समाजवादी मोर्चा मोह: माओवादीसहित दलहरु अस्तित्व रक्षामा, कसलाई कति फाइदा, कति क्षति

देशका दुई ठुला कम्युनिस्ट पार्टी (एमाले–माओवादी)को एकता भङ्ग भएको दुई वर्षमा पुनः कम्युनिस्ट धारका साना दलहरु ‘समाजवादी मोर्चा’ बनाउने कसरतमा छन्। नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी (एस), जनता समाजवादी पार्टी (जसपा), नेपाल समाजवादी पार्टी (नेसपा), नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समाजवादी मोर्चा बनाएर कार्यगत एकता गर्ने कसरत गरेका हुन्।

समाजवादी मोर्चा घोषणा गर्नका लागि पार्टीका नेताहरु छलफलमा छन्। कहिले समाजवादी मोर्चा घोषणा हुन्छ भन्ने मिति तोकिएको छैन। नेकपा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले असारको पहिलो हप्तातिर मोर्चा घोषणा गर्ने गरी तयारी भइरहेको बताइन्। खासमा दलहरु समाजवादी मोर्चा घोषणा गर्न अवस्थामा किन पुगे ?

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्छन्- पुरानो नेकपा ब्युँताउने पहलकदमी हो। ‘हिजोको एकता कायम राख्न सम्भव भएन। तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन,’ प्रचण्डले बुधबार दाङको एक कार्यक्रममा भने, ‘अब दलहरुबीच कार्यगत एकताका लागि समाजवादी मोर्चा घोषणा हुन्छ र त्यसपछि नेकपासम्म पुग्ने पहलकदमी हुन्छ।’

यसअघि ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो। तर, दुई दलका नेताहरुबीचको शक्ति बाँडफाँडमा कुरा नमिल्दा एमाले–माओवादी २३ फागनु २०७८ मा सर्वोच्चको आदेशबाट अलग भएका थिए। अहिले फेरि एमालेबाहेक साना कम्युनिस्ट दलहरुबीचमा कार्यगत एकताको तयारी तीव्र छ।

तर, उनीहरु के नेकपा ब्युँताउन सक्ने अवस्थासम्म पुग्लान् त ? राजनीतिक विश्लेषक नेकपा ब्युँताउन सक्ने अवस्था नरहेको बताउँछन्। राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘अहिलेका जति पनि पार्टी मोर्चा बनाउन लागेका छन्। यिनीहरु कमजोर हुँदै गएपछि शक्ति सञ्चयको खोजीमा छन्। त्यो प्रचण्डदेखि बाबुराम, माधव नेपाल सबै हुन्।’

उनले समाजवादी मोर्चा बन्नु आवश्यक रहेको बताए पनि नेताहरुले भनेको जस्तो नेकपा ब्युँतिने अवस्था कम्तिमा पाँच वर्ष नरहेको बताए। ‘पार्टीको शक्ति कमजोर हुँदै गएको समयमा समाजवादी मोर्चा बनाउनु ठिकै छ। तर, यो कति समय टिक्नेमा प्रश्नहरु छन्,’ उनले भने, ‘अहिले नै नेकपा ब्युँतिहाल्ने अवस्था छैन। बरु पुराना नेताहरु प्रचण्डदेखि, बाबुराम, झलनाथ, माधवले अब आफूले छाडेर नयाँलाई अगाडि सार्ने हो भने मोर्चा भने टिक्न सक्छ।’

मोर्चाले दलहरुलाई फाइदा कि थप क्षति ?

माओवादी केन्द्रदेखि तराई-मधेसमा राजनीति गरिरहेको जसपालगायत दलहरुबीच समाजवादी मोर्चा बनेपछि दलहरुलाई फाइदा होला कि थप क्षति बहस सुरु भएको छ। मोर्चामा जनयुद्ध नरुचाउने एमालेबाट टुक्रिएको नेकपा एसदेखि तराई-मधेस केन्द्रित राजनीति गर्ने जसपासम्मका दलहरु छन्।

उनीहरुले जनयुद्धमा सामाल भएको माओवादी केन्द्र र माओवादीबाट टुक्रिएको बाबुराम भट्टराई नेतृत्वको नेसपा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका दलहरुसँग मोर्चा बनाउनुपर्ने छ, जसले गर्दा यी दलहरुलाई आगामी ०८४ को निर्वाचनसम्म फाइदा होला कि क्षति ? बसह उठेको छ।

जसमा राजनीतिक विश्लेषक सरोज मिश्र दलहरुलाई फाइदाभन्दा क्षति हुने देख्छन्। उनले मोर्चा वा कुनै दल बन्नका लागि सैद्धान्तिक आधार हुनु पर्ने भन्दै मोर्चा बनाउन अहिलेसम्म कुनै सैद्धान्तिक आधार नभएको र जसले गर्दा दलहरुले थप क्षति बेहोर्नु पर्ने अवस्था आउने बताए।

उनले अहिले नेताहरुको शक्ति क्षयीकरण हुँदै गएको अवस्थामा एकले अर्कालाई सहयोग गर्ने गरी यो मोर्चा बन्न लागेको बताए। उनले भने– ‘पहिलो कुरा यो पार्टी बन्न होइन, मोर्चा बन्दैछ। कुनै पनि चिज एकजुट हुनका लागि सैद्धान्तिक निष्ठा चाहिन्छ। त्यो नै छैन भने आ–आफ्नो स्वार्थका लागि मोर्चा बनेका हुन्। एकले अर्कोलाई प्रयोग गर्ने हो। त्यसरी प्रयोग गर्न पाएनन् भने धेरै दिन मोर्चा नै टिक्न सक्दैन।’

मिश्रले यो मोर्चा प्रचण्डले आफूमाथिको आक्रमण निष्तेज गर्न ल्याएको पनि बताए। ‘मोर्चा बन्नुमा सैद्धान्तिक रुपमा केही छैन तर व्यवहारिक आधार मलाई के लाग्यो भने अहिले जसरी प्रचण्डमाथि अदालतमा मुद्धा परेर टाउकोमाथि तरबार झुण्ड्याइएको छ, त्यो मुद्धा प्रचण्ड र बाबुरामलाई झेल्नुपर्ने परेको छ,’ उनले भने, ‘तर यो भनेको पहिलेको जनयुद्धमा सामेल भएका, युद्ध सञ्चालक सबैलाई झुण्डिने भएकाले त्यसविरुद्ध प्रतिरक्षाका लागि उभ्याउने प्रचण्डको एक जुक्ति भन्दा अरु केही लाग्दैन।’

मोर्चा बनाएर यी दलहरु अर्को पटकको चुनावमा गएमा अहिले जितेको जित पनि सिट जित्न नसक्ने उनको तर्क छ। सैद्धान्तिक आधारविना कुनै पनि पार्टी मोर्चा सफल हुन नसक्ने भन्दै मिश्रले भने, ‘२०७९ को निर्वाचनमा यी दलहरुले जति सिट जितेका छन्, त्यो काँग्रेसले गर्दा हो। समाजवादी मोर्चा बनाएर गएभने उनीहरुले अहिले जितेको सिटभन्दा आधा कमपनि जित्न सकस हुन्छ।’

प्रकाशित मिति: : 2023-06-17 19:40:00

प्रतिकृया दिनुहोस्