अन्धविश्वासकाे जालाेमा समाज: दुई वर्षमा बाेक्सी आराेपका ७८ घटना दर्ता, आधाभन्दा बढी मधेसमा

pxfuel
pxfuel

वि.सं. २०७४ चैत २३ गते दैलेखको नारायण नगरपालिका– ३ की ५२ वर्षीया राजकुमारी जैसी घरायसी काममा व्यस्त थिइन्। साँझ पर्दै थियो, राजकुमारी भान्छाको काम गर्नतर्फ लागिन्। एक्कासी गाउँले विनोद (नाम परिवर्तित)ले काम छ भन्दै बोलाएपछि उनी विनोदको घरतर्फ लागिन्।

काम छ भनेर बोलाएका विनोद उल्टै उनीमाथि आइलागे। विनोदले ‘तँ बोक्सी हो तैँले बहिनी बिरामी बनाइस्’ भन्दै राजकुमारीको पेट र पाखुरमा दाँतले टोकी कुटपिट गरे।

राजकुमारीले घटना लगतै २४ गते प्रहरीसमक्ष उजुरी दर्ता गराइन्। उक्त समयमा विनोदले आफूलाई देउता आएको बेला त्यसो गरेको र याद नभएको बताउँदै पन्छिन् खोजे। तर, प्रहरीले पीडितको अवस्था तथा बयानको आधारमा विनोदलाई ‘बोक्सीको आरोपसम्बन्धी कसूर र सजाए ऐन २०७२’ बमोजिम थप अनुसन्धानको लागि हिरासतमा राख्यो। र, दुई वर्षको जेल सजाए तोक्यो।

०००

यस्तै ०७८ असोज २८ गते महोत्तरीको जलेश्वर नगरपालिका– ४ की ४२ वर्षीया सुकमरिया देवी टहलिन घर नजिकै सडकमा निस्किएकी थिइन्। सडककाे छेउमा छिमेकी सिकिन्दर महतोकी १३ वर्षीया छोरी खेलिरहेकी थिइन्। सुकमरियालाई देख्ने बित्तिकै उनी रुन थालिन्। छोरी रोएको आवाज सुन्ने बित्तिकै सिकिन्दरको परिवारले सुकमरियालाई बोक्सीको आरोप लगाउँदै नाइलनको डोरीले बाँधे र कपाल काटिदिन थाले। यति मात्र होइन, उनीहरुले सुकमरियालाई मलमुत्रसमेत खुवाए।

घटना लगत्तै पीडितले सिकिन्दरको परिवारविरुद्ध उजुरी गरिन। प्रहरीले घटनाबारे अनुसन्धान गर्न थाल्यो। प्रहरीले घटनास्थलबाट सुकमरियालाई बाँधिएका डोरी, खौरिएको कपालका टुक्राहरु, मलमुत्र खुवाउन प्रयोग गरिएका प्लास्टिकका ग्लाँस र वियरका बोतल फेला पार्‍याे। जसलगत्तै प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गर्‍याे र कारबाहीको लागि थप कार्य अघि बढायो।

०००

यसैगरी ०७७ असोज ६ गते सिराहाको नवराजपुरकी मूर्तिदेवीलाई गाउँलेले रातको समयमा घरबाट घिसार्दै एक भेलासमक्ष पुर्‍याए। र, पञ्चायतमाझ उनीमाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरियो। मूर्तिदेवीकी छोरा गणेशप्रसाद आमालाई नकुट्न पञ्चायतसमक्ष हार गुहार गरिरहे तर उनको रोदन कसैले सुनेन्।

०००

यसैगरी ०७८ मा ललितपुरको लुभुमा बस्दै आएकी ३० वर्षीया गीता (नाम परिवर्तित) काम सकेर आराम गर्दै थिइन। एक्कासी श्रीमान दीपेन्द्रकुमार थिङ उनीमाथि जाइलागे। गीताले के भएको भेउसमेत पाउन नसक्दै दीपेन्द्रसहित चार जनाले उनीमाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरे।

माथिका दृष्टान्त त उदाहरण मात्र हुन्, जसले बोक्सीको आरोपमा महिलामाथि कसरी अत्याचार हुन्छ र उनीहरु कतिसम्म पीडा सहन विवश छन् भन्ने कुराको यर्थाथता देखाउँछ।

विश्व एक्काइसौं शताब्दीमा चल्दैछ तर नेपालमा महिलामाथि हुने हिंसाले भने नेपाल अझै १८औँ शताब्दीमा रहेको झल्को दर्साउँछ। राज्यले शिक्षा, स्वास्थ्यदेखि राजनीतिको उच्च ओहोदासम्म महिलालाई प्रमुखको रुपमा विराजमान गराइसक्दा पनि भने नेपालको अवस्था भने ज्युँका त्युँ छ।

महिला भएकै कारण उनीहरुमाथि लगाइने बोक्सीको आरोप र दुर्व्यवहारका कारण नेपाली महिला सामाजिक, मानसिक तथा यौनिक हिंसाबाट पीडित/प्रभावित हुनु परेको छ। यही दुर्व्यवहारका कारण कतिले ज्यान गुमाउनु परेको छ भने कति जना विस्थापित हुनु परेको छ।

कस्तो छ स्थिति ?

नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७८/२०७९ मा मात्र ४९ वटा बोक्सी आरोपका घटनाहरु दर्ता भएका छन्, जसमा सबैभन्दा बढी मधेस प्रदेशमा मात्र २८ वटा घटना दर्ता भए। यसैगरी कोशी प्रदेशमा ५, बागमती प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशममा २ तथा सुदूरपश्चिममा २ घटना दर्ता भए। जसमध्ये ४५ वटा घटनाका दोषीलाई कारबाही गरी प्रक्रियामा आए। भने, अन्य ४ घटना कारबाहीकाे प्रक्रियामा छन्।

यसैगरी २०७९ को माघ मसान्तसम्म २९ बोक्सी आरोपका घटनाहरु प्रहरीसमक्ष दर्ता भएका छन्, जहाँ मधेस प्रदेशमा १९, बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा १, लुम्बिनीमा ३, कर्णालीमा १ तथा सुदुरपश्चिममा १ बोक्सी आरोपका घटना दर्ता भए। ती सबै घटनाका आरोपीहरु कारबाहीको प्रक्रियामा आएका छन्।

बोक्सीको आरोप (कसुर र सजाए) ऐन, २०७२ अनुसार कुनै व्यक्तिलाई बाेक्सीकाे आरोपमा कुटपिट गर्ने, डाम्ने, खोप्ने, पोल्ने, रासायनिक तथा विषालु जैविक पदार्थको प्रयोग गरी वा अन्य किसिमले याताना दिने, मलमुत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारेर वा नपारेर कुनै ठाउँ घुमाउने वा अन्य कुनै किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई ५ देखि ८ वर्षसम्मको कैद सजाय र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानको व्यवस्था छ। तर, महिलाविरुद्ध हुने धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा वा अन्य आधारमा शारीरिक मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य हुँदा स्थानीय रुपमा नै घटनाको टुंगाे लगाउने प्रचलन रहेको छ। जसकारण २१औँ शताब्दीमा आइपुग्दा समेत महिलाले बोक्सीको आरोपमा विभिन्न अत्याचार भोगिरहेका छन्, जसमा मधेस प्रदेशमा सबैभन्दा धेरै बोक्सी आरोपका घटनाहरु हुन्छन्।

किन हुन्छन् तराईमा बोक्सी आरोपका घटनाहरु ?

पितृसत्तात्मक व्यवस्था तथा परम्परादेखि चलिआएको पारिवारिक मूल्य, मान्यता र सम्मानलाई निरन्तरता दिइने तराईमा बोक्सी आरोपका घटनाहरु बढी हुने अधिकारकर्मी बताउँछन्। अधिकारकर्मी रीता साह भन्छिन्, ‘तराईको समुदायमा अझै पनि परम्परादेखि चलिआएको सोच छ। जसमध्ये बोक्सी आरोप पनि एक हो। त्यसमा पनि अझ मधेस प्रदेशममा ज्यादा रहेको छ।’

यस्तै रीता साह चाडबाडको समयमा ‘बोक्सीहरु बढी हावी हुन्छन्’ भन्ने सामाजिक मान्यता तराईमा अझै पनि रहेकाे कारण घटनाहरु बढी हुने गरेकाे बताउँछिन्। ‘तराई क्षेत्रमा चाडवाडको समयमा  बोक्सी बढी हावी हुन्छन् भन्ने मान्यता छ, त्यस समयमा केही बिरामी भयो भने बाेक्सी लाग्याे भन्ने प्रचलन रहिआएको छ। जसले गर्दा तराई क्षेत्रमा यस्ता घटना सार्वजनिक भइरहन्छन्,’ उनले भनिन्।

प्रहरीको तथ्यांकमा बोक्सीको आरोप लगाई महिलालाई गर्ने हिंसाको स्वरुपहरुलाई हेर्दा सबैभन्दा बढी कुटपिट गर्ने गरेको पाइएको छ। कुटपिट गर्ने आफ्नै परिवारका सदस्य, नातेदार, छिमेकी रहेका छन्।

पितृसत्तात्मक साेच हुँदा नेपाली सामाजिक संरचनामा महिलाहरु आफ्नै घर, परिवार र समुदायमा सुरक्षित छैनन्। अन्धविश्वास र कुरीतिलाई बढावा दिँदै महिलालाई विभेदपूर्ण व्यवहार गर्ने हाम्रो समाजले महिलाको अस्तित्वलाई नै स्विकार्न नसकेका कारण उब्जिकएको परिणमाले हिंसाको स्वरुप लिन पुगेको छ।

महिलालाई समाजमा आत्मविश्वास कमजोर बनाई समाजमा आफ्नाे प्रभुत्व कायम राख्नका लागि शक्ति सम्पन्न व्यक्ति, जाती र वर्ग र व्यक्तिलाई बोक्सीको आरोप लगाई हिंसा गर्ने कार्य भइरहेको छ।

प्रकाशित मिति: : 2023-05-05 21:20:00

प्रतिकृया दिनुहोस्