बिकराल सहकारी समस्या: सञ्चालकको बदमासीले बचतकर्ताको बिचल्ली

BreaknLinks
BreaknLinks

नागरिकले थोरै–थोरै गरी जम्मा गरेको रकमलाई सहकारी सञ्चालकले हिनामिना गर्दा नागरिक (बचतकर्ता)को बिचल्ली भएको छ भने अहिले सहकारी संस्थामा देखिएको समस्या समाधान चुनौतीपूर्ण बन्दै गइरहेको छ।

श्रीमानलाई क्यान्सरबाट बचाउन घरजमिन बेचेकी ५० वर्षीया बिमला दंगालले दुई वर्षअघि सुमो बचत तथा ऋण सहकारी संस्थालाई ५ लाख रुपैयाँ दिइन्। काठमाडौंको कपनस्थित खरिबोटमा रहेको उक्त सहकारीकी एकाउन्टेन्ट अनिता सापकोटाले सहकारीबाट धेरै ब्याज पाइने लोभ देखाएपछि बिमलाले ५ लाख रुपैयाँ सहकारीमा जम्मा गरिन्।

तर अहिले उक्त सहकारी कार्यालयमा ताला लगाएर भागेपछि उनको घरखर्च चलाउन समस्या भएको छ। इन्जिनियर पढ्दै गरेका छोराको पढाइ शुल्क तिर्न कठिन भएको छ। ‘श्रीमान क्यान्सरबाट खस्नुभयो (मृत्यु भयो)। सहकारीमा भएको पैसा पनि पापीहरुले खाइदिए। अहिले छोरा पढाउन, घरखर्च चलाउन समस्या भएको छ,’ उनले भनिन्।

बिमलाका श्रीमानको ११ वर्ष पहिले क्यान्सरबाट मृत्यु भएको थियो। श्रीमानको उपचार गर्न कपनमा रहेको घरजमिन बेचेकी उनले उपचार गर्दा बचेको ५ लाख रुपैयाँ सुरुमा कृषि विकास बैंकमा राखिन्। दुई वर्षअघि सुमो सहकारीकी अनिताले धेरै ब्याज दिने आश्वासन दिएपछि उनले बैंकबाट झिकेर ५ लाख रुपैयाँ सहकारीमा राखेकी थिइन्।

पैसा राखेको वर्ष दिनसम्म ठिकै थियो। साथमा रहेका २४ वर्षीय छोरा कृष्णलाई राम्रै पढाइरहेकी थिइन्। एक वर्षयता सहकारी भागेदेखि कोठा भाडा तिर्न पनि समस्या भएको बिमलाले बताइन्।

श्रीमानको मृत्यु भएपछि शंखरापुरबाट कपन आएकी बिमलाले सुरुका दिनमा अरुको घरमा काम गरेर घर खर्च चलाउने गर्थिन्। अहिले उनको स्वास्थ्यमा समस्या छ। काम गर्न सक्दिनन्। ‘पहिले त अरुको घरमा काम गरेर भएपनि घर खर्च चलाउने गरेकी थिएँ। अहिले हातखुट्टा दुख्छ, दमको रोगी छु। काम गर्न सक्दिनँ’, उनले भनिन्।

काम गर्न नसक्ने र भएको पैसा पनि सहकारीले खाइदिएपछि इन्जिनियर पढ्दै गरेका छोरालाई कसरी पढाउने भन्ने पीरले उनलाई निकै सताउँछ। उनी भन्छिन्, ‘छोरा पढाउन पैसा नहुँदा अस्ति (पहिले) एक जनाले सडकमा आत्मदाह गरे जस्तै अवस्थामा म पुगेकी छु।’


परिश्रमकाे फल सहकारीले खाइदिएपछि याचनाका आँसु चुहाउँदै सडकमा बचतकर्ता


बिमला अहिले न्यायको माग गर्दै काठमाडौंको माइतीघरमा महिनादिनदेखि धर्नामा छिन्। धर्नामा बस्दा पनि आफ्नो माग सुनुवाइ नहुँदा गरीबको सरकार नहुने रहेछ भन्ने उनलाई लागेको छ। ‘हामी यति धेरै दिन भयो न्यायका लागि माइतीघरमा दिनरात बसेको। तर हाम्रो लागि राज्य रहेनछ,’ मलिन मुहारमा उनले भनिन्।

उनीमात्र होइनन्, माइतीघरमा महिनादिनदेखि देशभरका सहकारी पीडित धर्नामा छन्। जसमा छिन्, काठमाडौँमा कोठा भाडामा बस्ने ३३ वर्षीया कविता ढकाल। उनी काठमाडौंमा दैनिक ज्यालादारी काम गरेर जीवन चलाउँछिन्।

काठमाडौँकाे बसुन्धारामा रहेको उत्तम बचत तथा ऋण सहकारीले साढे ३ लाख रुपैयाँ खाइदिएपछि उनलाई छोरा कसरी पढाउने भन्ने पिरलो छ। ‘आफ्नो भन्ने अरु कोही छैन। भएको एउटा छोरोलाई राम्ररी पढाउने धोको थियो,’ उनले भनिन्, ‘अरुको लागि यो पैसा थोरै होला तर मेरो लागि निकै थियो। अब मैले छोरो कसरी पढाउने हो?’

माइतीघरमा धर्नामा बस्ने मात्र होइनन्, सहकारी पीडितहरु गाउँगाउँमा भेटिन्छन्। केही सहकारी संस्थाहरुले बचतकर्ताको पैसा हिनामिना गर्दा हजारौँ बचतकर्ता निकै समस्यामा छन्।

जेठ १९ गते पोखराका सहकारी पीडित काठमाडौंमा सञ्चालक खोज्दै आएका थिए। तर उनीहरु माइतीघरमा बसेनन्। पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पैसा खाएर बचतकर्तालाई बिचल्ली पारेपछि उनीहरु काठमाडौंमा सञ्चालक खोज्दै आएका थिए।

काठमाडौं आउने धेरैमध्ये एक थिइन्, भगवती थापा। सहकारीमा पैसा डुबेकै कारण श्रीमानसँग सम्बन्धविच्छेदको अवस्थामा पुगेको उनले आफ्नो पीडा सुनाएकी थिइन्। आफ्नो र १० वर्ष विदेशमा श्रीमानले कमाएको पैसा सहकारीले हिनामिना गरेको भन्दै उनले भनेकी थिइन्, ‘मैले दुःख गरेर, मेरो बुढोलाई १० वर्ष बेचेर तपाईं (सूर्यदर्शनका सञ्चालक कुमार रम्तेल)को सहकारीमा मैले पैसा राखेको हो। अहिले मेरो बुढाको र मेरो सम्बन्ध राम्रो छैन। उस्तै पर्यो भने डिभोर्स हुने अवस्थामा छ।’

सहकारीको बदमासीले बचतकर्ताको अर्बौँ रकम जोखिममा

राष्ट्रिय सहकारी नीति २०६९ को उदेश्यमा भनिएको छ, ‘सहकारी पद्धतिमा आधारित उद्योग व्यवसायको स्थापना गरी देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउनु हो।’

यस्तै सहकारी कस्तो हुने भनेर नीतिसमेत बनाइएको छ। जसमा भनिएको छ, ‘गरीब घरपरिवार पहिचानसहित त्यस्ता व्यक्तिहरुलाई सहकारीमा संगठित गरी बचत परिचालन, विनाधितो कर्जा, जोखिम व्यवस्थापन, सीपमूलक तालिम, कृषि उत्पादन तथा लघु उद्यम स्थापनामा सहयोग उपलब्ध गराइनेछ।’


सहकारी पीडितहरूले चर्काे आक्रोश पाेखेपछि 'आँसु पुछ्न' माइतीघर पुगे रवि (भिडियाे)


नीतिमा ग्रामीण तहसम्मका नागरिकलाई सहकारीमा आबद्ध बनाइ सहजै आयआर्जनमा जोड्ने र उनीहरुको आर्थिक अवस्था सुधार गर्ने भन्ने छ। तर अहिले कतिपय सहकारी नीतिविपरीत सञ्चालित छन्।

सहकारी संस्थाहरु आफ्नो नीतिमा चल्न नसक्दा लाखौँ नागरिकको अर्बौँ रकम जोखिममा परेको छ। व्यक्तिगत फाइदाका लागि सहकारीको पैसा अपचलन गर्दा सहकारीका सञ्चालक प्रहरी कठघरामा उभिनु परेको छ।

गएको सोमबार (असार ११ गते) देशका विभिन्न ठाउँमा ३५ शाखा विस्तार गरेर शिवशिखर सहकारी सञ्चालन गर्दै आएका केदारनाथ पौडेल शर्मा पक्राउ परे। उनले सहकारीको करिब ११ अर्ब रकम दुरुपयोग गरेर आफ्नो निजी कम्पनी शिखर अर्गनाइजेशनमा लगानी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

उनी सहकारीको सबैभन्दा धेरै रकम दुरुपयोग गर्नेमा पर्छन्। शर्मामात्र होइनन्, यसअघि ६ अर्ब रकम अपचलन गरेका सिभिल सहकारीका इच्छाराज तामाङ र ४ अर्ब रकम अपचलन गरेका सुधीर बस्नेत पनि कारागार पुगे। यी त धेरै रकम अपचलन गर्नेहरु हुन्। अहिले सहकारीबाट ठगिएको भन्दै दैनिक नागरिकहरु प्रहरीकहाँ उजुरी दिन पुगेका छन्। नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले प्रहरीकहाँ दैनिक सहकारी पीडित उजुरी दिन आउने गरेको बताए।

सहकारी विभागको तथ्यांकअनुसार गएको साउन महिनादेखि जेठसम्म ८४० वटा उजुरी सहकारीका विरुद्धमा दर्ता भएको छ। देशभर ३० हजार बढी सहकारी संस्थाहरु छन्। जसमध्ये पाँच सय बढी सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको अनुमान गरिएको सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्ययले बताए।

हामी जीवन मरणको अवस्थामा छौँ: संयोजक श्रेष्ठ

सहकारी पीडित बचतकर्ता महासंघका संयोजक हरिशचन्द्र श्रेष्ठले सहकारीले गर्दा बचतकर्ताहरु जीवन-मरणको अवस्थामा पुगेको बताए। भएको पैसा सबै सहकारीमा राखेर बाँच्ने आधार त्यसैलाई बनाएकोमा सोही पैसा सहकारीले नदिएपछि बचतकर्ता आत्मदाह गर्ने अवस्थामा पुगेको उनले बताए।

धेरै ब्याज दिने भनेर पहिले लोभ्याएर पैसा सहकारीले लुटेको उनको भनाइ छ। ‘सहकारीले घरमा आएर फकाएर १८ प्रतिशत ब्याज दिन्छु भनेर पैसा लगेको हो। मैले थाहा पाएसम्म एक जना व्यक्तिको ३३६ रुपैयाँदेखि सहकारीले ३० करोडसम्म खाएको छ,’ संयोजक श्रेष्ठले भने, ‘सहकारीले पैसा दिन नसेर नदिएको होइन। उनीहरुको ठग्ने नीति नै हो। आफ्नो, परिवार, कर्मचारी कसैको नाममा नराख्ने र उनीहरुको कर्मचारीको आफन्तको नाममा लगेर सम्पत्ति लुकाउने काम भयो।’

१० वर्षदेखि सहकारीका विरुद्धमा आफू एक्लै लडेको भन्दै उनले एक्लै लड्न नसक्ने भएपछि सबै पीडित भएर अहिले माइतीघरमा धर्ना दिइरहेको उनको भनाइ छ। श्रेष्ठले सहकारीको पीडितको सावाँ, ब्याज तत्काल सरकारले तिर्ने र सरकारले सहकारी सञ्चालकको सम्पत्ति जफत गरेर असुलउपर गर्नुपर्ने बताए।

साथै उनले आफ्नो माग पूरा नभएमा अहिलेको धर्नालाई थप सशक्त बनाउँदै लैजाने बताए। ‘अहिले महिनादिनसम्म धर्नामा बस्दा कोही बिरामी भएको छ। पानीमा भिज्नु परेको छ। तर हामी थाकेका छैनौँ,’ उनले भने, ‘अहिले धर्नामा छौँ र यसबाट भएन भने अनशनमा जान्छौँ। अनशन गरेर भएन भने पनि आमरण अनशनमा जान्छौँ।’

के गर्दैछ सरकार?

सहकारी समस्या बढ्दै गएपछि सरकारलाई समाधानका लागि निकै चुनौती बनेको छ। सहकारीका अनेकन समस्याका बीचमा समाधान कसरी गर्ने भन्ने आधार नै नभएपछि सरकारले ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको छ। गएको २६ वैशाखको मन्त्रिपरिषद् बैठकले कार्यदल बनाउने निर्णय गरेको थियो।

राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा कार्यदलय गठन भएको हो। कार्यदलले सहकारीभित्रको समस्या पहिचान गर्ने र समाधान कसरी गर्न सकिन्छ भन्ने प्रतिवेदन तयार गर्नेछ। त्यसपछि सरकारले सहकारी समस्या समाधान गर्नेछ।

अहिले पनि सरकारले सहकारी पीडितसँग कुरा गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश जोशीले बताए। ‘मन्त्रीज्यूले सहकारी पीडितसँग कुरा गरिरहनुभएको छ, सहकारी समस्या छिटो समाधान गर्नका लागि उहाँले आग्रह पनि गर्नुभएको छ,’ प्रवक्ता जोशीले भने।  

कसरी डुबे सहकारी?

राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रकुमारी थामसुहंग सुब्बाले सहकारी मूल्य, मान्यता, सिद्धान्तमा सहकारी संस्थाहरु नचल्दा अहिलेको समस्या देखिएको बताइन्। बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भनिन्, ‘कतिपय सहकारी सहकारीको मूल्य, मान्यता, सिद्धान्त, नीतिविपरीत कार्य गर्दा केही संस्थामा समस्या आयो। अहिलेको यो समस्याले गर्दा सहकारी अभियानलाई नै प्रश्न उठेको छ।’

महाप्रवन्धक सुब्बासँग गरिएको कुराकानीको सम्पादित अंशः

अहिले बाहिर आइरहेको सहकारी समस्याले हाम्रो सहकारी अभियानलाई नै गलत रुपमा बुझ्ने प्रयास भएको छ। तर म भन्छु नराम्रा भन्दा राम्रो रुपमा सञ्चालन भएका सहकारी धेरै छन्।

पछिल्लो अर्थतन्त्रमा आएको समस्याले सहकारीमा पनि असर पुगेको हो। लगानी योग्य रकमको अभाव भइसकेपछि सहकारी सञ्चालकले अलि विश्लेषण गर्न सकेनन्। बैंक वित्तीय संस्थामा जस्तै सहकारीमा पनि लगानी योग्य रकमको अभाव हुँदैछ भन्ने विश्लेषण नभएकाले यो समस्या आयो। धेरै सहकारी सहकारीको मूल्य, मान्यता, सिद्धान्त, नीतिअनुरुप सञ्चालन हुन नसक्दा आज समस्या देखिएको हो। जसमा ठुला सहकारी हुन्। ठुला सहकारीमा समस्या आएपछि त्यसको असर साना सहकारीमा पनि देखिएको छ।

तर अहिले आएको समस्या धेरै सहकारीमा होइन, देशभर ३१ हजार ३७३ सहकारी छन्। जसमा ७० प्रतिशत सहकारी मात्र अहिले सञ्चालन छन्। र मलाई लाग्छ, सञ्चालित सहकारीमध्ये करिब एक प्रतिशत सहकारीमा समस्या देखिएको अनुमान छ। अर्को सत्य के हो भने, कतिपय ठूला सहकारीले बदमासी गरेका छन्। हामीले उनीहरुलाई कारबाही गर्न निमायक निकायलाई पनि भनेका छौँ। बदमासी गर्ने सहकारीलाई कारबाही गर्नुपर्छ। त्यसमा हामी पनि सहयोग गर्छौँ।

प्रकाशित मिति: : 2023-07-02 21:30:00

प्रतिकृया दिनुहोस्