बालेन साह, हरोल्ड वाशिंगटन हैन बाराक ओबामा बन्नुस्

Break n Links
Break n Links

औपचारिक शिक्षा पढनु पर्ने उमेर भनौं वा समयमा पढनु पर्ने जति नपढेको सत्यताको बाबजुद बढदो उमेरसँगै मेरो पुस्तक प्रेम बढदो छ। आफ्नो दैनिक गुजारा चलाउन आवश्यक कामपछिको समयलाई पुस्तकसँग बिताउन पाउँदा हर्षित हुन्छु म, भलै कामको थकानले कतिपय बेला त्यो गर्न चाहेर पनि सकिन्न।

त्यसैले कतिपय बेला किनेको पुस्तक किन्ने बित्तिकै पढ्न सुरु नगरिने अनि त्यो सुरु हुनुअगावै अन्य नयाँ किताबहरू आउनाले केहि किताब यत्तिकै रहने अवस्था पनि बन्नेगर्छ। यस्तैमा अमेरिका पूर्व राष्ट्रपती बाराक ओबामाको आत्मकथा “A Promised Land" पनि त्यस्तै गरेर थन्किएर रहेकोमा आजबाट त्यो पढन सुरु गरें। करिब ७६८ पृष्ठको त्यो पुस्तक राम्रोसँग पढेर सिध्याउन त मलाई केहि दिन पक्कै लाग्नेछ।

त्यसैले समग्र पुस्तक पढिसकेपछि त्यसको बारेमा विस्तृत चर्चा गर्ने नै छु तर, अहिले भने पुस्तकको सुरुवातको केहि पाना पश्चात नै बाराक ओबामाले चर्चा गरेको सिकागो सहरका प्रथम अश्वेत मेयर हरोल्ड वाशिंगटन (Harold Washington) को कथाले मलाई हाम्रो नेपालको राजधानीका मेयर बालेन साह र उनले भोगिरहेको नियतिको सम्झना आयो, त्यसैले त्यसैमा संक्षिप्त तुलानात्मक टिप्पणी लेख्न चाहें।

त्यसको लागि सबै भन्दा पहिला हरोल्ड वाशिंटनको बारेमा बुझाउनु वा सम्झाउनु वाञ्छनीय हुनेछ।

नेपालको राजनीतिमा क्रियाशील नेताहरूको अलोकप्रियता, अकर्मण्यता, अदुरदर्शिता र भ्रष्ट आचरणबाट आजित मानिसहरूको पंक्तिले बालेन साहलाई काठमाडौंको मेयर बनाए जस्तै पक्षपात र भेदभावबाट आजित सिकागो सहरका अश्वेत समुदायले विशेष सक्रियतामा हरोल्ड वाशिंटनलाई मेयर बनाएका थिए। १९८३ मा अमेरिकाको ठुलो मध्येको एक सहर सिकागोको मेयर बन्दै धेरैले असम्भव ठानेको कामलाई सम्भव बनाउन सक्षम ती हरोल्ड वाशिंटन पनि बालेन साह जस्तै जोश जाँगर अध्ययनको अलावा राजनीतिक अनुभव पनि भएका मानिस थिए।

यद्यपि उनकै हिम्मत आँट र उनले प्राप्त गरेको विजय पश्चातको अवस्थाले आफूमा राजनीतिक बिउ रोपेको स्वीकार्ने बाराक ओबामाले हरोल्ड वाशिंटनले मेयरको रुपमा अपेक्षित सफलता प्राप्त गर्न नसकेको आफ्नो ठम्याई खुलस्त राखेका छन्। मेयर वाशिंटनले अपेक्षित सफलता आर्जन किन गरेनन् भन्ने सम्वन्धमा बाराक ओबामा लेख्छन् कि आन्दोलन वा अभियानको अपार सफलताका बाबजुद पनि उचित संरचनाको अभाव,संगठन नहुनुको दुःख र सरकारी काम कारवाहीका सम्वन्धमा ज्ञानको कमीले असफलतालाई अनिवार्य बनाउने गर्छ। हो, बाराक ओबामाको त्यही ठहर अहिले काठमाडौंमा बालेन साहको हकमा पनि लागु भइरहेको अनुभूति म जस्ता धेरैलाई भएको छ। त्यसैले त्यो पढ्दा नपढ्दै यो लेख्ने जमर्को गरेको हुँ।

हामी सबैले देखिरहेका छौं, सुनिरहेका छौं अनि पढी रहेका छौं कि जनताको अपार माया र साथ पाएर निर्वाचित भएको अनि निर्वाचित भइसकेपछि पनि जानेर बुझेर सकेको राम्रो गर्दागर्दै पनि बालेन साहले अनेकन हण्डर ठक्कर खाइरहेको छन्। यो अत्यन्त दुःखद कुरा हो, सँगै शासनको केन्द्रमा रहेका र तिनको वरिपरी घुम्नेले बालेनलाई असफल पार्न खेलिरहेको खेल निन्दनीय पनि हो।

तर त्यसको साथै बालेन साहले अपेक्षित सफलता नपाउनुको पछाडि बाराक ओबामाले भने जस्तै आफ्नो संगठनको अभाव, उचित र व्यवस्थित संरचनाको कमी अनि राजकीय ज्ञानको अभावले पनि बालेनलाई अपेक्षित सफलता पाउनबाट रोकिरहेको छ भन्ने पनि सत्य हो। त्यसैले नै त हो आफू जनताको मतले कार्यकारी सरकार प्रमुख भएको ठाउँमा अधिकार र जनमतको समिश्रणबाट कार्यकारीलाई तह लगाउन बालेन असफल देखिए भने आफ्नो आदेश पालना गर्ने कमान्डरलाई आफू मातहत सरकारको कारिन्दाले कारवाही गर्दा पनि उनी मुकदर्शक भएको भएको समेत देखियो।

अझै उनको पदीय अधिकार र गरिमाको बर्खिलाप गर्दै भएका कामहरूमा उनको मौनताले त कता-कता अपरिपक्कता तर्फ पनि संकेत गर्छ। त्यति मात्रै कहाँ, बालेनलाई असफल पार्दै अलोकप्रिय समेत बनाउने हेतु उनलाई अख्तियारमार्फत बयानमा बोलाउने मात्रै नभई उनलाई सफल पार्न भूमिका खेल्ने जोखिम उठाएका प्रदिप परियारजस्ता युवा प्रशासकले मुद्दा खेप्नु परेको पनि बालेन साह विरुद्धको खेलकै अंश त हो।

दलित समुदायबाट आएर योग्यता क्षमतामा प्रदर्शित अब्बलताले सानो उमेरमै सरकारी सेवाको उपल्लो तहमा पुगेका प्रदिप परियारले पाएको दुःखको हर्जना बालेनको सिंगो पुस्ताले तिर्न सक्ने छैन तर पनि बालेनको साहसिक नेतृत्वको प्रदर्शनीले प्रदिप परियारदेखि महानगरीय प्रहरी प्रमुख लगायत माथि साँधिएको निशानाको प्रभाव निस्तेज पार्न जरुर सक्ने थियो।

हो, उल्लेखित सबैमा बालेन कारक हैनन्, उनी त अरु कसैको षड्यन्त्रलाई सफल पार्न कसैले गरेको कुकर्मको स्वयम् पनि शिकार हुन्। हो शिकारीले आफ्नो धर्मअनुसार आफ्नो शिकारमाथि निशाना ताक्दा निशानामा पारिएकाहरू दोषी हैनन् र हुँदैनन् तर आफ्नो शिकार गर्न शिकारी तम्सिएको थाहा पाईपाई सावधानी नअपनाउने काम हुँदाचाहीँ शिकार हुनसक्ने खतरा सदैव भइरहन्छ।

हो, बालेन साहमा आफूमाथि निशाना ताक्ने शिकारीको चाल बुझेर आफूलाई जोगाउन आवश्यक कलाको अभाव चाहीँ देखिएकै हो। उसबेला सिकागोका मेयर हरोल्ड वाशिंटनले पनि उनी निर्वाचित हुँदा पराजित हुनुको पिडाले छटपटीएका धेरैको प्रहार सहनु पर्यो अनि प्रतिरक्षा तयारी नभएकोले कतिपय अवस्थामा असफल हुन पनि पर्यो। यद्यपि बालेन साह असफल भइसकेको पनि छैनन्।

हरोल्ड वाशिंटनले त हर्ट अट्याक भएर असामयिक मृत्यु भोग्न बाध्य भएकोले कार्यकालनै पनि पुरा गर्न पनि पाएनन्, त्यसैले कतिपय कमजोरी सुधार गर्दै अगाडि बढने अवसर पनि पाएनन् तर बालेन साहसँग त अझै पनि अवसर छ। आफ्नो कमजोरीहरू सुधार गर्दै, सबै खालका षड्यन्त्रहरूको सामना गर्न सक्ने संयन्त्रहरूको निर्माण, आफू जस्तै सकारात्मक चिन्तन र नीति लिएकाहरू सम्मिलित व्यापक संगठन अनि स्वःअध्ययनको अलावा विशेषज्ञहरूको सहकार्यमा राजकीय ऐन नियम कानुन र तौरतरिकाको ज्ञान हासिल गर्दै मेयर पदको बाँकी समय अपार सफलताको समय बनाउन बालेन साहलाई उनी स्वयमले रोक्ने बाहेक अरु कसैले रोक्न सक्दैन।

आशा गरौँ, कमजोरीहरूको गम्भीर समिक्षा गर्दै अगाडि बढदै बालेन साहले आफूलाई ओबामाको मनमा राजनीतिक बिजारोपण गर्न प्रेरक बन्ने हरोल्ड वाशिंटनमा सिमित नगरी बाराक ओबामाको नेपाली बिम्ब बनाउने ढंगले अगाडि लानेछन्। बालेन साहले बुझ्न पर्छ कि विद्यमान दलहरूको नेतृत्व तहमा रहेका नेताहरूको नालायकी र अनैतिकताबाट आजित जनताले यहाँलाई गरेको विश्वाससँगै ठुलो आशा र अपेक्षा जोडिएको छ जसको गहिराइलाई बुझ्दै आफूलाई अगाडि बढाउनु पर्ने दाइत्व भुल्ने छुट यहाँलाई छैन।

र, यदि यहाँले त्यो भुल्नु भइहाल्यो भने पनि हालको अनैतिक र अकर्मण्य नेतृत्वबाट छुटकारा पाउने आफ्नो सपना त्याग्ने छैनन्। बरु त्यसको लागि थप सशक्त नेतृत्वको पहिचान गर्दै अगाडि बढ्नेछन्।

प्रकाशित मिति: : 2025-06-13 20:11:00

प्रतिकृया दिनुहोस्