भोजपुरका गायक तथा लेखक श्याम सामसोहाङ राईको संस्मरणात्मक कृति ‘मुन्दुम ट्रेल’ सार्वजनिक भएको छ। शनिबार काठमाडाैँकाे थापागाउँस्थित मण्डला नाटकघरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीकाे प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो।
पुस्तकमा भोजपुर र खोटाङको सीमानामा पर्ने पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको निर्माण र विकाससँग जोडिएका विषयहरु समावेश छन्। संस्मरणमा मुन्दुम ट्रेलको परिकल्पना र विकास गर्दा भोगेका तिता-मिठा अनुभव र अनुभूतिहरु पनि समेटिएको छ।
भोजपुरको तिम्मामा जन्मे हुर्केका श्याम सामसोहाङ राई सानै उमेरदेखि गीत संगीतमा रुचि राख्ने व्यक्ति हुन्। करिब एक दशकअघिदेखि उनी आफ्नो थाथथलाे र सेरोफेरोमा पर्यटनको सपना देख्न थाले। त्यही सपना पछ्याउँदै उनले कैयौं दिन कैयौं रात त्यही डाँडाकाँडामा बिताए। अन्तत: मुन्दुम ट्रेलको स्थापना भई नेपाल सरकारले ‘भिजिट नेपाल– २०२०’को घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल भयो।
पुस्तकमा पदमार्गसहित किरात मुन्दुमी मिथकहरुसम्बन्धी जानकारी समावेश गरिएको छ।
पूर्वी नेपालमा बसोबास गर्ने किरात समुदायको मौलिक संस्कार र संस्कृति विश्वमा पृथक रहेकोले यसलाई प्रकृतिसँग अन्तरघुलन गर्दै पर्यटकलाई आकर्षण गर्नु मुन्दुम ट्रेलको मुख्य उद्देश्य रहेको मुन्दुम ट्रेलका अभियान्तासमेत रहेको लेखक सामसाेहाङ राईको भनाइ रहेको छ।
कार्यक्रममा मन्त्री सुदन किरातीले बाल्यकलदेखि आफ्नो गाउँदेखि देखिने सुन्दर हिमाल, टेम्के डाँडा, त्यो सँगै जोडिएका थुम्को, गाउँबस्ती, चरण क्षेत्रसहित मुन्दुम संस्कृतिलाई कितावमा लिपिवद्ध गरेकोमा लेखकालाई आभार तथा धन्यवाद प्रकट गरेका थिए। ‘यो एउटा ऐतिहासिक दस्तावेजीकरण कार्य भएको छ। यसले भावी पुस्तालाई आकर्शक पर्यटकीय गन्तव्यको स्वादसँगै किराती संस्कृति, सभ्यता र इतिहासलाई जीवित राख्ने काम गरेको छ,’ मन्त्री किरातीले मन्तव्यमा आफ्नो धारणा राखे।
पुस्तकको चर्चा गर्दै लेखकले पूर्वतिरको किरात समुदायको मुन्दुम संस्कृतिबारे पुस्तकमा पर्याप्त जानकारी दिएको चर्चा गरेका थिए। अख्यानकार जानुका खतिवडाले सरकारले नेपालका विभिन्न जातजाती र तिनका भाषा संस्कृतिको अभिलेख राख्न नसकेकोले मौलिक परम्परा र इतिहास हराउँदै गएकोमा यस पुस्तकले मुन्दुमी संस्कृति जान्न र बुझ्न मद्दत गर्ने बताइन।
त्यस्तै साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राज मुकारुङले लेखक साम्सोहाङ राईले २० वर्षपछि ठुलो सर्प्राइज दिएको बताए। ‘पुस्तकले मलाई तान्यो, मुन्दुमी शैलीमा कथा लेखिएको रहेछ, गज्जबको पुस्तकको लागि धन्यवाद श्याम भाइ,’ उनले खुलेर प्रसंशा गरेका थिए।
कार्यक्रम प्राज्ञ.डा. भक्त राईले टिप्पणी गर्दै पुस्तकका लेखकको संस्मरण, संघर्ष, सपना र सूचना समावेश गरिएको टिप्पणी गरेका थिए। ‘पुस्तकमा लेखकले संस्कृति, कला, सम्पदासंगै रैथाने ज्ञान र परम्पारा उतारेको छ। पुस्तकले मलाई उत्प्रेरित गरेको छ,’ राईले भने। भोजपुरको चखेवा भञ्ज्याङबाट सुरु हुने पदयात्रामा धोत्रे-मैयुङ-हाँसपोखरी-रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङसम्म पुग्छ।
सपनाले डोर्याएकाे मान्छे लेखक साम्सोहाङ राईको सिर्जना र सपनाको समायोजन हो, मुन्दुम ट्रेल।
पत्रकार तथा अख्यानकार जानुका खतिवडाले पुस्तकमा लेखकले उनको जीवन, संघर्ष, मर्म र उद्देश्य उत्कृष्ट ढङ्गले चित्रण गरेको चर्चा गरेकी थिइन्। ‘यो पुस्तक पढ्दा घटना, मानवीय संवेदना र संघर्षसँगै प्रेरणा पनि सकिन्छ,’ उनले भनिन्।