चाहेर पनि पाइँदैन गर्भपतन सेवा, कानुनी अड्चनले समस्या बढ्दो

दाङकी २१ वर्षीया प्रतिक्षा (परिवर्तित नाम)को रजस्वला (महिनावारी) नभएको पाँच महिना भएको थियो। महिना दिनमा हुने रजस्वला नियमित नहुँदा उनी चिन्तित बन्दै गएकी थिइन्।

प्रतिक्षा अविवाहित हुन। दुई–तीन महिनासम्म रजस्वला नहुँदा स्वास्थ्यमा समस्या आएको हो कि भन्ने लागेको थियो। तर, उनी त्यसलाई ठुलो समस्याका रुपमा नलिएर जाँच गर्न कतै गइनन्।

दिनहरु बित्दै जाँदा उनलाई असहज हुन थाल्यो। एलएलसीसम्म पढेकी प्रतिक्षालाई पेट फुल्न थालेको महसुस भयो। त्यसपछि उनी झस्किइन्। अविवाहित उनी त्यसमा पनि पेटमा गर्भ रहेको थाहा भएपछि चिन्तामा पर्ने थालिन।

किनभने, उनका प्रेमी नवराज (परिवर्तीत नाम) गाउँमा थिएनन्। उनी विदेश थिए। एकदिन प्रतिक्षाले नवराजलाई पेटमा गर्भ रहेकोबारे जानकारी गराइन। विवाह गर्नका लागि घरमा आउन पनि भनिन्।

तर, नवराजलाई घर फर्कन सहज थिएन। तीन वर्षका लागि गएका नवराजको विदेश बसाइँ मात्र चार महिना भएको थियो। घर फर्कन सम्भव नभएपछि नवराजले प्रतिक्षालाई गर्भपतन गर्न सल्लाह दिए।

नवराजको सल्लाहपछि उनी मान्यता प्राप्त स्वास्थ्य संस्थामा गर्भपतन सेवा लिन पुगिन। तर, प्रतिक्षालाई गर्भपतन सेवा लिन सहज भएन। किनकी उनको पेटमा गर्भ रहेको २० हप्ता पुगेको थियो। उनलाई गर्भपतन गर्न कानुन बाधक बन्यो।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ काअनुसार नेपालमा गर्भवती व्यक्तिको मञ्जुरीले १२ हप्तासम्मको मात्र गर्भपतन गर्न पाइन्छ। १२ देखि २८ हप्तासम्मको गर्भपतन गर्न श्रीमानको मञ्जुरीसहित गर्भवती व्यक्तिको शारीरिक तथा मानसिक अवस्था बिग्रिएमा, जवरजस्ती करणी वा हाडनाता करणीबाट गर्भरहन गएमा, एचआइभीजस्ता निको नहुने रोग लागेमा, भ्रूणमा खराबी भएमा मात्र गर्भवती व्यक्तिको मञ्जुरीले गर्भपतन गर्न पाइन्छ।

प्रतिक्षा यसै पनि अविवाहित। त्यसमा आफ्ना प्रेमी विदेशमा छन्। यो सबै उनले स्वास्थ्य संस्थालाई बताइन। तर, पनि उनले गर्भपतन सेवा लिन पाइनन्। बरु उनलाई नवराजको घरमा गएर बस्न सल्लाह दिइयो, गर्भपतन सेवा दिइएन।

विभिन्न संघ संस्थाको सहयोगमा नवराजको परिवारसँग कुरा भएपछि उनी उनकै घरमा गएर बसिन। अहिले बच्चा पनि जन्मिसकेको छ।

०००

२० वर्षीया उषा (परिवर्तीत नाम) र २१ वर्षीय उमेश (परिवर्तीत नाम) प्रेम सम्बन्धमा थिए। एकदिन उनीहरुको शारीरिक सम्पर्क भयो। अस्थायी साधानको प्रयोगविना शारीरिक सम्पर्क गर्दा उषाको पेटमा गर्भ बसेछ।

सुरुका दिनमा उषाले पेटमा गर्भ रहेको पत्तो पाइनन्। रजस्वला रोकिए पनि उनी त्यसको त्यति धेरै चासो लिइनन्। उनले प्रेमी उमेशसँग रजस्वला रोकिएकाबारे एक–दुई पटक कुरा पनि गरेकी थिइन। उमेशले बच्चा नरहेको होला भनेर त्यति चासो दिइनन्।

जब रजस्वला रोकिएको दुई महिना पुगेको थियो, उषालाई थप शंका बढ्न थाल्यो। पेटमा गर्भ रहेको उनलाई महसुस भयो। मेडिकल गएर जाँच गर्दा गर्भ रहेको कुरा उषाले थाहा पाएपछि उनी अप्ठ्यरोमा परिन।

त्यसपछि उषाले प्रेमी उमेशलाई लिइएर गर्भपतन गर्न पुगिन। गर्भपतन गर्न स्वास्थ्य संस्थामा पुग्दासम्म तीन महिना बढी भइसकेको थियो। अर्थात् पेटको गर्भ १४ हप्ताको भएको थियो। गर्भपतन सेवा लिन स्वास्थ्य संस्थामा पुगे पनि १२ हप्ता बढीको गर्भपतन गर्न नपाइने कानुनी व्यवस्थाले उनले गर्भपतन सेवा लिन पाइनन्।

गर्भपतन सेवा लिन स्वास्थ्य संस्थामा पुगेका उषा र उमेशलाई स्वास्थ्य संस्थाले विवाह गर्न सल्लाह दियो। तर, उमेशको परिवारले विवाह गर्न स्वीकार गरेको थिएन। पछि अधिकारकर्मीहरुसँगको छलफलपछि उषा र उमेश विवाह गर्न सहमत भए। अनिच्छित गर्भ रहेकै कारण उनीहरुले नचाहेकाे समयमा विवाह गर्न बाध्य भए।  गएको वैशाखमा उषाले बच्चा पनि जन्माइ सकेकी छिन।

०००

माथिका दुई घटना कानुनी बाध्यताका कारण स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिन कति कठिन हुन्छ भन्ने प्रष्ट देखाउने उदाहरण हुन। कानुनले गर्भपतन सेवालाई अपराधसरह मानेको छ। कानुनविपरीत गर्भपतन गराउँदा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। जसले गर्दा स्वास्थ्य संस्थाबाट गर्भवती व्यक्तिहरु सहज रुपमा गर्भपतन सेवा पाउन सकिरहेका छैनन्।

नेपालमा गर्भपतन सेवा दिने स्वास्थ्य संस्थाहरु पनि कानुनी बाध्यतामा हुँदा गर्भपतन सेवा दिएका छैनन्। कानुनले छोरा–छोरीको पहिचान गरेर गर्भपतन गराउनेलाई अपराधी भन्छ। जसले गर्दा विवाहितहरु पनि गर्भपतन गराउन भारतसम्म पुग्ने गरेको चिकित्सकहरु बताउँछन्।

अविवाहितको हकमा १२ हप्ता बढी पुगेमा गर्भपतन गर्न कानुनले दिँदैन। १२ हप्तासम्मको गर्भपतन सेवा गर्भवती व्यक्तिले लिन चाहे पनि पाइन्छ। बलात्कार भएको हकमा मात्र अविवाहितले १२ हप्ता बढीको गर्भपतन सेवा लिन पाउँछन्। अन्यथा कानुनले गर्भपतन सेवा लिन नपाउने भनेको छ। जसले गर्दा अनिच्छित गर्भ रहेका अविवाहितहरु समस्यामा पर्ने गरेका छन्।

गास, बास, कपास, अवास जस्तै यौनलाई पनि आधारभूत आवश्यक्ता भनिन्छ। तर, कानुनले विभिन्न बाधा अड्चद देखाएर यौन क्रियाकलापलाई संकुचित बनाएको छ। यसै नेपालमा पितृसत्तात्मक सोच छ र जसले गर्दा गर्भपतन गर्नेलाई समाजले राम्रो नजरले हेर्ने गर्दैन।

दाङमा २१ वर्षीया नमिता (परिवर्तीत नाम)ले विवाह गरेको वर्ष दिनमा उनका श्रीमान विदेश गए। श्रीमान विदेशमा गएको दुई वर्ष भएको थियो। एकदिन नमिताले नसोचेको भयो। उनी गर्भवती भइन। छिमेकी १६ वर्षीय रोहित (परिवर्तीत नाम) सँग भएको शारीरिक सम्पर्कबाट नमितामा गर्भ रहन गएको थियो।

उनी गर्भवती भएको थाहा पाएपछि उनकी आमाले गर्भपतनका लागि स्वास्थ्य संस्थामा लगिन। उनलाई पनि स्वास्थ्य संस्थामा गर्भपतन सेवा लिन सहज भएन। स्वास्थ्य संस्थामा किन गर्भपतन गर्ने ? कसरी अनिच्छित गर्भ रहन गएको सबै सोधियो। नमिताले घटना सबै भनिन्।

नमिताको कुरा सुनेपछि स्वास्थ्य संस्थामा गर्भपतन सेवा दिन इनकार गरियो। यद्यपी, उनको गर्भवती भएको १२ हप्ता पुगेको थिएन। कानुनले १२ हप्ता अघिको गर्भपतन सेवा दिन कुनै सोधपुच्छ नगर्ने भन्छ। गर्भवती व्यक्तिले गर्भपतन सेवा लिन चाहेमा दिने भनिएको छ।

तर, स्वास्थ्य संस्थामा गर्भपतन सेवा दिइएन। बरु उनलाई १६ वर्षीय रोहितसँग विवाह गर्न सल्लाह दिइयो। नमिताले शारीरिक सम्पर्क गर्नु ठुलो अपराधिक काम जसरी १६ वर्षीय रोहितलाई बोलाएर सहमतिमा विवाह गराइयो। पहिलेको श्रीमान छाड्नु पर्‍यो।

यस्ता उदाहरण गाउँ गाउँमा भेटिन्छन्। कानुनले छोरा–छोरी पहिचान गरेर गर्भपतन गर्न नपाइने भनेको भए पनि धेरैजसो गर्भपतन गर्ने जोडीहरु छोरी–छोरी पहिचान गरेर गर्नेहरु रहेका छन्। नाम नबताउने सर्तमा एक डाक्टरले आफू कहाँ गर्भपतन गराउन आउनेहरु ९० प्रतिशत छोरा–छोरी पहिचान गरेर आउनेहरु रहेको बताए।

दाङमा मान्यता प्राप्त स्वास्थ्य संस्थामा वर्षमा करिब चार सय जनाले गर्भपतन सेवा लिने गरेका छन्। यो विशुद्ध कानुनअनुसार गर्भपतन सेवा लिने हुन। जिल्ला स्वास्थ्य कार्यालय दाङकाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा दाङमा ४५४ जनाले गर्भपतन सेवा लिएका छन्। यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ४१५, आ.व. २०७८/०७९ मा ३७६ र चालु आर्थिक वर्षको छ महिना (साउनदेखि पुससम्म) मा १३० जनाले गर्भपतन सेवा लिएका छन्।

यो त कानुनी मान्यता प्राप्त स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन सेवा लिनेहरु हुन। निजी स्वास्थ्य संस्थामा पुगेर गर्भपतन सेवा लिनेको संख्या पनि धेरै रहेका छन्। उनीहरुको कुनै तथ्यांक हुँदैन। अनिच्छित गर्भ रहन गएमा वा छोरा–छोरीमध्ये चाहेको बच्चा जन्माउनु परेमा मान्यता प्राप्त स्वास्थ्य संस्थाभन्दा बाहिर जानेको संख्या धेरै रहेको डाक्टरहरु दाबी गर्छन।

एक डाक्टरका अनुसार महिनामा २/३ जना गर्भपतन सेवाका लागि निजी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्। जसअनुसार जिल्लाका १० वटा मात्र निजी स्वास्थ्य संस्थामा मात्र यही अनुपातमा गर्भपतन सेवा लिन पुग्नेको संख्या आंकलन गर्ने हो भने वर्षमा ३६० जनाले निजी स्वास्थ्य संस्थाबाट गर्भपत सेवा लिने रहेछन्। यो अनुमानित तथ्यांकभन्दा जिल्लामा धेरै भएको अनुमान गर्न सकिने डाक्टरहरु बताउँछन्।

एक तथ्यांकअनुसार नेपालमा मान्यता प्राप्त स्वास्थ्य संस्थामा भन्दा निजी स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गर्नेहरु धेरै रहेका छन्। सन् २०१४ मा एक संस्थाले गरेको सर्वेक्षणअनुसार वर्ष दिनमा ३ लाख २३ हजार महिलाले गर्भपतन गर्छन्। जसमा ५८ प्रतिशतले मान्यता प्राप्त स्वास्थ्य संस्थामा भन्दा बाहिरबाट गर्भपतन सेवा लिने गर्छन।

अनिच्छित गर्भले डिप्रेसन

अनिच्छित गर्भ रहेमा गर्भवती व्यक्तिहरु डिप्रेसनमा पर्ने समस्या हुन सक्ने मनोचिकित्सक गोपाल ढकाल बताउँछन्। ‘अनिच्छित गर्भ रहेमा सन्तानलाई भोलि कसरी हुर्काउने, बढाउने समस्यालगायतको चिन्ताले गर्भवती व्यक्तिहरु डिप्रेसन पर्ने, उनीहरुमा नैरास्यता सिर्जना हुने गर्छ,’ ढकालले भने, ‘डिप्रेसनमा पर्ने महिलाहरु मध्ये १० प्रतिशत महिला गर्भवती भएपछि डिप्रेसमा जान्छन्।’

उनकाअनुसार अनिच्छित गर्भ रहे गर्भवती व्यक्ति डिप्रेसनमा जाने, बच्चा जन्मिए पनि बच्चालाई ख्याल नगर्ने, रुने, एक्लै बस्ने, मान्छे दुबलाउने, समयमै उपचार नभएमा आमाले आत्महत्या गर्ने र बच्चालाई पनि मार्नेसम्मको समस्या आउन सक्छ।

अझ अविवाहित महिलाहरु गर्भवती भएमा उनीहरु झनै ठुलो समस्यामा पर्ने गरेको मनोविद् ढकालको भनाइ छ। ‘गर्भपतन गर्न चाहन्छन् तर उनीहरुले कानुनी, शारीरिक जटिलताले गर्दा वा अन्य कारणले गर्भपतन गर्न पाएनन् भने पहिलो त मानसिक तनावमा पर्ने जोखिम हुन्छ,’ उनले भने, ‘अझ अविवाहित हो भने त उसलाई समाजमा पुनः स्थापित कसरी हुने, बच्चा कसरी हुर्काउने चिन्ता हुन्छ।’

अस्पतालमा बेबारिसे भेटिने शिशुहरु अनिच्छित गर्भवती व्यक्तिबाट जन्मिएका पनि हुने गरेको बढकाल बताउँछन्। उनले भने, ‘कहिलेकाहीँ बच्चा झाडीमा भेटिने, अस्पतालमा नै छाडिदिने गरेको घटनाहरु यस्तै अनिच्छित बच्चा रहेर हो। जे कुरा इच्छाले नगरेको काम निरासा बनाउँछ।’

प्रकाशित मिति: : 2023-04-23 22:00:00

प्रतिकृया दिनुहोस्