बालेन साहको ‘एक्सन’पछि घरभित्रै भेटियो ढल (तस्बिरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को ‘एक्सन’पछि घरभित्र ढल भेटिएको छ। काठमाडौं–७ कालोपुलस्थित सिफल पनिका टोलको गल्लीस्थित एउटा घरभित्र ढल भेटिएको हो।

सोमबार काठमाडौं महानगरको प्रहरी टोलीले घरभित्र उत्खनन गर्दा ढल भेटाएकाे हाे। ढल खाेलिएपछि पनिका टोलमा दुर्गन्ध फैलिएको छ।

घरभित्र ढल भएपनि उक्त जमिन व्यक्तिको नाममा रहेको छ। जग्गाधनी सत्यनारायण थापाले त्यहाँ बस्नकाे लागि टहराे पनि बनाएका छन्।

ढलमाथि घर बनाएपछि सत्यनारायणकी आमा भवानी थापाविरुद्ध बस्तीका मानिसहरूले उच्च अदालतमा मुद्दा दायर गरेका छन्। मुद्दा विचाराधीन अवस्थामा छ।

सत्यनारायण थापा वैदेशिक रोजगारमा रहेको स्थानीयहरूले बताएका छन्। ढल निकासको लागि अघिल्ला मेयर विद्यासुन्दर शाक्यकै पालामा निर्देशन दिइएकाे थियाे। तर त्यतिखेर काम नभएको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: : 2023-07-10 13:11:00

प्रतिकृया दिनुहोस्