छाप छोड्दै आइडलको मञ्चबाट हजारौँ दर्शकको रोजाइमा परिन्। महेन्द्रनगरकी पिंकी बोहोरा अब ठुलाे जमातमा परिचित भइन।

अफसोच ! उनको त्यो यात्रा भोटिङ राउण्डको टप– १० मा गएर रोकियो। फेरि वाइल्ड कार्डबाट टप– ८ मा आएकी बोहराले भोटकै आधारमा फेरि आइडलको यात्रा टुंग्याउनु पर्‍याे। तर, उनी यो कविता यात्रामा फेरि कहिले नमर्ने प्राण भरेर कविता यात्रामा निस्किएकी छिन्। जस्तोसुकै परिस्थितिमा पनि कविता यात्रा नछाड्ने उनको अठोट छ। उनै कवि पिंकी बोहरासँग बिएल नेपाली सेवाका लागि रविन पुन मगर (आइडु)ले गरेकाे भिडियाे अन्तर्वार्ता प्रस्तुत छ—

भिडियो:

प्रकाशित मिति: : 2023-04-01 21:00:00

प्रतिकृया दिनुहोस्