भु.पू.गोर्खा सैनिक तथा सामाजिक अभियान्ता चामबहादुर पुनद्धारा लिखित पुस्तक ‘लाहुरेको सङ्घर्ष’ लोकार्पण भएको छ। आइतबार काठमाडौँको नयाँ बानेश्वरस्थित रोयल एलिनाज् रेस्टुरेन्टमा कन्सेप्ट नेपालद्धारा आयोजित विशेष कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो।
पुस्तकमा चामबहादुर पुनको लाहुरे जीवन, सङ्घर्ष, सफलता तथा लाहुरे जीवनको अवकाशपछि उनले गरेको सामाजिक योगदानको कथा समेटिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडामा जन्मिएका पुनले बेलायती सेनाबाट अवकाश पाएपछि पुन समुदायका कुल देवता ‘करबाकेली’ बाबाको अध्ययन, अनुसन्धान, पुस्तक लेखन, करबाकेली थान निर्माण, पुन सामुदायिक सङ्ग्रालय निर्माण र करबाकेली इको ट्रेकको प्रवद्र्धनलगायत क्षेत्रमा काम गर्दै आइरहेको छन्।
लाहुरे जीवन बिताएपछि आफ्नो जन्मभूमिलाई उज्यालो बनाउने योजनासहित दुई दशकदेखि सामाजिक काम गर्दै आएका पुनले पुस्तकमा आफ्ना अनुभव समेटेका छन्।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै पुनले आफ्ना पिता पूर्खाको प्रेरणाले बेलायती सेनाबाट अवकाश भएपछि पनि सुखको जीवन छाडेर सामाजिक कार्यक्रममा लागेको बताए। उनले आफूले गरेको काम र सङ्घर्ष आउने पुस्ताको लागि प्रेरणा र ऊर्जाको स्रोत बन्नेमा आफू विश्वस्त रहेको प्रक्रिया दिए।
पुनले आफू जन्मिएको समाजको सम्मानले सबै दुख बिर्सिएको बताए। ‘मैले जीवनमा यस्तो हुन्छ भनेर सोचेको पनि थिएन, समाजले दिएको यो सम्मानले मैले आफ्ना दुखा पनि बिर्सिएँ,’ उनले भने।
त्यस्तै उनले आफ्नो जीवनको सफलतामा आफ्नी जीवनसंगिनी राधा पुनको ठुलो हात रहेको भन्दै कार्यक्रमबाटै सम्मान व्यक्त गरे। उनकी श्रीमती र सन्तान हाल बेलायतमा रहेका छन्।