कर्मचारी हित र कल्याणको प्रश्न

राजधानी दैनिक

लक्ष्मीविलास कोइराला

 निजामती कर्मचारी, समूल कर्मचारीतन्त्र अर्थात् निजामती सेवाका जीवित र आधारभूत तत्व हुन् । कुनै पनि संगठनमा कर्मचारीको व्यवस्थापन गर्दा अत्यन्त संवेदनशील हुनुपर्ने बताइन्छ । अन्तर्राष्ट्रिय श्रम संगठनले संगठनका कर्मचारीलाई संगठनभित्र वा बाहिर स्वस्थ र शान्तिपूर्ण वातावरणमा काम गर्नसक्ने र उनीहरूको स्वास्थ्य र नैतिकता उच्च राख्न सक्नेगरी सेवासुविधा र सहुलियत उपलब्ध गराउनुलाई कर्मचारीको हित र कल्याण मानेको छ । कर्मचारीको हित र कल्याणका लागि उपलब्ध हुनुपर्ने सेवासुविधा र सहुलियतमा आवास, स्वास्थ्य, पोषण र शिक्षा सुविधा, आराम र मनोरञ्जन, क्लब, बिदा, तलबी बिदा, निवृत्तिभरण, उपादान, सञ्चयकोष, बिमा, क्यान्टिनजस्ता विषय पर्छन् । वास्तवमा कर्मचारी हित र कल्याणका विषय कर्मचारीले नियमित रूपमा प्राप्त गर्ने तलब सुविधाका अतिरिक्त पाउने सुविधा र सहुलियत हुन् ।

कर्मचारीका लागि हित कल्याणको व्यवस्था किन चाहिन्छ भन्ने सन्दर्भमा मानिसको शारीरिक वा बौद्धिक श्रम उपयोगबाट मात्र वस्तु र सेवाको उत्पादन र वितरण हुन्छ । मानवीय मूल्य, मान्यता र आवश्यकता परिपूर्ति गर्नका लागि कर्मचारीका लागि विविध सेवा सुविधा र सहुलियतको आवश्यकता पर्छ । कर्मचारीलाई उपलब्ध गराइने सेवा सुविधाको मुख्य लक्ष्य भनेको मेधावी व्यक्तिहरूलाई सेवामा आकर्षित गरी कर्मचारीको उत्प्रेरणा, मनोवल उच्च राखी सेवाप्रति नम्र एवं इमानदार रहनु हो, गैरकानुनी र भ्रष्ट आचरण पैदा हुने अवस्था रोक्नु हो । यसकारण सेवा सुविधाले कर्मचारी वा कामदारको वास्तविक आवश्यकता सम्बोधन गर्न सक्नुपर्छ । कर्मचारीको सेवा सुविधा, हित र कल्याणका विषयलाई रोजगारदाताको दया वा कृपाबाट नभई कामदारको ‘हक’का रूपमा स्थापना गर्न आवश्यक हुन्छ । साथै, सेवा सुविधा निर्धारणको सम्बन्धमा लागत हिसाब गरी सो व्यहोर्ने उपयुक्त वित्तीय आधार तयार गर्न तथा सेवा सुविधाको समयसमयमा पुनरावलोकन गर्ने वातावरण पनि तयार गर्नुपर्छ ।

प्रकाशित मिति: : 2023-04-02 08:59:00

प्रतिकृया दिनुहोस्