आज गणतन्त्र दिवस हो। कति वर्ष भयो गणतन्त्र स्थापना भएको ‘म:मः’ गरौं ,अनि त्यति नै भयो शाह वंशीय राजतन्त्र बिदा भएको पनि।
आजकै दिन तमाम राजतन्त्र आवश्यक भएको बताउने शक्तिहरू एकै ठाउँमा उभिएर गणतन्त्र विरुद्ध हुङ्कार गर्दैछन्। शान्तिपूर्वक आफ्ना कुरा र माग राख्न पाउने अधिकारको प्रयोग त हुँदैछ तर संविधानले परिकल्पना नगरेको विषयमाथि।
के गणतन्त्र यति अयोग्य भइसक्यो त?
यसको जवाफ नेपालका लोकतान्त्रिक राजनीतिक दल र तिनका सिमित अगुवाहरूसँग छ त?
देशमा प्रजातन्त्र त वि.सं.२००७ सालमै आएको थियो। वि.सं.२०१७ सालमा तुहाइएको प्रजातन्त्र वि.सं.०४६ सालमा फर्केको थियो। तर वि.सं.२०६२–०६३ पछि मात्रै आएको हो गणतन्त्र।
देशमा धेरै खाले राजतन्त्र पनि थिए। बेला, काल र अवधिमा ती सबै समाप्त भए। अन्तिम पटक समाप्त भएको शाह वंशीय राजतन्त्र हो।
तर पछिल्ला गणतन्त्रमय वर्षहरूमा फेरि शाह वंशीय राजतन्त्र फर्काउन प्रयास तिव्र भइरहेका छन्।
जसरी प्रजातन्त्र-लोकतन्त्र हुँदै गणतन्त्र स्थापना भयो त्यसरी नै राजतन्त्रात्मक व्यवस्थाका थुप्रै वंशसँगै समाप्ति भएका थिए।
गणतन्त्रमा राजा फर्काउने प्रयासका बीच राजा फर्किएका केही देश र तिनका उदाहरणबारे पनि गणतन्त्र दिवसका दिन यहाँ कुरा राखौं।
फ्रान्स एउटा त्यस्तो देश हो जहाँ राजतन्त्र र गणतन्त्र पक्षधरबीच पटक पटक संघर्ष भए। शक्ति केन्द्रित गरदै त्यहाँ नेपोलयन वोनापार्टको समेत उदय भइदियो। चर्चित फ्रान्सेली क्रान्तिसँगै सन् १७९२ मा फ्रान्स गणतन्त्रमय भएको थियो। राजा लुई सोह्रौँ र उनकी श्रमती म्यारी एन्ट्वानेटलाई क्रुर तरिकाले घाँटी रेटेर मृत्युदण्ड समेत दिइएको थियो। त्यसरी स्थापना भएको गणतन्त्र नेपोलियनको एकल पोल्टामा गयो।
युरोप सँगको हारका कारण सन् १८१४ आसपास लुई अठारौँलाई युरोपको शक्तिले राजा बनादिए। त्यहाँ राजतन्त्र फर्कियो। उत्तराधिकारीका रुपमा रहेका चार्ल्स दशमविरुद्ध सन् १८३०मा एउटा विद्रोह भयो त्यो विद्रोहले चार्ल्स दशमलाई अपदस्त गरी लुई फिलिपलाई संवैधानिक राजाका रूपमा स्थापित गरायो। फेरि सन् १८४८ ताका भएको क्रान्तिमा लुई फिलिप हटाईए अनि फ्रान्समा दोस्रो पटक गणतन्त्र स्थापना भयो। दोस्रो गणतन्त्रको चुनावबाट राष्ट्रपति छानिए नेपोलियनका भतिजा नेपोलियन तृतीय। उनको चारवर्षे कार्यकाल सकिए पनि पद नछाडी आफैंलाई सम्राट घोषित गरेका थिए। नेपोलियन तृतीयको समाप्तिसँगै फ्रान्स फेरि गणतन्त्रमय भयो।
नेपालमा पनि शाह वंशीय शासकहरूका कारण प्रजातन्त्र–लोकतन्त्र हुँदै गणतन्त्र कायम भएको स्मरण गरौं।
उता कम्बोडियमा नोरोदम सिंहानुक फ्रान्सेली उपनिवेशकालमै राजा भएका थिए। हजुरबुबा सिसोवाथ मोनिभोङको मृत्युपछि उनी सन् १९४१ मा राजा बनेका थिए। महिला महारानी हुने व्यवस्था नभएकैले आमा सिसोवाथ कोसामाकको पालो हटाई उनी राजा भए। सिंहानुकमा सक्रिय राजनीतिको ठुलो भोक थियो। त्यसैले सन् १९५५ मा देश फ्रान्सबाट स्वतन्त्र भएर दुई वर्षमा पिता नोरोदम सुरामारितलाई शक्ति सुम्पिएर आफू प्रत्यक्ष राजनीतिमा होमिए।
त्यही वर्ष भएको निर्वाचनमा उनले खोलेको दल साङकुमले निर्वाचन जित्यो र उनी प्रधानमन्त्री भए। उनले निरकुंशताका साथ एकदलीय शासन चलाए। पाँच वर्षपछि पिताको निधन भयो। त्यसपछि उनी राजगद्दीमा फर्किएनन्। बरु आमालाई महारानी बनाएर आफू राज्य प्रमुख भए। आमा महारानी थिइन्। तर सम्पूर्ण सबै शक्ति उनकै हातमा नियन्त्रित थियो।
राजतन्त्र पुन:स्थापनाको चर्चा चलिरहँदा यो उदाहरणले राजा राजनीतिमा आउन सक्ने सम्भावनालाई नकार्न सकिंदैन। तर राजा फर्काउने अभियानका राजनीतिक शक्तिहरूका गतिविधिले मात्रै बिदा भएको राजतन्त्र फर्कन सम्भव छैन। त्यसका लागि ज्ञानेन्द्र शाहले राजनीतिमा आफ्ना पाईला अघि बढाईसकेका छन्। छोरा पारस शाहमा भन्दा नाती हृदयेन्द्र शाह उनको वशं अघि बढाउन सक्ने देखिरहेका छन् ज्ञानेन्द्र शाहले। त्यसका लागि विभिन्न वहानामा जनतामा पगिरहेका छन् शाह। उनको सचिवालयले अझै पनि ’श्री ५’ कै सम्बोधन सहित आवश्यक सूचना जारी गर्छ।
अबोध बालापनमा पहिलो पटक राजाको श्रीपेच पहिरिएका ज्ञानेन्द्र शाहले ढल्किदो उमेरमा सक्रिय शासन चलाउने प्रयास गरेका थिए। तर शाह असफल रहे। तर शासन सत्ताको भोक उनमा अझै देखिन्छ।
राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्र सँग उनको निरन्तर सम्पर्क र उठबस चलिरहेको देखिन्छ। तर त्यतिले मात्रै शाह वंशीय राजतन्त्रात्मक सहजै फर्काउन सम्भव छैन।
एउटा अर्को प्रसङ्ग सन् १९३१ मा स्पेन गणतन्त्रमय भयो। तर सन् १९३८ सम्म पुग्दा गणतन्त्र धराशायी भयो। जनरल फ्रान्सिस्को फ्रान्कोले गणतन्त्रलाई विस्थापन गरे। तर त्यो फाँसिवादी सत्ता भयो। फ्रान्कोले सन् १९३१ मा लखेटिएका राजा अलफोन्सो तेह्रौँका नाति हुवाँ कार्लोस प्रथमलाई सत्ता सुम्पिए। त्यहाँ सन् १९७५ मा राजतन्त्र फर्कियो। त्यस यता आफ्नो लोकप्रियता घट्दो र विवादमा परेपछि सन् २०१४ मा फिलिप छैटौंले सत्ता सम्हालेका थिए। राष्ट्रवादीहरूको आवरणमा फाँसिवादको सत्ता बनेको थियो स्पेनमा पनि।
अहिले नेपालमा पनि राष्ट्रवादीका नाममा राजतन्त्र फर्काउने चेष्टा भईरहेको पृष्ठभूमी छ। के नेपालमा राजतन्त्र चाहने हरू मात्रै राष्ट्रवादी हुन्छन् त? अरु बाँकी देशद्रोही नै हुन त? राजतन्त्रात्मक पक्षधरले जनता माझ आफूलाई स्थापित गराउन उति सहज छैन्।
तर यति भनिरहँदा राजनीति सधैं गिजोलिइरहनु पनि हुँदैन्। राजनीति सफा पार्नुपर्छ। राजनीतिलाई जनताको हितमा प्रयोग गर्नु पर्छ। तर नेपालमा त्यसो भइरहेको छैन्।
लोकतन्त्रमा शक्तिका स्रोत जनता नै हुन। भलै सत्ता राजनीतिक दलको पोल्टामा हुन्छ। त्यो शक्ति आर्जन गर्न जनमत चाहिन्छ। त्यो जनमतका लागि राजनीतिक नेतृत्व इमान्दार भइदिनु पर्छ। जनमत बटुलेर बेइमान भइदिन्छन् यहाँका राजनीतिक दल।
अहिलेको परिवेश नागरिक स्तरमा राजनीतिक दलहरू प्रति नकारात्मक हुँदै गइरहेको देखिन्छ। सुशासन, जनजिविका, विकास निर्माण र दैनिक प्रशासन सञ्चालनमा चरम लापरवाही, भ्रष्ट्राचार र सिफारिसतन्त्र हुँदाहुँदा ‘सेटिङ्’को परिपाटीले लोकतन्त्रलाई बदनाम गरिरहेको अवस्था छ।
सत्तामा पुग्ने अनेकन दाउपेचले राजनीतिक दल र तिनका नेतृत्वकर्ता(सामुहिक) आलोचना र घृणाका शिकार भईरहेका छन्। र त देशमा फेरि राजतन्त्र ब्युझाउने ध्वनि गुञ्जिंदै गइरहेको छ। हामी सबै नेपालको शाहवंशीय राजतन्त्र प्रति जानकार नै छौं। अन्य वंशका राजराजतन्त्रका कुरा इतिहास भइसकेका छन्। राजतन्त्र त्यसमाथि पनि शाह वंश छँदा के थियो देशको अवस्था भन्ने कुरा तोडमोड नगरी तटस्थ भएर बुझ्नैपर्छ। त्यति मात्रै होईन लोकतान्त्रिक शक्ति र कम्युनिष्ट भनिनेहरूका नीति, कार्यशैली र व्यवहारको पनि लेखाजोखा हुनैपर्छ।
गणतन्त्रको व्यवस्थापन इमानदारपूर्वक हुन सकिरहेको छैन्। गणतन्त्रका उपलब्धिहरू जनता समक्ष सरल तरिकाले न्यायोचित ढंगले पुग्न सकेको छैन्। परिणाम देशमा विद्यमान राजनीतिक व्यवस्थाप्रति जनआक्रोश बढीरहेको देखिन्छ। त्यसका मुख्य कारक सत्ता सञ्चालनमा पुग्ने राजनीतिक दल र तिनका केही सामुहिक अगुवाहरू नै हुन्।
गणतन्त्रलाई प्रतिनिधित्व गर्ने सर्वोच्च संस्था राष्ट्रपति नै हो। कार्यकारी प्रधानमन्त्री हुने ब्यवस्था भएपनि राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपतिले नै देशको प्रतिनिधित्व र अभिभावकत्व लिनुपर्छ। तर गणतन्त्र नेपालका ३ जना राष्ट्रपति विवाद रहित भएनन्। सेनापति प्रकरण,संसद विघटन शिलशिला र नागरिकता विधेयक ३ राष्ट्रपतिका ३ वेग्ला वेग्लै ठूला विवादित प्रसङ्ग हुन्।
गणतन्त्रको व्यवस्था जनउत्तरदायी नभएर कम्जोर भईरहँदा नागरिकमा वितृष्णा बढ्दै गईरहेको छ। यस्तो अवस्थामा पुरानो शक्ति राजतन्त्र फर्किए पो ठिक होला कि भन्ने विषयमा समेत नागरिक तहमा छलफल बढेका देखिनछन्।
राजतन्त्र फर्किएको अर्को देश बेलायतको सन्दर्भ पनि आज यहाँ राखौं।सन् १६४२ मा बेलायतमा राजा र संसदको टकराव बढ्दै जाँदा अवस्था गृहयुद्ध सम्म पुग्यो। राजा चार्ल्स प्रथमले संसदले भनेको नमानेर आयरल्यान्डको विद्रोह दबाउन सेना स्थापना गरिदिए। गृहयुद्धको विजारोपण त्यही थियो। सहायक कारण अरु पनि तमाम थिए। संसद र राजा पक्षका सेनाबिच गृहयुद्ध भईदियो। त्यो गृहयुद्धमा ओलिभर क्रोमबेल अगुवईको संसदीय शक्तिले सफलता पायो। राजा चार्ल्स प्रथमलाई मृत्युदण्ड दिएसँगै बेलायत गणतन्त्रमय भयो। तर गणतन्त्र लाई सहि दिशा दिएका क्रोमबेलको निधनपछि गणतन्त्रलाई मार्ग निर्देशन गर्ने नेता र नेतृत्वको कमिका कारण राजतन्त्रवादी शक्ति फेरि जुरमुरायो अनि चार्ल्स प्रथमका छोरा चार्ल्स द्वितीयलाई फेरि राजा बनाइयो।
यो घटनाले नेपालमा गणतन्त्रलाई व्यवस्थापन र सहि मार्ग दर्शन गर्ने नेतृत्वको अभावका बीच राजतन्त्र पक्षधर बलिया हुँदै गईरहेका पो हुन कि भन्ने शंका थपेको देखिन्छ।
यी र यस्ता तमाम उदाहरण आज गणतन्त्र दिवसकै दिन सम्झनुपर्ने हविगत छ। कारण हो जनमत बटुलेर बेईमान भईरहेका राजनीतिक दल र तिनका नेतृत्वकर्ताहरूका कार्यशैली। विधि, प्रक्रिया,पारदर्शिता र जनपक्षिय नेतृत्वको अभाव खट्किंदै जाने हो भने जनता निराश हुँदै जानेछन्। सायद त्यसै कारण देशमा अहिले राजतन्त्रको सुगन्ध आईरहेको महशुस भईरहेको छ। अनि ठुलो वलिदानी रगत पसिना खर्चेर ल्याईएको गणतन्त्र लाचार भएको देख्नुपर्ने छ। राजनीतिक दल र तिनका सिमित नेतृत्व बेइमान भइरहँदा देश निराशामय भइरहेको छ।
तर आशा गरौं गणतन्त्र देश गणतन्त्रमय भइरहोस। अनि जनता अधिकार सम्पन्न भइरहौं। ता कि राजनीतिक दलको गल्ती र कमजोरीको शिकार नबनोस्।