स्थानीय तह निर्वाचन

शहरका नेता धमाधम गाउँमा, रुष्ट कार्यकर्तालाई पार्टीमा भित्र्याउन हानथाप

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीको प्रचार–प्रचार गर्न केन्द्रीय नेताहरु गाउँ–गाउँ पुग्न थालेका छन्।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) लगायतका दलहरुले चुनावी प्रचारप्रसार अभियान तीव्र पारेका छन्।

दाङमा पनि चुनावको प्रचारप्रसार कार्यक्रम हुन थालिसकेको छ। पार्टीका केन्द्रीय तहका नेताहरु गाउँ-गाउँ पुग्न थालेका छन्।

पार्टीको गतिविधि बढाउँदै पार्टी छाड्ने र पार्टी प्रवेश कार्यक्रमले फेरि चर्चा पाउन थालेको छ। जसले चुनावी माहोल बढाइरहेको छ। चिया पसलदेखि ठूला सभा-समारोहमा चुनावकै चर्चा हुने गरेको छ।

काँग्रेस दाङले ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान नै सञ्चालन गरेको छ। उक्त अभियानका लागि वडा प्रतिनिधिसमेत खटाइएको छ। काँग्रेस क्षेत्र नं २ ले केन्द्रीय नीति अनुसार वडा-वडामा प्रतिनिधि खटाइसकेको छ।

चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेस प्रवक्ता डा. प्रकाशसरण महत दाङमा आइसकेका छन्। उनी काँग्रेस तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तरगत सम्मान तथा भेटघाट कार्यक्रममा आएका हुन्।

यस्तै काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेय, दाङ घर भएका काँग्रेका केन्द्रीय सदस्य दिपक गिरी लगायतले काँग्रेसको चुनावी प्रचार प्रसारलाई सम्बोधन गरिसकेका छन्।

चुनाव लक्षित कार्यक्रम सुरु गरेको र चुनाव लक्षित दर्जन बढी कार्यक्रम गरिँदै आएको काँग्रेस दाङका सचिव अर्जुन योगीले बताए। जसअन्तर्गत विशेष गरेर एमसीसीको सही र गलतका बारेमा परेको भ्रम चिर्ने काम भइरहेको बताए।

यस्तै माओवादी केन्द्रले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ। माओवादीले पालिका–पालिकामा चुनाव लक्षित प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख कृष्ण बहादुर महरा, वरिष्ठ केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेखा शर्मालगायत दाङमा भएको प्रशिक्षण कार्यक्रममा सहभागी भइसकेका छन्।

पालिका स्तरीय प्रशिक्षण कार्यक्रम दाङ माओवादीले शनिबार (हिजो) मात्र सम्मपन्न गरेको छ। जिल्लाका १० वटै पालिकामा प्रशिक्षण कार्यक्रम गरिएको नेकपा माओवादी केन्द्र दाङका संयोजक तुलसीराम पुन (सुवास)ले बताए।

नेकपा एकीकृत समाजवादी दाङले पनि चुनाव लक्षित कार्यक्रम गरिरहेको छ। चैत १० गते बिहीबार बसेको तेस्रो पूर्ण बैठकले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार दाङमा पनि १५ दिने चुनाव विषेश कार्यक्रमलाई तीव्र बनाउने निर्णय गरेको थियो।

नेकपा एमाल दाङले पनि गाउँ–गाउँमा चुनावी अभियानलाई तीव्र बनाएको छ। एमालेका पोलिटब्यूराे सदस्य तथा दाङ जिल्ला ईचार्ज नरुलाल चौधरीसहित केन्द्रीय तथा प्रदेशका नेताहरुसहित अभियानलाई तिब्रै बनाइएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले बताए। उनले गाउँ-गाउँमा कमिटी गठनलगायत आफ्नो चुनावी नाराका बारेमा जानकारी दिँदै आएको बताए।

फेरि पार्टी प्रवेश कार्यक्रमको चर्चा

फेरि पार्टी प्रवेश कार्यक्रमले चर्चा पाउन थालेको छ। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रममा सयौँको संख्यामा पार्टीमा प्रवेश गरेको भन्ने खबर सार्वजनिक हुन थालेको छ।

सबै राजनीतिक पार्टीले आफ्नो पार्टीमा जनलहर भएको र अन्य पार्टीबाट आएको दाबी गर्दै आएका छन्। विशेष गरेर दाङमा माओवादी केन्द्रका प्रवक्ता एवम् पूर्व सभामुख महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेको विषयको चर्चा छ।

गएको बिहीबार माओवादी त्याग गरेका शर्मालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए। उनीसँगै उनकी श्रीमती सीता चौधरी पनि एमालेमा प्रवेश गरेकी थिइन्।

शर्मा माओवादीको घोराही उपमहानगरपालिका अध्यक्ष पनि थिए। उनकी श्रीमती चौधरी यसअघि घोराही उपमहानगरमा माओवादीको तर्फबाट उपमेयर पदमा पराजित भएकी थिइन्।

पार्टीमा भागवण्डाका विषयमा असन्तुष्ट जनाउँदै एमालेमा प्रवेश गरेका हुन्। शर्मा एमालेमा प्रवेश गरेको विषयलाई लिएर दाङमा विभिन्न टिकाटिप्पणी हुने गरेको छ।

एक थरिले माओवादीलाई ठूलो धक्का लागेको बताउने गरेका छन्। भने अर्को थरिले पार्टीमा असन्तुष्टि भएपनि एमालेमा प्रवेश गर्न नहुने भन्दै एमालेमा प्रवेश गरेर शर्मा दम्पतीले आफ्नो राजनीति धरापमा राखेको टिप्पनी गर्ने गर्छन्।

दाङमा पार्टीमा पार्टी छाडेर अर्को पार्टीमा प्रवेश गर्ने शर्मा दम्पतीको मात्र होइनन्। गाउँ-गाउँमा आफ्नो पार्टीमा प्रवेश गर्नेको जमात रहेको आ-आफ्नो पार्टी दाबी गर्छन्।

नेकपा एमाले दाङका सचिव बुढाथोकीले पछिल्लो एक हप्ता मात्र दाङमा एक हजार बढी नेता कार्यकर्ता अन्य पार्टी छाडेर आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गर्छन्। उनले माओवादीको आधार ईलाका मानिने बंगलाचुली गाउँपालिकामा मात्र पछिल्लो समयमा उक्त संख्यामा आफ्नो पार्टीमा प्रवेश गरेको बताए।

तर माओवादी केन्द्रका दाङ जिल्ला संयोजक पुनले भने बंगलाचुलीमा माओवादी पार्टी छाडेर कोही पनि अन्य पार्टीमा नगएको दाबी गर्छन्।

उनले भने, ‘पार्टीको कार्यक्रममा आएका सबैलाई आफ्नो पार्टीमा प्रवेश गरेको भनेर हुन्छ र ? हुँदैन नि। बंगलाचुलीमा माओवादी छाडेर कोही पनि अन्य पार्टीमा गएका छैनन्।’

पुनले बरु अन्य पार्टी छाडेर माओवादीमा आउने जमात रहेको दाबी गर्छन्। गाउँ-गाउँमा पार्टी प्रशिक्षण तथा पार्टी प्रवेशको कार्यक्रम भएको भन्दै उनले अन्य पार्टी छाडेर पछिल्लो एक हप्तामा करिब ५०० बढी माओवादीमा आएको बताए।

त्यस्तै काँग्रेस पार्टीमा प्रवेश गर्नेको पनि समाचार सार्वजनिक हुँदै आएको छ। जिल्ला सचिव योगीले काँग्रेसमा थुप्रै अन्य पार्टीबाट आएको बताउँछन्। उनले पछिल्लो एक महिनामा काँग्रेसमा ७ हजार बढी प्रवेश गरेको दाबी गर्छन्।

प्रकाशित मिति: : 2022-03-27 18:28:00

प्रतिकृया दिनुहोस्