नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलाई रिहा गर्न माग गर्दै आन्दोलन घोषणा गरेको छ।
बुधबार नाउपाले पत्रकार सम्मेलनको आयोजना गरी रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको आन्दोलन गर्ने घोषणा गरेको हाे।
मंगलबार सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको थियाे।
सर्वोच्चकाे फैसलाकाे विराेध गर्दै नागरिक उन्मुक्तिले आन्दोलन घोषणा गरेकाे हाे। सरकारले लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्न विवश हुने चेतावनी दिएको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्तिमार्फत भनेका छन्, ‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं। जेठ ३ ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ।’
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने भए रेशम चाैधरीलाई फाँसी दिन चेतावनी दिइएकाे छ। ‘अब सरकारसँग हाम्रा माग मात्रै २ वटा माग छन्। पहिलो, सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ। सरकारले लाल आयोग प्रतिवेदन सार्वजनिक गरिनु पर्छ। दोस्रो, यदि रेशमलाल चौधरी लगायत राजबन्दी हत्यारा हुन् भने फाँसी दिने ऐन बनाएर रेशमलाई फाँसी दिए हुन्छ’, वरिष्ठ उपाध्यक्ष पण्डितले विज्ञप्तिमार्फत भनेका छन्।