मनाङमा पनि पुग्यो लम्पी स्किन: कहाँ कति क्षति ?

फाइल तस्विर
फाइल तस्विर

पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग मनाङमा पनि पुगेको छ। देशका सबै जिल्लामा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग मनाङमा पुगेको थिएन।

मंगलबार चामे गाउँपालिकाका केही पशुमा लम्पी स्किन देखिएको पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले बताए। यससँगै देशका ७७ जिल्लामा लम्पी स्किन रोग फैलिएको छ।

लम्पी स्किन रोगले महामारीको रुप लिदा देशभर २६ हजार बढी पशु मरेका छन्। यस रोगले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका पशुहरु बढी प्रभावित भएका छन्।

पशु सेवा विभागकाअनुसार मंगलबार (असार २५) सम्म देशभर २६ हजार ९ सय ४१ पशु मरेका छन्। सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १० हजार ९ सय ३९ पशुको मृत्यु भएको छ।

यस्तै सुदूपश्चिमपछि कर्णाली प्रदेशमा ६ हजार ७ सय ४१, कोशीमा ४ हजार ३ सय ९१, लुम्बिनीमा २ हजार ७ सय ८०, बागमतीमा १ हजार २ सय ४८, गण्डकीमा ७ सय ४१ र मधेश प्रदेशमा १ सय १ वटा पशु लम्पी स्किन रोगले मरेका छन्।

यस वर्ष मात्र लम्पी स्किन रोगबाट ७ लाख ६४ हजार ६३८ पशु संक्रमित भएका छन्। संक्रमण हुनेक्रम अहिले पनि जारी रहेको छ।

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. ढकालले संक्रमण हुने भन्दा निको हुने पशुको संख्या बढ्दै गएको बिएल नेपाली सेवासँग बताए।

उनकाअनुसार हालसम्म ४ लाख ९४ हजार ४३९ पशु निको भएका छन्। हाल २ लाख ४४ हजार २ सय ५८ पशु संक्रमित छन्।

डा. ढकालका अनुसार २ लाख २२ हजार ७ सय ५१ पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ।

नेपालमा पहिलो पटक २०७७ सालमा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाई-गोरुहरुमा देखा परेको लम्की स्किन रोग पछिल्लो वर्षहरुमा महामारीको रुपमा देखिएको छ।

२०७७ र २०७८ सालमा १६ जिल्लाका २९ पालिकामा रोग फैलिँदा ३ हजार ३ सय १ पशु संक्रमित भएका थिए भने १३ वटा पशु मरेका थिए।

२०७९ सालबाट थप महामारीका रुपमा देखा परेको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारलाई निकै कठिन भएको छ। लम्पी स्किन रोग लागेमा पशुमा उच्च ज्वरो आउने, दानापानी कम दाने, दुध उत्पादन घट्ने, छालामा गोला गिर्खाहरु आउने, खुट्टा जोर्नीहरु सुन्निनेलगायतको लक्षण देखिन्छ।

लम्पी स्किन रोगले विशेष गरेर बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका दुधालु तथा गर्भिनी गाई-भैंसीमा संक्रमण गर्ने पशु सेवा विभागले जनाएको छ।

प्रकाशित मिति: : 2023-07-13 21:00:00

प्रतिकृया दिनुहोस्