जुम्लामा मार्सी धान रोपाइँको चटारो, किसानलाई हौसला दिन खेतमै पुगे मन्त्री (फाेटाे र भिडियाे)

आइतबार कर्णाली प्रदेशका कृषिमन्त्री भीमप्रकाश शर्मा विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ छुमचाैरमा धान राेप्नलाई पुगे। किसानलाई मार्सी धान उत्पादनमा उत्प्रेरणा दिएका उनले छुम जिउलाे कर्णाली प्रदेशकाे गाैरव भएकाे बताए।

'समुद्री सतहदेखि दुई हजार ८ सय ५० मिटर उचाईमा धान फल्ने छुम जिउलाे र यहाँ उत्पादन हुने मार्सी धान हाम्राे सान हाे,' उनले भने, 'अहिले बजारमा जुम्लाका रैथाने र अर्गानिक कृषि उपजकाे दबदबा छ। यही नै हाम्राे समृद्धिकाे आधार हाे।'

पछिल्लो समय छुमचौरमा धान खेती कम हुँदै गएकाे छ। विस्तारै धान खेती हराउने सम्भावना बढेपछि किसानलाई उत्प्रेरित गर्न कृषिमन्त्री शर्मा आफैँ खेतमा पसेका थिए।

'मार्सी धानको जगेर्ना गर्नु सबैको दायित्व हुनेछ। मार्सी धानको माग र मूल्य पनि उच्च छ', उनले भने, 'किसानले गुणस्तरीय उत्पादन गर्नुपर्ने देखिन्छ। जसका लागि कर्णाली प्रदेश सरकार साथ दिन तयार छ।'

पछिल्लो समय मार्सी धानमा रोगको संक्रमण बढेको भन्दै किसानहरुले धान रोप्न छोडेपछि उनले हौसला दिएका हुन्। मार्सी धान उत्पादनमा गिरावट आएको भन्दै किसानहरुले खेत बाँझो राख्दै आएका थिए।

पछिल्लो समय छुम जिउलाेमा अधिकतम २० वटा खेतमा मार्सी धानको रोपाइँ हुने गरेको छ। तर बाँकी जमिनमा किसानहरुले सिमी, मकै, कोदो, चिनो, कागुनो, जौ, गहुँ र आलु खेती गर्न थालेका छन्।

बर्सेनि खेतहरु बाँझो हुँदै जाँदा किसानहरु मार्सी धानको खेती छोड्न थालेको पातारासी-३ की धनरुपा बाेहाेराले बताइन्। उनले भनिन्, 'अब त राेपाइँ पनि मस्तै घटिगाे। यही सिजनमा छाछाेरी पाटन किरा टिप्न जान्छन्। हामी काम गर्न सक्दैनौं।'

विश्वकाे अग्लाे स्थानमा धान फल्ने छुम जिउलाे कर्णालीका ४० वटा पर्यटकीय गन्तव्यमा सुचिकृत भएकाे छ। छुम जिउलाेलाई पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा पनि चिनाउने प्रयास गरिएकाे गाउँपालिका अध्यक्ष पूर्णसिंह बाेहाेराले बताए।

'यार्चागुम्बु अब पाउन गाह्राे छ। चालीस हजार खर्च गरेर पाटन जानेले २० हजार कमाउन नसकेका कति घटना छन्,' उनले भने, 'त्यसैले हाम्राे सानकाे रुपमा चिनिएकाे छुम जिउलाेमा खेती गरी आर्थिक लाभ लिनुपर्छ।'

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले संस्कार र संस्कृतिसँग जोडिएको मार्सी धान संरक्षण गर्न किसान जागरुक हुनुपर्ने बताए।

'छुमचौर ज्युलोमा कालीमार्सी धान रोप्न सुरु गरिए पछि चौतर्फी चासो बढेको छ,' उनले भने, 'स्थानीय सरकारले मार्सी धान जोगाउन पहल थाल्नु राम्राे पक्ष हाे।'

मार्सी धानको संरक्षण गर्न सके मात्रै चौधविस क्षेत्रको विकास हुने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन्। 'जुम्लाको अर्गानिक मार्सी धान स्वास्थ्यका दृष्टिले महत्पुर्ण छ,' उनले भनिन्, 'यति मात्र नभएर यो धानले इतिहास बोकेको छ, त्यसैले पनि यसको संरक्षण गर्न आवश्यक छ।'

प्रकाशित मिति: : 2023-05-22 16:25:00

प्रतिकृया दिनुहोस्