साझा यातायात

कराेडाैँ खर्चिएका साझाका ३७ वटा विजुली बस स्टेसनमै थन्किए

उमेश थापा

काठमाडौं

साझा यातायात प्रा.लि.ले चिनियाँ कम्पनी (सिएचटिसी)सँग खरिद गरेको विद्युतीय बस दुई महिनादेखि थन्किएका छन। प्रतिबस डेढ करोड रुपैयाँ लागतमा खरिद गरेको साझाका विद्युतीय बस अलपत्र परेका हुन। ४० वटा विद्युतीय बस खरिद गरेको साझाले तीन वटा मात्रै सञ्चालनमा ल्याएको छ।

बाँकी ३७ वटामध्ये भक्तपुरको राधेराधेमा १७ र बनेपामा २० वटा पार्किङ गरेर राखिएको छ। यता, साझाका महाप्रबन्धक महेन्द्रराज पाण्डेले हालसम्म पनि गाडीको चेक/जाँच नै भइरहेको जानकारी दिए।

बिजुली बस चेक गर्ने जिम्मा पाएको दिगो कम्पनीले गाडीको पूरै परीक्षण गरेपछि मात्र साझाको हातमा आउने उनको भनाइ छ। ‘अहिलेसम्म गाडीको निरीक्षण नै भइरहेको छ। पूरै चेक/जाँच भएर साझाको मातहतमा आएपछि सञ्चालन गरिन्छ’, उनले भने।

तर, निरीक्षण भएर गाडी कहिले सञ्चालनमा आउँछ ? यसको टुंगो भने छैन। साझामै काम गर्ने अर्को एक कर्मचारीले चार्जिङ स्टेशनको अभावका कारण विद्युतीय बस सञ्चालनमा आउन नसकेको बताए।

३७ बससँगै साझाले २० वटा चार्जर पनि खरिद गरेको थियो। तर, जडान गर्नका लागि उपयुक्त ठाँउ नपाँउदा ती चार्जरहरु प्रयोगविहीन बनेका छन। साझाले केन्द्रीय कार्यालय, पुल्चोकमा दुई वटा चार्जर जडान गरेको छ।

साझाका सबै बस सञ्चालनमा ल्याउन चार्जिङ स्टेशनको व्यवस्थापन गरिनुपर्ने ती कर्मचारीको भनाइ छ। झण्डै ५६ करोडमा खरिद गरिएको सवारी साधन थन्काउँदा सर्वसाधारणहरु आक्रोशित बनेका छन।

राधेराधेका स्थायी बासिन्दा उमेश मैनाली भने,‘बस ल्याएको महिनौं बितिसकेको छ। यही थन्काउँदा थन्काउँदै पूरानो भइसक्यो। यो गाडी पनि चलाउने भन्दाभन्दै वर्षौं बित्छ जस्तो।’

सर्वसाधारणलाई गाडी नहुँदा सास्ती, सुविधा सम्पन्न बस थन्किए

काठमाडौँ उपत्यकामा रातको समयमा बस नपाँउदा सर्वसाधारणले एकदमै हैरानी खेप्नुपरेको छ। जनसंख्यालाई धान्ने सवारी साधन काठमाडौंका सडकमा छैनन। गाडी नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्, यात्रु।

तर, सरकारले त्यत्रो लगानी गरेर ल्याएको विद्युतीय बस थन्किएको छ। गाडी ल्याउने र विभिन्न बहाना बनाएर थन्काउने प्रवृत्तिले सरकारको लगानी वालुवामा पानी मिसाएझैं भएको जानकारहरुको बुझाइ छ।

थोत्रा सवारी साधनमा यात्रुहरुले यात्रा गरिरहँदा सुविधासम्पन्न बस धुलैधुलो भएर बसेको छ। वातावरण तथा यात्रुको सहजतालाई मध्यनजर गर्दै ल्याइएको गाडी चौरमै थन्किएको देख्दा आम नागरिकहरु झनक्क तातिनु स्वाभाविकै पनि हो।

कुन रुटमा चल्छन् तीन वटा बस ?

साझाले गत असारदेखि सञ्चालन गरेको तीन वटा विद्युतीय बस हाल दुई रुटमा गुडिरहेको छ। ब्याट्रीबाट चल्ने आठ दशमलव पाँच मिटर लम्बाइको बस चीनको नान्जिङ शहरमा रहेको ‘सीएचटीसी’ कम्पनीको उत्पादन हो।

हाल एउटा बस लगनखेल–जावलाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानीलकण्ठसम्म गुड्छ। त्यस्तै, अर्को दुई बस माछापोखरी–बालाजु–सोह्रखुट्टे–पूरानो बसपार्क–माइतीघर–नयाँ बानेश्वर–सिनामंगल–तीनकुने हुँदै एयरपोर्ट रुटमा चल्छन्।

साझाले अहिले ल्याएको बस १२ मिटर लम्बाइको छ। अपांगमैत्री बसभित्र सिसिक्यामरा, डिस्प्ले बोर्ड, सिट बेल्टलगायतको सुविधा छ। त्यस्तै, बसमा दुई वटा ढोका रहेका छन।

४२ सिट भएको यो बस एकचोटी चार्ज गरेपछि दुई सय किलोमिटर गुड्छ। सबै बस सञ्चालनमा आँउदा यात्रुहरुलाई निकै सहज हुने देखिन्छ।

के भन्छ यातायात मन्त्रालय ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले हालसम्म पनि परीक्षणकै कार्य भइरहेको बताए।

‘करिब १५ दिनअघि मन्त्रालयले सोध्दा ईन्जिनियरले परीक्षण गरिरहेका छन् भन्ने जवाफ आएको थियो। हामीले फटाफट परीक्षण गरेर सञ्चालनमा ल्याउन निर्देशन दिइसकेका छौं’, उनले भने,‘त्योभन्दा अरु त्यस्तो कुनै जानकारी आएको छैन्।’

सरकारले २०८६ सालसम्म नेपालमा इन्धनबाट चल्ने सवारी साधन विस्थापन गर्ने घोषणा गरिसकेको छ। यातायात क्षेत्रमा निजी क्षेत्रले धेरै हिस्सा ओगटेको हुनाले सरकारले आफ्नो लगानीमा बस भित्राउन लागेको हो।

विद्युतीय बस खरिद गर्न सरकारले २०७६ साउनमा साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रुपैयाँ निष्काशन गरेको थियो। लगानी आउनासाथ साझाको विशेषज्ञ टोलीले काम सुरु गर्‍याे।

तर, २८ दिन नबित्दै मन्त्रालयले सबै काम रोक्न निर्देशन दियो। त्यसको डेढ वर्षपछि अर्थात् २०७७ फागुनमा खरिद प्रक्रिया अघि बढेको थियो। सरकारले तीन सय वटा बस खरिद गर्ने योजना बनाएको थियो।

त्यसअनुरुप पहिलो चरणमा तीन अर्बबाट करिब १५० वटा खरिद अघि बढाइएको थियो। हालका लागि ४० वटा बस नेपाल भित्राइएको छ भने बाँकी चरणबद्ध रुपमा ल्याउने साझाले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2023-02-07 21:50:00

प्रतिकृया दिनुहोस्