कांग्रेसी कलहका कारण पाएन मन्त्रिपरिषदले पूर्णता

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौँ पटक मन्त्रिपरिषद विस्तार गरेको दुई हप्ता पुग्न लाग्यो। चैत १७ गते सातौँ पटक विस्तार गर्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका प्रचण्डले छ वटा मन्त्रालय आफैसँग राखेका छन्।

खानेपानी तथा सरसफाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र वन तथा वातावरण मन्त्रालय प्रचण्डले सम्हालिरहेका छन्। 

यी मन्त्रालयमा मन्त्री नहुँदा कामकाज प्रभावित भइरहेको छ। अन्य मन्त्रालयले सातौँ पटकसम्म मन्त्रिपरिषद विस्तार हुँदा मन्त्री पाएको भएपनि वन र खेलकुद मन्त्रालयले भने सरकार गठन भएको चार महिना पुग्न लाग्दासमेत मन्त्री पाउन सकेको छैन। पुस ११ गते पहिलो पटक सरकार गठन भएको थियो।

चैत १७ गते मन्त्रिपरिषद विस्तार गर्दा दुई–तीन दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने प्रधानमन्त्रीको दाबी थियो। तर छ दल समाहित सरकारमा काँग्रेसले मन्त्री बन्नेको नाम प्रधानमन्त्रीलाई नबुझाउँदा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।

गठबन्धनको भागबण्डामा काँग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय पाएको छ। पार्टीभित्र विवाद हुँदा अहिले चार जनालाई मात्र काँग्रेसले मन्त्री बनाएको छ। अझै चार जनाको नाम मन्त्रीका लागि सिफासिर गर्न सकेको छैन।

सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षबीचमा कुरा मिल्न नसक्दा काँग्रेसले चार जनाको नाम सिफारिस गर्न नसकेको हो। काइराला समूहले तीन वटा मन्त्रालय मागेको थियो। तर देउवा समूहले दुई मन्त्रालय मात्र दिन चाहेपछि शेखर पक्षले मन्त्री बन्नेको नाम नै पठाएको छैन। जसका कारण काँग्रेसले मन्त्री बन्ने थप चार जनाको नाम पठाउन नसकेको हो।

कतिपयले अहिले नै मन्त्री बन्नेको नाम पठाए वैशाख १० गते हुने उपनिर्वाचनमा असन्तुष्ट पक्षले असहयोग गर्ने अनुमानसहित काँग्रेस पक्षले मन्त्री बन्नेको नाम नपठाएको बताउने गर्छन्। पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पनि निर्वाचनअघि मन्त्रिपरिषद विस्तार हुन नसक्ने बताए।

सरकारको तयारी के छ?

प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारको ‘हनिमुन समय’ सकिएको छ। सरकार गठन भएको १०० दिनको समयलाई सरकारको हनिमुन समय वा सरकारले कसरी काम गर्छ भन्ने संकेत देखाउने पहिलो समय नै हनिमुन समय हो।

तर प्रचण्ड नेतृत्वको सरकारको १०० दिन आशा लाग्दो देखिएन। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड सरकार जोडघटाउकै दौडमा व्यस्त हुन पुगे। प्रधानमन्त्री नियुक्त हुँदा पहिले काँग्रेससँगको गठबन्धन तोड्दै एमाले कित्तामा उभिएका प्रचण्ड वैशाख २५ गते राष्ट्रपतिको निर्वाचनसँगै फेरि काँग्रेसको कित्तामा उभिए।

योबीचमा प्रचण्डले नै दुई पटक संसदबाट विश्वासको मत लिए र सातौँ पटक मन्त्रिपरिषद विस्तार गरे। सातौँ पटकको मन्त्रिपरिषद विस्तारमा पनि छ वटा मन्त्रालय आफैसँग राखेका उनले कहिले मन्त्रिपरिषदलाई पूर्णता दिन्छन् भन्ने अहिले पनि अन्याेल नै छ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको बताए। तर कहिले पूर्णता पाउने उनलाई पनि थाहा छैन। मल्लले भने, ‘मन्त्रिपरिषदलाई पूर्णता दिने गरी प्रधानमन्त्री तयारीमा हुनुहुन्छ। काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्नेको नाम नपठाएपछि ढिला भइरहेको छ।’

काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केसीले वैशाख १० गतेको उपनिर्वाचनअघि मन्त्रिपरिषद विस्तार नहुने बताए। ‘चुनाव आइरहेको छ। नेताहरु चुनावमै व्यस्त हुनुहुन्छ,’ उनले भने, ‘पार्टीभित्र पनि कुरा मिलिरहेको छैन। अब मन्त्रिपरिषद विस्तार चुनावअघि हुने देखिँदैन।’

प्रकाशित मिति: : 2023-04-11 18:21:00

प्रतिकृया दिनुहोस्