राष्ट्रिय दलित आयोगले चलचित्र ‘प्रसाद– २’ का कलाकारहरुलाई सम्मान गरेको छ। आइतबार सामाजिक न्यायको पक्षमा सशक्त आवाज उठाउन सफल चलचित्र ‘प्रसाद– २’का कलाकारहरुलाई आयोगले सम्मान गरेको हो।
जातीय छुवाछूत तथा सामाजिक न्यायको मुद्दालाई चलचित्र ‘प्रसाद–२’ ले रचनात्मक ढंगबाट उठाएको भन्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रशंसा गरे।
नेपाली समाजभित्र रहेको जात व्यवस्थाको पर्खाललाई चलचित्रको माध्यमबाट समाज रुपान्तरणको पक्षमा प्रखर रुपमा उभिएको बताउँदै अध्यक्ष विश्वकर्माले दलित मुद्दामा केन्द्रित चलचित्र प्रसाद– २ हेर्नुपर्ने बताए।
चलचित्रमा अन्तरजातीय विवाह गरेका एक जोडीको प्रेमिल कथालाई केन्द्रमा राखेर सामाजिक जातीय विभेद, समाजका अगुवाको हैकमवादी प्रवृत्तिविरुद्ध निकै गम्भिर भएर मुद्दा उठाएको आयोगकी सदस्य मीन सोवले बताइन्।
जातीय विभेदले आक्रान्त भएको नेपाली समाजमा धेरै विषयबस्तु हुँदाहुँदै पनि आफूले देखेको र भोगेका पीर, दुख,कष्टहरुलाई न्यायोचित ढंगबाट चलचित्रमा उतारिएको निर्देशक सुदर्शन थापाले बताए। जातीय छुवाछूतको मुद्दालाई समाजले झन मलजल गरिरहेको बताउँदै निर्देशक थापाले आगामी दिनहरुमा पनि समाज बुझ्ने चलचित्र बनाउने जानकारी दिए।
नायिका केकी अधिकारीले आफू धेरै चलचित्रमा काम गरे पनि समाजभित्रै अपमानित हुनुपर्ने मानिसहरुको वास्तविक कथा र विषयवस्तुमा आफूले गहन भूमिका निर्वाह गरेको बताइन्।
समाज अहिले पनि विभेदबाट मुक्त हुन नसकेको भन्दै नायिका अधिकारीले सबै क्षेत्रबाट एकजुट भएर विभेदविरुद्ध आवाज उठाउनुपर्ने बताइन्।
नायक विपिन कार्कीले समाजमा धेरै कुराहरु परिवर्तन भए पनि मानिसहरुको सोच परिवर्तन नभएको बताए। ‘गाउँ गाउँमा छुवाछूत मुक्त भएको नारा लेखिएको छ, कार्कीले भने,‘तर व्यवहारमा छुवाछूत उस्तै छ।’
सुभाष थापाको प्रस्तुतिमा सुदर्शन बस्नेतको निर्माण रहेको चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायतका कलाकारको अभिनय छ। राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन्। मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन्।