मुख्यमन्त्री कार्कीको आग्रह- सबै मिलेर पाँच वर्ष सरकार चलाउँ

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा सहभागी सबै राजनीतिक दलहरुलाई आफू नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

मंगलबार ‘कोशी प्रदेश सरकारको एक सय दिने कार्य उपलब्धि विवरण’ सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सर्वदलीय सरकार बनाउन आह्वान गरेका हुन्।

कोशी प्रदेश सरकारमा हाल चार दलको सरकार छ। नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजबादी पार्टी सरकारमा सहभागी छन् भने प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली काँग्रेस र पाँचौ दल नेकपा (एकीकृत समाजवादी) सरकार बाहिर छ।

एमाले, माओवादी, राप्रपा र जसपाका ६० जनाको समर्थनमा कार्की गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मंगलबार उनले सरकारले नेतृत्व गरेको एक सय दिन पुरा भएको छ।

प्रदेशसभामा सहभागी ६ वटै राजनीतिक दल मिलेर पाँच वर्ष सरकार चलाउन उनले आग्रह गरेका छन्। मुख्यमन्त्री कार्कीले भने, ‘म आह्वान गर्न चाहान्छु, सबै मिलेर पाँच वर्ष सरकार चलाउ र नेपाली जनतालाई सन्देश दिउँ।’

बहुदलीय प्रतिस्पर्धात्मक र वेस्ट मिनिस्टर प्रणालीमा बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष चाहिन्छ भन्ने मान्यता रहेपनि त्यो मान्यता श्राद्धा गर्दा विरालो बाँध्नुपर्ने मान्यता जस्तो मात्र भएको दृष्टान्त प्रस्तुत गर्दै यो कुनै कानुनी र संवैधानिक बाध्यता नभएको उनले स्पष्ट पारे।

मुख्यमन्त्री कार्कीले जहिलेसम्म बहुमत आउँदैन तव सम्म दलहरु सँगै मिलेर जाने संस्कृतिको विकास गर्न पनि अनुरोध गरे। २०७९ मङ्सिर ४ गतेको निर्वाचनको परिणामपछि सङ्केत मुलुकमा राजनीतिक स्थायित्वको सम्भावाना नदेखिएको भन्दै कार्कीले राजनीतिक पार्टीको केन्द्रीय नेतृतवमा समिकरण परिवर्तन भएको र कोशी प्रदेश बाहेक कुनै पनि प्रदेश सरकारले सय दिन व्यतित गर्ने मौका नपाएको बताए।

कोशी प्रदेशको सरकारको भविष्य पनि के हुन्छ भनेर विभिन्न अड्कलवाजीहरु भइरहेको स्मरण गराउँदै उनले कोशी प्रदेशमा भने सरकारमा सहभागि दलहरु एकमतका साथ अघि बढिरहेको दाबी गरेका छन्।

प्रकाशित मिति: : 2023-04-18 17:57:00

प्रतिकृया दिनुहोस्