२०७९ लाई फर्केर हेर्दा: मनै झस्काउने ६ घटना

वि.स. २०७९ काे अन्त्यसँगै भाेलिबाट २०८० सालकाे आरम्भ हुँदैछ। २०७९ मा हत्या, आत्महत्या, आत्मदाह जस्ता घटनाहरू अत्यधिक भए। याे वर्ष देशमा कतै एकै परिवारका सबैजनाले एकसाथ मृत्युवरण गरे त कतै एउटै रूखमा तीन किशोरी झुन्डिए।

यसैगरी यही वर्ष इन्गेजमेन्ट गरिसकेकी युवतीले शरीरमा मट्टीतेल खन्याएर आफैँलाई जलाइन् भने कोही ऋण तिर्न नसकेर आत्महत्या गर्न बाध्य भए।

२०८० लाई स्वागत र २०७९ लाई बिदा गर्दैगर्दा आज हामी यो वर्षका केही प्रमुख घटनाहरु सम्झेका छाैँ। प्रस्तुत छ याे वर्षका केही प्रमुख घटनाहरू:

तारकेश्वरमा एकै परिवारका चार जना मृत फेला

गत साउन १६ गते काठमाडौंको तारकेश्वरस्थित काभ्रेस्थलीमा एकै परिवारका चार जनाकाे मृत अवस्थामा फेला परे। १६ गते सोमबार बिहान तारकेश्वर नगरपालिका–२ पदमसालमा एकतले घरमा एकै परिवारका बुबा, आमा, छोरा र छोरी मृत अवस्थामा भेटिएका थिए।

गोरखाको भिमसेनथापा–६ अश्राङ स्थायी घर भई तार्केश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिक मृत अवस्थामा फेला परेका थिए।

प्रहरीको अनुसन्धानअनुसार रोजगारीको सिलसिलामा १२ वर्ष कुवेत बसेर ४ वर्षअघि नेपाल फर्किएका मृतक दिनेशले घरायसी विषयमा विवाद चर्किँदा सुरुमा छोराछोरीसहित श्रीमतीको हत्या गरी ‘सुसाइट नोट’ लेख्दै आफूले पनि आत्महत्या गरेका थिए।

स्थानीयवासीका अनुसार श्रीमान–श्रीमतीबीच पहिलेदेखि नै झगडा हुने गरेको थियो। विवादकै क्रममा श्रीमानले घर बेच्न खोजेपछि विवाद उग्र बनेको थियो। घर बेच्ने कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिइ दिनेशले घर बेच्न १० लाख बैना गरेको र सोही घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको कुरामा विवाद चल्दा उग्र बनेपछि घटना घटेको प्रहरीले जनाएको थियाे।

इन्गेजमेन्ट टुटेपछि पुष्पा न्यौपानेद्वारा आत्मदाह

यसै वर्षकाे मंसिर १८ गते इन्गेजमेन्ट टुटेपछि पुष्पा न्यौपानेले आत्मदाह गरिन्। नुवाकोट पुर्ख्यौली घर भई काठमाडौँको बुद्दनगर बस्दै आएकी २७ वर्षीया न्यौपानेले धुम्बराहीस्थित प्रेमी सुधन संग्रौलाको घरअगाडि दिनदहाडै शरीरमा पेट्रोल खन्याएर आफैँलाई जलाएकी थिइन्।

काठमाडौंको दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुमकी सञ्चालक पुष्पाको विवाहका लागि गत भदौ १८ गते इन्जेगमेन्टसमेत गरिसकेकी थिइन्। तर, इन्गेजमेन्ट भएको केही समयमै खटपट सुरु भयो। अनि  कात्तिकमा केटा पक्षबाट जनै-सुपारी र दक्षिणा फिर्ता गर्दै इन्गेजमेन्ट तोडिएको घोषणा भएपछि पुष्पा विक्षप्त बनेकी थिइन्।

विवाहका लागि गरिएको इन्जेगमेन्ट टुटेपछि पुष्पाले केटाकाे घरमा गई आफैँलाई जलाएकी थिइन्। उक्त दिन आइतबार दिउँसो कपडा लिन गएकी पुष्ष साँझ जलेको अवस्थामा भेटिएकी थिइन्। तर सोमबार बिहान साढे ९ बजे उपचारको क्रममा उनको मृत्यु भएकाे थियाे। पुष्पाकाे परिवार आत्महत्या गर्न दुरुत्साहन मुद्धामा प्रहरीमा उजुरी दियाे। सोही मुद्धाको आधारमा संग्रौला अहिले जेलमा छन्।

एक जाेडी रूखमा एउटै पासो झुण्डिएको अवस्थामा फेला

गत माघ १० गते झापाको कचनकवल गाउँँपालिकामा एउटै पासो लगाई युवा-युवतीले झुन्डिएर आत्महत्या गरे। कचनकवल गाउँपालिका वडा नं ४ केचनाका २५ वर्षीया राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीले चियाबगानमा सिरिसको रुखमा एउटै डोरीको पासो लगाई आत्महत्या गरेका थिए।

उनीहरूले २०७८ साउन ११ मा भागी विवाह गरेका थिए। तर केटी नाबालक भएको भन्दै उनका अभिभावकले आफ्नो घर फर्काएका थिए। एकअर्कोकाे प्रेममा रहेका उनीहरुले विवाह गरेर पनि सँगै बस्न नपाएपछि एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका थिए।

प्रेमप्रसाद आचार्यद्वारा आत्मदाह

यस्तै गत माघ १० गते इलामकाे सूर्योदय गाउँपालिकाका प्रेमप्रसाद आचार्यले काठमाडौंको नायँबानेश्वरस्थित संसद भवनअघि शरीरमा पेट्रोल खन्याएर आफैँलाई आगो लगाए।

आफैँलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा एउटा लामो विवरण लेख्दै ‘आफू व्यवसायका कारण आर्थिक रूपमा डुबेको, त्यसका लागि सरकारी नीतिहरू दोषी रहेको र सोही कारणबाट आफूले मानसिक समस्या भोगेको र कुनै उपाय नदेखेपछि आत्मदाहको बाटो रोजेको’ उल्लेख गरेका थिए।

जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको कदम चाल्नुपरेको उनले लेखेको स्टाटसमा उल्लेख थियाे। आफूले पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारीमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्याबारे उनले उल्लेख गरेका थिए। आफू विद्यार्थी छँदा २०६७ सालमा ब्रेन टयुमर भएर बुबाको निधन भएको र त्यसपछि काठमाडाैँमा रहेर एउटा निजी विद्यालय र ठमेलका ट्राभल एजेन्सीमा काम गरेर गुजारा चलाउन थालेको उनले स्टाटसमा लेखेका थिए।

इलाममा रहेको पुर्ख्यौली घर बेचेर काठमाडाैँको बूढानीलकण्ठमा घर बनाएको तर ट्राभल एजेन्सीमा उधारो कारोबार धेरै हुँदा आफूलाई ऋणमाथि ऋण लागेको आचार्यले बताएका थिए। सरकार, बिचौलिया र ठूलो व्यवसायीले आफूजस्तै केही गर्न खोज्नेलाई हतोत्साहित गर्ने गरेको उनले उल्लेख गरेका थिए।

तनाव र समस्याकै कारण यसअघि पनि आफूले आत्महत्याको प्रयास गरेको उल्लेख गरे। आत्मदाहकाे प्रयास गरेकाे भाेलिपल्ट गत माघ ११ गते बिहान ५ बजे उनकाे निधन भएकाे थियाे।

श्रीमतीको हत्या गरी टाउको बोकेर प्रहरीकहाँ

यसै वर्षकाे मंसिर २० गते सुर्खेतको पञ्चपुरी–३ तोक्माका अमरबहादुर आले मगर श्रीमतीको हत्या गरी टाउको बोकेर प्रहरी कार्यालय पुगेका थिए। ३० वर्षीया श्रीमती मीना आले मगरलाई हँसियाले घाँटीमा प्रहार गरी टाउको प्लास्टिकको झाेलामा बोकेर प्रहरीकहाँ जाँदै गरेको अवस्थामा अमर पक्राउ परेका थिए।

उनी वैदेशिक रोजगारीको सिलसिलामा ६ वर्ष दुबई, ३ वर्ष मलेसिया र भारतमा ४-५ महिना बसेर फर्किएका थिए। वैदेशिक रोजगारबाट कमाएर श्रीमतीलाई पठाएको रकम सकाएको भन्दै उनीहरूबीच झगडा हुने गरेको र फेसबुकमा पनि धेरै समय बिताउने गरेको कारणले शंका पैदा भएकाले हत्या गरेको अमरले स्वीकार गरेका थिए।

एउटै रूखमा झुन्डिएको अवस्थामा भेटिए तीन किशोरी

गत साउनमा झापामा एउटै रुखमा तीन जना किशोरी झुन्डिएको अवस्थामा फेला परे। कचनकवल गाउँपालिकाका उनीहरू अघिल्लो दिन घुम्न भन्दै घरबाट निस्किएका थिए। तर भोलिपल्ट तीनै जना एउटै रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए।

उनीहरूमध्ये दुई जनाले डोरीको पासो र एक जनाले सलको पासो लगाएर झुन्डिएका थिए। उनीहरू तीनै जना झापाको चिया बगानमा काम गर्दै आएका थिए।

प्रकाशित मिति: : 2023-04-13 18:50:00

प्रतिकृया दिनुहोस्