बर्खामा सुनसान हुन्छन् गाउँका मोटरबाटो, समयमै बन्दैनन् पुल

बागलुङका अधिकांश गाउँ मोटरबाटोले जोडिएका छन्। हिउँदमा ती बाटोमा गाडी गुड्ने गरे पनि बर्खामा सुनसान हुन्छन्।

खोलानालाले घेरिएका गाउँमा सडक पुगेपछि स्थानीयको जनजीवनमा परिवर्तन आए पनि बर्खाको करिब चार महिना सास्ती हुने गरेको छ। बर्खामा सडक अवरुद्ध हुने हुँदा यात्रा कष्टकर हुने गरेको जनगुनासो छ।

जिल्लाका मुख्य व्यापारिक केन्द्रदेखि गाउँ पुग्न दर्जन बढी खोला पार गर्नुपर्ने हुन्छ। केही ठाउँमा पुल बने पनि अझै धेरै खोलामा निर्माण गर्न बाँकी छ। बागलुङको ढोरपाटन नगरपालिका–६ का अधिकांश गाउँबाट बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन।

सिधा यातायात नहुँदा यस ठाउँका नागरिकले गाडी परिवर्तन गरी गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ।

ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वार, छालहाल्न, खानीलगायतका ठाउँका नागरिकलाई सहजताका लागि वडा नं ६ को दोगाडीस्थित भूजीखोलामा तीन वर्ष अगाडि मोटरेबल पुल निर्माण गर्न थालिए पनि अहिलेसम्म सम्पन्न हुनसकेको छैन। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट निर्माण भइरहेको पुलले ग्रामीण जनजीवनमा परिर्वतन ल्याउने अपेक्षा गरिएको छ।

पुल निर्माणका लागि विसं २०७७ असार १६ गते महादेव–खिम्ती–क्याराभान जेभीले निर्माण जिम्मा लिएको थियो।

दुई वर्षमा सक्ने गरी सम्झौता भएको पुलको पहिलोपटक विसं २०७९ असार १० गते म्याद सकिएको थियो। समयमै काम नसकेपछि म्याद थप भएको छ। निर्माण कम्पनीले विसं २०८० असार १० गतेसम्म सक्ने गरी म्याद थप गरेको हो।

प्रकाशित मिति: : 2023-05-30 08:08:00

प्रतिकृया दिनुहोस्