लडेर घाइते स्वास्थ्य स्वयम् सेविकाको सहयोग संकलन गरी उपचार हुँदै

रुन्टिगढी गाउँपालिका–१ राम्लीकी सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविका मनी घर्ती, जसले गाउँलेहरुको स्वास्थ्यमा सधै चिन्ता गर्थिन्।

उनी गाउँको प्रत्यक बस्ती–बस्तीमा पुगेर गाउँले र गाउँको स्वास्थ्य र सरसफाइको बारेमा चिन्ता, चासो र उपचारमा अनवरत रुपमा खट्दै आएकी थिइन्। तर आइतबार भने उनलाई यस्तो अवस्था आइपर्याे कि जसले गर्दा उनलाई नै अस्पताल पुर्याउनुपर्ने अवस्था आयो।

उनी दद्रुङखोला बस्तीमा स्वास्थ्यसम्बन्धी बैठक बसाल्न जाने क्रममा अप्ठ्यारो बाटोमा लडेर घाइते भई मेरुदण्डमा गम्भीर चोट लागेपछि अहिले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

गाउँको स्वास्थ्य सेवामा निःशुल्क रुपमा खट्ने स्वयम् सेविकाको अहिले लडेर घाइते हुँदा उपचारमा समस्या भएको आधारभूत स्वास्थ्य सेवा केन्द्र लिबाङीआपका सिनियर अहेव डिल्लीबहादुर वलीले बताए। ‘घरको आर्थिक अवस्था पनि कमजोर छ’, सिनियर अहेव वलीले भने, ‘अपरेसन गर्नुपर्ने भएकाले तत्काल रकम जुटाउन सहयोग संकलन अभियान चलाएका छौं।

उनको उपचारका लागि अहिले गाउँघर, जिल्लाबाहिर र देशविदेशमा रहेका शुभचिन्तकहरुसँग सहयोग संकलन गरी उपचार भइरहेको छ। हालसम्म व्यक्तिगत सहयोगहरु जुटेपनि स्थानीय सरकार र अन्य कुनै संस्थागत सहयोग भने हुन नसकेको बताइएको छ।

प्रकाशित मिति: : 2023-05-19 10:45:00

प्रतिकृया दिनुहोस्