मिटरब्याज पीडितका ३० दिन: अझै दिएन सिंहदरबारले न्याय, किन मिलेन कुरा ?

BreaknLinks
BreaknLinks

गाउँमा सुदखोर (साहु)ले बस्न नदिएको भन्दै न्याय माग्न काठमाडौं आएका मिटरब्याज पीडितले महिनादिन पुग्दासमेत न्याय पाउन सकेका छैनन्। नवलपरासी (पूर्व), धनुषा, सिराह, सप्तरीलगायतका पीडितहरुले सडक संघर्ष गरेर सिंहदरबारसँग न्याय मागेको आज (मंगलबार) ३० दिन पुगेको छ।

तर, पीडितलाई सिंहदरबारले न्याय दिन सकेको छैन। आफूहरुसँग गरेको सम्झौता सरकारले कार्यन्वयन नगरेको भन्दै पीडितहरु चैत २० गते तेस्रो चरणको आन्दोलन गर्न काठमाडौं आएका थिए। त्यसपछि पटक–पटक सरकार र पीडितबीच वार्ता भए पनि वार्ता सफल हुन सकेको छैन। जसले गर्दा ३० दिनदेखि मिटरब्याज पीडित काठमडौंको शान्तिबाटीकामा त्रिपालमुनि बसेर धर्ना दिइरहेका छन्। सडक संघर्ष गरिरहेका छन्।

३० दिनदेखि वृद्ध, शिशुका आमाहरु न्यायका लागि सरकारसँग याचना गरिरहेको छन्। तर पनि उनीहरुको पीडामा सरकार मल्हम लगाउन सकेको छैन।

बरु आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्‍यो। प्रहरीको लाठी प्रहारबाट एक जनाको हात भाँचियो। धेरैलाई चोटपटक लाग्यो। मंगलबार बिहानसम्म प्रहरीको लाठी प्रहारबाट हात भाँचिएका सौरव श्रेष्ठको अप्रेसन हुन सकेको छैन। सरकारले प्रहरीको दमनबाट चोटपटक लागेकालाई उपचार गर्ने भनेको भए पनि उपचार नगरेको पीडितको भनाइ छ।

‘सरकारले हाम्रो माग सुनेन’

चैत २० गतेदेखि ६ बुँदे माग राखेर मिटरब्याज पीडितहरु तेस्रो चरणको आन्दोलन गर्न काठमाडौंमा छन्। अवधेश कुशहवालगायतको नेतृत्वमा आन्दोलनरत पीडितहरुले यसअघि दुई चरण गरी ८९ दिन काठमाडौंमा आन्दोलन गरेका थिए। त्यसपछि सरकासँग सहमति गरेर घर फर्किएका उनीहरुले माग पूरा नगरेको भन्दै तेस्रो चरणको आन्दोलनमा छन्।

यद्यपी, चैत १८ गतेसम्म मिटरब्याज पीडितको अर्को समूहले काठमाडौंमा आन्दोलन गरेको थियो। हप्तादिन काठमाडौंमा आन्दोलन गरेको उक्त समूहसँग सरकारले पाँच बुँदे सहमति गरेको भए पनि उक्त सहमति उपयुक्त नरहेको भन्दै कुशहवा नेतृत्वमा चैत २० गतेदेखि आन्दोलन सुरु भएको थियो।

यो आन्दोलन सुरु भएको आज महिनादिन पुगेको भए पनि सरकार सहमति गर्न सकेको छैन। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छिट्टै न्याय दिने पटक–पटक बताउने गरेका छन्। तर, उनको बोली कार्यन्वयन भएको छैन।

मिटरब्याजविरुद्ध संघर्ष समितिका अध्यक्ष अवधेश कुशहवाले सरकारले आफूहरुको आन्दोलनलाई बेवास्था गरिरहेको बताए। ‘हाम्रो मागप्रति सरकार गम्भीर हुन सकेको छैन। बेवास्था गरिरहेको छ,’ उनले भने, ‘तर, हामी हाम्रो माग पूरा नभएसम्म घर फर्किदैनौँ।’

कुशहवाले पीडितहरु घर फर्किन सक्ने अवस्था नरहेको बताए। ‘घरमा हामी फर्किन सक्ने अवस्था छैन। आन्दोलन सुरु भएपछि यतिबेला सुदखोरले पीडितहरुलाई अदालतमा लगिरहेको छ,’ उनले भने, ‘गाउँमा गए साहुले मार्छ, यहाँ सरकारले मारिरहेको छ।’

‘आन्दोलनमा घुसपैठ भएको छ’

मिटरब्याज पीडितहरुको आन्दोलनमा घुसपैठ भएको सरकारको दाबी छ। अघिल्लो मिटरब्याज पीडितसँग चैत १८ तगे पाँच बुँदे सहमति गरेको दुई दिनपछि चैत २० गते अर्को समूहले आन्दोलन गर्नु तर्कसंगत नरहेको सरकारको भनाइ छ। गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव जितेन्द्र बस्नेतले दुबै मिटरब्याज पीडितका माग उस्तै रहेको भन्दै फेरि अर्को चरण आन्दोलन हुनु नै अर्थपूर्ण नरहेको बताए।

 

मंगलबार बिएल नेपाली सेवासँग कुरा गर्दै अघिल्लो मिटरब्याज पीडितसँग सहमति गरेर कार्यन्वयनको चरणमा गएको भन्दै अहिलेका पीडितले सरकारसँग सहमति गर्न नखोजेको आरोप लगाए। ‘शनिबार सहमतिको ड्राफ्ट तयार भएको थियो। हस्ताक्षर हुन मात्र बाँकी थियो,’ प्रवक्ता बस्नेतले भने, ‘तर कहाँ कसलाई सोध्नुपर्छ भन्दै हस्ताक्षर भएन। अहिलेसम्म हस्ताक्षर गर्नका लागि सम्पर्क भएको छैन।’

आन्दोलनका नाममा केही अभियान्ताहरुले आन्दोलनमा घुसपैठ गरेको उनको भनाइ छ। ‘केहीले आन्दोलनमा घुसपैठ गरेका छन्। मिटरब्याज पीडितलाई उचालिरहेका छन्,’ उनले भने, ‘नत्र कोही पीडितले हामीसँग सहमति गर्ने कोहीले नगर्ने भन्ने हुन्छ ? सबैको समस्या उस्तै हो नि।’

बस्नेतले अघिल्लो मिटरब्याज पीडितसँग गरेको सहमतिअनुसार आयोग स्थापना भएको, जिल्ला प्रशासनमा पीडितको लगत संकलन सुरु भएको बताए। अलि जटिल रहेको कानुन संशोधनको विषय भए पनि छिट्टै कानुन संशोधनको तयारी रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2023-05-03 21:25:00

प्रतिकृया दिनुहोस्