राष्ट्रिय झण्डामुनि असुरक्षित मिटरब्याज पीडित

हात भाँचिएको छ। भाँचिएको हातमा बाहिरैबाट हेर्दा देखिन्छ, प्लास्टर गरिएको र पट्टी बाँधिएको। ७० वर्षीय रामकवल चमारको देब्रे हातको अवस्था हो यो। मंगलबार काठमाडाैँकाे शान्तिबाटीमा करिब दिउँसो ११ बजेको तातो घाममा बसेर आफ्ना पीडा सुनाउँदै उनले भने, ‘मेरो हात प्रहरीले लठ्ठीले हानेर भाँचिदियो।’

रामकवलले आफ्नो पीडा सुनाइरहँदा दिउँसोको तातो हावाले शान्तिबाटीकाे अग्लो खम्बामा राखिएको नेपालको त्रिकोणात्मक झण्डा फरफराइरहेको थियो। झण्डा नियाल्दा शान्तिबाटीकाले शान्तिको सन्देश दिइरहेको महसुस हुन्थ्यो। लाग्थ्यो सुरक्षित ठाउँ त यही हो। र, शान्तिबाटीकामा रहेका मन्दिरहरुले थप शान्तिको कामना गरेझै लाग्थ्यो।

तर, यही शान्तिबाटीका सोमबार शान्त रहन सकेन। अशान्ति भयो, मिटरब्याज पीडितहरुको रगत बग्यो। आश्रयस्थल (पालभित्र)मा बसिरहेका पीडित असुरक्षित भए। ७०/८० वर्षका जेष्ठ नागरिकदेखि महिलाहरुले सुरक्षित ठाउँ खोज्दै शान्तिबाटीका छाड्नपर्‍यो। गाउँमा मिटरब्याज साहुले शान्तसँग बस्न नदिएपछि काठमाडौंमा न्याय खोज्दै आएका मिटरब्याज पीडितहरुको टाउकामा लठ्ठी बर्सियो।

सोमबार दिउँसो १ बजे शान्तिबाटीकाबाट मार्चपास गर्दै दरबारमार्ग, हात्तिसारबाट पुतली सडक हुँदै पीडितहरु भद्रकालिमा पुगेर धर्ना दिने तयारीमा थिए। तर, प्रहरीले माथिको आदेश भन्दै उनीहरुलाई मार्चपास गर्न दिएन। त्यसपछि प्रहरी र मिटरब्याज पीडितबीच झडप भयो। प्रहरीले मिटरब्याज पीडितमाथि अश्रुग्यास र पानीको फोहोरा बर्सायो। पीडितहरु प्रहरीले आश्रय लिइरहेको शान्तिबाटीकाको पालभित्रै पसेर कुटपिट गरेको गुनासो गर्छन।

७० वर्षीय रामकवल धर्नामा जाने कुनै योजनामा थिएनन्। उनी पालभित्रै बसिरहेका थिए। बाहिरबाट प्रहरी आएर पालभित्रै लठ्ठी वर्षाउन थाले। रामकवलले मंगलबार दिउँसोको घाममा बसेर आफ्नो पीडा सुनाउँदै भने, ‘म पालभित्रै बसिरहेको थिए। प्रहरी आएर गाली गरे। लठ्ठीले हिर्काए। मेरो हात भाँचिदिए।’

०००

नेपालको झण्डा फरफराइरहेको थियो। घामको ताप बढिरहेको थियो। रगतको धुमलिएको टाटासहितको सेतो सर्ट लगाएका हर्षबहादुर विक शान्तिबाटीकामा अशान्तिको पीडा सुनाइरहेका थिए। ‘गाउँमा साहुले बस्न दिएनन्, न्याय खोज्दै यहाँ (काठमाडौं) आएका हौँ,’ उनले भने, ‘यहाँ राज्य पनि दमन गरेको छ। हामीमाथि कुटपिट भएको छ।’

सोमबार प्रहरीले लठ्ठीले टाउकोमा हान्दा उनी रगताम्य भएका थिए। हर्षबहादुर भन्छन्, ‘ठिकै छ प्रहरीसँग पहुँच छ र हामीमाथि लठ्ठी बर्षाइएको छ। राज्यले जे गरे पनि हामी राज्यसँग भाग्नेवाला छैनौँ। हाम्रो माग पूरा नभएसम्म यहाँबाट घर जाने छौनौँ।’

०००

टाउकोमा पट्टी बाँधेर शान्तिबाटीकाबाट आफ्नो पीडा सुनाउनेमा यामकुमारी ददेल पनि छिन्। सोमबार प्रहरीको लठ्ठीले उनी गम्भीर घाइते भइन। टाउकोमा लठ्ठी प्रहार हुँदा रगताम्य भइन। तर, प्रहरीले उपचार गर्न अस्पताल लैजानुको साटो गिरफ्तार गरेर प्रहरी चौकी पुर्‍यो। गिरफ्तारी गरेपछि पनि प्रहरीले आफूमाथि कुटपिट गरेको उनले बताइन्।

शान्तिपूर्ण आन्दोलन गरिरहेका पीडितहरुमाथि ताकिताकी टाउकोमा लठ्ठी किन वर्षाइयो ? यामकुमारीले गृहमन्त्रालयसँग प्रश्न गरिन। उनी भन्छिन्, ‘हामीलाई कब्जामा लिएर कुटिएको गरिएको छ। रगताम्य भएकालाई उपचार गर्न अस्पताल नलगेर प्रहरी चौकी–चौकी डुलाइएको छ। प्रहरीको यो दमन र हामी माथि गरिएको व्यवहार निन्दनीय छ। मानव अधिकार विरोधी छ।’

मिटरब्याज साहुले घरमा बस्न नदिएको भन्दै चैत २० गतेदेखि न्याय माग्दै नवलपसारी, सिराह, सप्तरी, धनुषालगायत २४ जिल्लाका मिटरब्याज पीडितहरु काठमाडौंमा छन्। सोमबार प्रहरी र मिटरब्याज पीडितबीच झडप हुँदा ४५ जना मिटरब्याज पीडित घाइते भएको मिटरब्याजविरुद्ध संघर्ष समितिका अध्यक्ष मनोजकुमार पासवानले बताए।

शान्तिपूर्ण आन्दोलन गर्न नदिएर प्रहरीले दमन गरेको उनको भनाइ छ। ‘हामीलाई शान्तिपूर्ण आन्दोलन गर्दा पनि दमन गरियो। यो कस्तो सरकार हो ?’ पासवानले भने, ‘आन्दोलन गर्न नदिने, अस्थायी रुपमा आश्रय लिइरहेको पीडितहरुलाई पालभित्रै कुटपिट गर्ने कसको आदेश हो ?’ उनले आफ्ना माग पूरा नभए घर नफर्कन बताए।

मिटरब्याजविरुद्ध संघर्ष समतिले ६ बुँदे माग राखेर आन्दोलन गरिरहेको छ। चैत ३० गते सरकार र मिटरब्याज पीडितको वार्ता भङ्ग भएको थियो। सरकारले माग पूरा गर्ने प्रयास नगरेको भन्दै मिटरब्याजविरुद्धको संघर्ष समितिले पाँच पटक भएको वार्ता भङ्ग गर्दै सडक आन्दोलन गर्ने चेतावनी दिएको थियो।

बृहत् नागकिर आन्दोलनको साथ

मिटरब्याज पीडितलाई बृहत् नागरिक आन्दोलनले साथ दिएको छ। सोमबार मार्च पासको तयारी गरेका मिटरब्याज पीडितलाई प्रहरीले रोकपछि बुधबार बृहत नागरिक आन्दोलनको ब्यानरमा मार्च पास गरिएको छ।

नागरिक अगुवाहरुले नागरिकलाई दमन गर्न नपाइने बताएका छन्। बुधबार पीडितसहित बृहत् नागरिक आन्दोलनको मार्चपास शान्तिबाटिकाबाट बानेश्वरसम्म पुगेको थियो।

यसअघि मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले मिटरब्याज पीडितमाथि भएको प्रहरी दमनकाविरुद्धमा आफ्नो ध्यानाकर्षण भएको बताएको थियो। प्रेस विज्ञप्ति जारी गर्दै पीडितमाथि धरपकड भएको, उनीहरु बसेको ठाउँका सामान लगिएको पाइएको भन्दै आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो।

प्रकाशित मिति: : 2023-04-19 21:40:00

प्रतिकृया दिनुहोस्