१० दिनदेखि न्याय माग्दै आमरण अनशनमा कृषक (भिडियोसहित)

देशकाे राजधानी काठमाडौं। काठमाडौंको मध्यभाग र व्यस्त सडक न्युरोड। न्युरोडको छेउमा छ, भूगोलपार्क। त्यही भूगोल पार्कमा १० दिनदेखि ढलिरहेका छन्, एक कृषक।

यही वैशाख ५ गते काठमाडौंको छिमेकी जिल्ला नुवाकोटको ककनी गाउँपालिका– २ खोलाखेतका कृषक श्रीराम घिमिरे न्यायका लागि आमरण अनशनमा छन्। अनशनमा बसेको १० दिन पुग्दा उनको स्वास्थ्य अवस्था बिग्रदै गएको छ।

घिमिरे हिँड्न सक्ने अवस्थामा छैनन्। बोल्न पनि गाह्रो भइसकेको छ। ‘स्वास्थ्य अवस्था निकै बिग्रिएको छ। उहाँलाई बोल्न पनि गाह्रो हुन्छ,’ घिमिरेका सहयोगी प्रकाश पुडासैनीले भने।

कृषकलाई मल, बिउ निःशुल्क दिनुपर्ने, १० प्रतिशत बजेट कृषिमा छुट्याउनुपर्ने, कृषक कार्ड छिटो पाउनुपर्ने लगायत ७ बुँदे माग राखेर उनी चैत ५ गते नुवाकोटबाट खाली खुट्टा (जुत्ता नलगाएर) ८ घण्टा पैदल हिँडेर काठमाडौं आएका हुन्।

त्यसदिनदेखि उनको आमरण अनशन निरन्तर छ। सरकारसँग वार्ता भए पनि माग पूरा हुन नसक्दा अनशन तोडिएको छैन। विभिन्न राजनीतिक दलका व्यक्तिहरु अनशनस्थलमा आफूहरुको सहयोग रहेको बताउनेबाहेक थप केही गर्न सकेका छैनन्। देशको समृद्धि कृषिमा देख्ने सरकारले एउटा कृषक १० दिनदेखि न्याय खोजेर पालमुनि ढलिरहेको देखेको छैन। कृषकको पीडा बुझ्न सकेको छैन।

घिमिरे यसअघि २०७३ साल कात्तिक ९ गतेदेखि २१ गतेसम्म अहिलेकै माग राखेर अनशन बसेका थिए। त्यसपछि २०७६ सालमा सोही यही ७ बुँदे मागसहित माइतीघरमा नुवाकोटका कृषहरु धर्ना बसेका थिए। तर, सरकारले पटक–पटक कृषकलाई आश्वसन दिनेबाहेक माग पूरा गर्नमा ध्यान दिन सकेको छैन।

भिडियाे:

प्रकाशित मिति: : 2023-04-28 18:30:00

प्रतिकृया दिनुहोस्